बागलुङ नगरपालिका–७ मुलपानी निवासी सुदीप गौतमको घरभित्र चैत २८ गते बिषालु प्रजातिको सर्प ‘किङ कोब्रा’ भेटियो। त्यही दिन सर्प संरक्षण समाजका अध्यक्ष महेन्द्र कतिला काम विशेषले काठमाडौं जाने तयारीमा थिए। अर्का सर्प संरक्षणकर्मी रोहित गिरीले फोन गरेर कतिलालाई भने, ‘बागलुङमा घरभित्र किङ कोब्रा पसेको छ, उद्धार गर्न बोलाएको छ।’
कतिलाले काठमाडौं जाने योजना तत्काल रद्द गरे। खानासमेत नखाई कतिला सर्प उद्धार गर्न बागलुङ हानिए। किङ कोब्राको उद्धार गरेर नजिकैको जंगलमा लगेर छाडे। नेपाली समाजमा ‘काली नाग’ भनेर चिनिने यो सर्पको विशेषता र खतरा स्थानीयलाई जानकारी गराए।
किङ कोब्राको उद्धार गरेर फर्कदा साढे नौ बजिसकेको थियो। आफ्नो पूर्वनिर्धारित काम छाडेर एउटा सर्पको उद्धारमा खटिने कतिला सर्पप्रति कति प्रेम गर्छन्, यही एउटा उदाहरण काफी छ।
बागलुङ पुगेर सर्प उद्धार गर्दा उनले पाउने केही पनि होइन। जिल्ला बन कार्यालयले उनीहरु बागलुङ पुगेको ट्याक्सी भाडा तिरिदियो। बाटोमा आफ्नै खर्चले खाजा खाए। सर्पको उद्धारमा खटिँदा केही नपाएका कतिलाले भन्ने गर्थे, ‘सर्पको उद्धार गर्दा जति आनन्द अरू कामबाट मिल्दैन।’
कसैको घरभित्र पसेका सर्प मात्रै होइन, मानिसले जोखिम ठानेर देखेका सर्प समेत कतिलाले उद्धार गरेर जंगलमा छाड्थे। सर्प देख्ने वित्तिकै मारिहाल्ने नेपालीको बानी फेर्नुपर्ने उनले निरन्तर तर्क गर्थे। भन्थे, ‘सर्प निकै शान्त स्वभावको हुन्छ। यसलाई नजिक्साएसम्म केही गर्दैन। सर्प मान्छेको सारथी हो।’
वायुमण्डलमा भएको अत्यन्त हानिकारण ग्याँस सर्पले श्वास लिएर कम गरेको उनको तर्क छ। यसका अलवा खेतबारीको मुसा नियन्त्रण गरेर सर्पले मानिसलाई अर्को गुन लगाएको कतिला बताउँथे। उनले भन्थे, ‘सर्प नभएको भए मान्छेले लगाएको खेति मुसाले खाएर सिध्याउँथ्यो।’
मानिसको पिटाइले घाइते सर्प त उनले घरमै लैजान्थे। आफ्नै मुखको सहाराले सर्पलाई आहारा खुवाउँथे। कहीं कतै देखेका र भेटेका घाइते सर्प उपचार गरेर मात्रै जंगलमा लगेर छाड्थे। ‘कहिलेकाँही त दाइले घरभरी सर्प ल्याउनुहुन्थ्यो, उपचारमा आफैं लाग्नुहुन्थ्यो’, महेन्द्रका भाइ मनोज कतिलाले सेतोपाटीसँग भने।
पोखरामा सर्प संरक्षणमा लागेकाहरु कतिलालाई नै पहिलो सर्प संरक्षणका रुपमा मान्छन्। अहिले पोखरामा अन्य युवाहरु पनि सर्प संरक्षण र उद्धारमा खटिन थालेका छन्। उनीहरू सबैजसो कतिलाले नै उद्धार गर्न सिकाएको पोखराका अर्का वातावरण संरक्षणकर्मी राजु आचार्य बताउँछन्।
‘नेपालभरी भेटिएका सर्पबारे उहाँलाई पनि पहिलो जानकारी आउँथ्यो’, आचार्यले भने, सर्प उद्धार गर्नुपर्यो भनेर जतिबेला जहाँ पनि जान तयार हुनुहुन्थ्यो।’ कतिलाको सर्प प्रेम देखेर अरु मानिस आश्चर्यमा पर्ने गरेको उनले बताए।
सर्पलाई संस्थागत रुपमा संरक्षण गर्न २०७३ सालमा चितवनमा सरक्षणकर्मी भेला भए। त्यो भेला कतिला, पोखराका अन्य संरक्षणकर्मी ऋषि बराल र पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्रका प्राध्यापक रामजी गोतमले नेतृत्व गरेका थिए। त्यही भेलाले नै कतिलालाई सर्प संरक्षण समाज नेपालको अध्यक्ष चयन गरेको संरक्षणकर्मी बरालले बताए।
सानैदेखि सर्पको उद्धारमा लागेका कतिलाको एउटा सपना थियो। नेपालमै सर्प पालन गर्ने र सर्पले टोक्दा उपचारमा आवश्यक एन्टिस्नेक भेनम उत्पादन गर्ने। यसका लागि मुस्ताङमा घोडा पाल्ने योजना कतिलाले सुनाउँथे।
