यदि भेरी अस्पतालमा सोमबार ठडाइएको २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्यांकलाई नियमित सञ्चालनमा ल्याउने सके अहिले अस्पतालले भोगिरहेको अक्सिजन अभावको समस्या लगभग हल हुने थियो।
झन्डै २ सय ५० जना कोरोना संक्रमितको उपचार गरिरहेको अस्पताललाई अहिले दिनौं ४ सयदेखि ४ सय ५० वटा अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ।
कहिलेकाहीँ त अक्सिजन व्यवस्थापन गर्न आपत् पर्ने भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले भने, 'यता सिलिण्डर सकिने बेला भएको हुन्थ्यो, उताबाट अर्को सिलिण्डर नै आइपुगेको हुँदैनथ्यो। बीचमा एक मिनेट अन्तर भयो भने पनि धेरै बिरामीको ज्यान खतरामा हुने डर हुन्थ्यो।'
डा. थापालाई अब भने लिक्विड ट्यांक ठडिएसँगै यो समस्याबाट पार पाइने भन्ने ठूलो आशा छ।
उनले अहिले ट्यांक परीक्षणको चरणमा रहेको र केही पाइपलाइनको काम बाँकी रहेको भन्दै पाँच दिनभित्र ट्यांक प्रयोगमा ल्याउन सकिने जनाए।
तर यदि ट्यांकमा लिक्विड अक्सिजन भरियो भनेमात्र ट्यांक नियमित सञ्चालनमा आउँछ नत्र अहिले भरिएको आधा लिक्विडले जति दिन पुग्छ त्यति दिन मात्र ट्यांक प्रयोगमा आउनेछ।
अस्पतालको ट्यांक भर्ने जिम्मा काठमाडौंस्थित शंकर ग्यास उद्योगले पाएको छ। तर उद्योगका सञ्चालक शंकर अग्रवालले अहिलेको स्थितिमा कुनै पनि हालतमा भेरीमा लिक्विड भर्न नसकिने बताउँछन्।
अग्रवालले सेतोपाटीसँग भने, 'अहिले भेरीलाई लिक्विड अक्सिजन दिने स्थिति छैन। हामीसँग लिक्विड ओसार्ने ट्यांकर नै छैन अनि उताबाट कसरी ल्याउने र कसरी दिने?'
अहिले आफूसँग दुईटा मात्र लिक्विड अक्सिजन ओसार्ने ट्यांकर रहेको भन्दै उनले भने, 'ट्यांकर नहुँदा पुरानै पार्टीहरूलाई लिक्विड दिन सकेको छैन अनि नयाँलाई कसरी दिने?'
उनले अहिले भारतबाट दुइटा ट्यांकरबाट ल्याइएको लिक्विड टेकु र वीरको ट्रमा सेन्टरलाई दिइराखिएको बताए। उनले थप ट्यांकर उपलब्ध भएमात्र अन्य अस्पताललाई लिक्विड अक्सिजन दिन सकिने जनाए।
भर्खरै मात्र धेरै पहल गरेपछि थप एउटा ट्यांकर थपिन लागेको भन्दै उक्त ट्यांकरले ल्याउने लिक्विड अक्सिजन नेपालगञ्जको लर्ड बुद्ध मेडिकल कलेजलाई दिइने अग्रवालले बताए।
उनले लर्ड बुद्ध आफ्नो पुरानो पार्टी रहेको भन्दै पहिले उसैलाई प्राथमिकता दिनुपर्ने जनाए।
अग्रवालका अनुसार भेरीमा जडान गरिएको ट्यांक सञ्चालनमा आउने देखिँदैन। जसले गर्दा अस्पतालले पुरानै स्थिति झेल्नुपर्ने देखिन्छ। अर्थात पुनः अक्सिजन सिलिण्डरमा नै भर पर्नुपर्ने हुन्छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाका अनुसार यदि ट्यांक प्रयोगमा आउन सके पुरापुर ट्यांक मात्र चलाए पनि पाँच दिनलाई अक्सिजन पुग्छ। उनले ट्यांक र सिलिण्डर दुबैलाई चलाउने गरी मिलाउन सके दैनिक डेढ सय सिलिण्डरले पुग्ने बताए।
तर शंकरले आफ्नो अस्पताललाई पनि थोरै मात्रामा भए पनि अक्सिजन दिने डा. थापा बताउँछन्।
'उहाँहरूले त्यस्तो गर्नुहुन्न। सायद लर्ड बुद्ध र भेरीलाई बराबरी लिक्विड दिनुहुन्छ होला। त्यो भयो भने पनि अहिलेको समस्यामा केही सहज हुन्छ,' उनले भने।
शंकरले भने यदि थप ट्यांकर भए भेरीमात्र नभएर अन्य अस्पताललाई पनि अक्सिजन दिन सकिने बताएको छ।
उनले यसअघि पनि सेतोपाटीसँग कुरा गर्दै यदि सरकारले थप पाँच वटा ट्यांकर उपलब्ध गराए पूरै देशको अक्सिजन समस्या हल हुने दाबी गरेका थिए।
'यदि सरकारले थप पाँच वटा मात्र ट्यांकर मिलाइदिने हो भने देशभर अक्सिजन अभाव नहुने म ग्यारेन्टी गर्छु,' अग्रवालले भनेका थिए।