सानैदेखि सर्प समाउने कतिलाले कहिलेदेखि सर्पको उद्धारमा खटिए कसैलाई थाहा छैन। उनका भाइ मनोजले पनि सानैदेखि घरघरमा पुगेर सर्प समाउने र बाहिर लगेर छाड्ने गरेको बताउँछन्। ‘अहिलेसम्म कति सर्पको उद्धार गर्नुभयो, कति सर्पको उपचार गर्नुभयो, कुनै हिसाब भएन’, मनोजले भने।
सर्पको उद्धार गर्दा पटक पटक कतिला आफैं सर्पको तारो बनेका छन्। उनलाई ३, ४ पटक सर्पले टोकेको संरक्षणकर्मी आचार्य बताउँछन्। सर्पले टोक्दा पनि उद्धारमा उनी कत्ति पनि विचलित नभएको उदाहरण छन्।
फेवाताल पारीको फिस्टेल लज परिसरमा २०७३ साउनमा विषालु राजगोमन सर्प भेटियो। त्यहाँ सर्प मात्र थिएन, गुँड नै थियो, जहाँ सर्पका १९ वटा अण्डा पनि थिए। लजका कर्मचारी देख्नासाथ उता सर्पले स्वाँ गथ्र्यो, यता कर्मचारी भयभित।
सर्पले तहीं बस्ने भएकाले कर्मचारी डराए, उद्धार गर्न कतिलालाई बोलाए। अण्डासहित गुणमा बसेका सर्प समाउन सजिलो थिएन। त्यसमाथि सर्प नै आहारा बनाउने विषालु राजगोमन। तैपनी कतिला डराएनन्, उद्धारमा गए।
समातेर बोरामा हाल्नेबेला कतिलाको देब्रे हातको औंलामा राजगोमनले टोक्यो। तै पनि उनले बोरामा हाले। ठूलो आकारको हुने राजगोमन विश्वकै विषालु मध्ये पर्छ। टाढैबाट देखिने राजगोमनलाई नजिकै गएर नजिस्काएसम्म टोक्दैन भन्थे, कतिला।
होटलका कर्मचारी देखेरै रिसाएको राजगोमनले कतिलालाई टोके पनि विष छाड्न भ्याएन। कतिला पोखराकै मणिपाल अस्पतालमा भर्ना भए। त्यतिबेला ३, ४ दिन बसेर उपचार गर्नुपरेको उनका भाइ मनोजले सेतोपाटीलाई बताए।
यसरी आफ्नै ज्यान खतरामा राखेर कतिलाले उद्धार गरेका राजगोमन र त्यसका १९ वटा अण्डा जिल्ला बन कार्यालयलाई बुझाएका थिए। बन कार्यालयले उपयुक्त स्थानमा लगेर राजगोमन छाडेको थियो।
सर्पलाई यति अगाध प्रेम गरेका कतिलाको औपचारीक अध्ययन भने प्राणीशास्त्र होइन। उनले राजनीतिशास्त्र र कानुनमा स्नातक गरेको उनका भाइ मनोज बताउँछन्। तर आफूले अध्ययन गरेको क्षेत्रमा भने उनी लागेनन्। अदालतमा गएर बहस गरेनन्।
पोखरा–४ गैरापाटन निवासी कतिला पिएन क्याम्पस पढ्दा २०३३ सालमा स्ववियु सभापति बनेका थिए। निर्दलीय पञ्चायती व्यवस्थामा कतिला जनपक्षीय उम्मेदवार बनेर स्ववियु सभापति जितेका थिए।
राजनीतिमा भन्दा सर्प संरक्षणमा सक्रिय कतिला त्यसपछि कुखुरापालनमा लागे। अहिले भने कुखुरापालन छाडेर दाङमा अरु साथीसँग मिलेर मौरीपालनमा रमाएका थिए। दाङबाट भैरहवा पुगेको बेला कतिला बिरामी परे। चारदिन अघि चितवन पुगेर विपी कोइराला मेमोरियल अस्पतालमा भर्ना भए।
त्यतिबेला उनलाई टाइफाइड भएको थियो। खोकी लागेको थियो। उनको कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो। विपी कोइराला मेमोरियल अस्पतालमै उपचाररत कतिलाले २ दिनअघि फेसबुकमा लेखे, ‘लापरबाही नगर्नुस् है। बडो कष्ट पो हुँदोरहेछ कोरोना पोजेटिभ भएर बस्नुपर्दा। शारीरिक कष्ट उस्तै, सामाजिक अप्ठ्यारो उस्तै। कोही भेट्न नखोज्ने, भुत भेटे जस्तो पो गर्छन्।’
फेसबुकमा यस्तो स्टाटस लेखेका कतिलाको सोमबार निधन भएको छ। कोरोना संक्रमणका कारण निधन भएका कतिलासँगै उनको सर्पपालन योजना र एन्टिस्नेक भेनम उत्पादनका योजना पनि अधुरो भएको छ।
२०१६ असोजमा जन्मिएका कतिला विष बोकेका हजारौं सर्पसँग खेले, धेरै सर्प बचाए। सर्पले टोक्दा समेत बाचेका उनी कोरोनाका कारण बिते। ‘उहाँको निधनले सर्प संरक्षणको क्षेत्रमा ठूलो क्षति पुर्यायो’, संरक्षणकर्मी ऋषि बरालले भने।