वैशाख २४ गतेदेखि वीरेन्द्रनगर नगरपालिकाले सञ्चालनमा ल्याएको अस्पतालमा काम गर्ने कर्मचारीमध्ये ५० प्रतिशत महिला छन्।
भवन निर्माण हुनेवित्तिकै कोभिड-१९ को संक्रमण व्यापक रूपमा फैलिएकाले यो अस्पताललाई सुरूमै कोभिड अस्पतालका रूपमा सञ्चालन गरिएको छ।
यो अस्पतालमा सुरक्षा गार्डदेखि डाक्टरसम्मको ‘लेडी टिम’ छ।
१६ जना कर्मचारीको नेतृत्व गर्ने महिला डाक्टर छन्। त्यसबाहेक चार जना स्टाफ नर्स, दुई जना सरसफाइकर्मी र एक जना सुरक्षा गार्ड सबै महिला छन्।
यो लेडी टिमसँगै रहेर काम गर्ने चालकसहित आठ जना अरू पुरुष कर्मचारी छन्।
यही दुई हप्ता काम गर्दा पनि उनीहरूले कोरोना उपचारको अनुभव संगाली सकेका छन्। बिरामीलाई कसरी सम्झाउने, कस्तो खालको बिरामीलाई कसरी उपचार गर्ने, आफूले नसके कहाँ पठाउने जस्ता निर्णय गर्दै महामारीमा नगरबासीको भरोसा जित्न लागिपरेका छन्।
नगर अस्पताल सञ्चालनमा आएको केही दिनपछि एक जना वृद्ध उपचारका लागि आएका थिए। उनी एउटा राम्रै अस्पतालमा बेड नपाएपछि दुई दिन त्यो अस्पतालको कोलियामा बसेर नगर अस्पतालमा आएका थिए। उनको अक्सिजनको मात्रा ५६ मा झरेको थियो।
नगर अस्पतालमा स्रोतसाधन आवश्यकता अनुसार नहुनु र फिजिसियनको अभावका कारण उनलाई भर्ना गरेर उपचार गर्नु असम्भवजस्तै थियो।
आउनेवित्तिकै स्वास्थ्यकर्मीहरूले एक घण्टा जति ‘हाइफ्लो’मा अक्सिजन दिएर राखे। पर्याप्त सिलिन्डर नभएकाले नियमित हाइफ्लोमा अक्सिजन दिन सकिने अवस्था थिएन।
डाक्टर-नर्सले कोभिड संक्रमितलाई रिफर गर्ने निधो गरे।
‘बुवा तपाईंलाई हामी नियमित अक्सिजन दिएर राख्न नसक्ने भयौं, अब हामी अन्यत्र रिफर गर्छौं भनेर उहाँलाई पनि सुनायौं,’ डा. अर्चना कार्कीले भनिन्, ‘उहाँलाई हामीले रिफर गर्ने अस्पतालको नाम भनेपछि उहाँ त रूनुभयो। त्यता जान्न नानी, म त मरे पनि यहीँ मर्छु भन्नुभयो।’
ती बिरामीले नगर अस्पतालले रिफर गरिदिए घरै फर्किने बताए। किनकि, उनले रिफर गर्न खोजेको अस्पतालमै दुई दिनसम्म बेड नपाएर फर्किएका थिए।
‘त्यसपछि उहाँलाई रिफर गर्ने आँट नै आएन, पछि निजी अस्पतालबाट सिलिन्डर ल्याएर चौविसै घण्टा अक्सिजन दिएर राख्यौं, फिजिसियनहरूसँग पनि निरन्तर सम्पर्कमा रहेर उपचार गर्यौं,’ डा. कार्कीले भनिन्, ‘छ दिनपछि उहाँ निको पनि हुनुभयो। खुसी भएर घर जानुभयो। त्यो क्षण हाम्रा लागि भावनात्मक बन्यो।’
वीरेन्द्रनगर नगर अस्पतालमा काम गर्ने ‘लेडी टिम’लाई गर्व गर्न लायक काम गर्यौं भन्ने भएको थियो।
उनीहरूले अनुभव गरेको अर्को एउटा नमिठो अनुभव छ।
नगर अस्पताल आएका अर्का एक जना बिरामीलाई अन्यत्र रिफर गरियो। बेलुका ६ बजे रिफर गरिएका ती बिरामीले राति साढे १२ बजेसम्म नगर अस्पतालका कर्मचारीलाई अक्सिजनसहितको बेड पाएनौं, भर्ना हुन पाएनौं भनेर फोन गरिरहेका थिए।
नगर अस्पतालबाट रिफर गरिएको अस्पतालमा गएको एम्बुलेन्समा एउटा सिलिन्डर थियो। भर्ना नलिँदासम्म त्यही एम्बुलेन्सको सिलिन्डरबाट अक्सिजन दिएर गेटनजिकै राखियो।
राति १ बजे डा. कार्की आफ्नो घरबाट अस्पतालमा गएर बेड मिलाइदिइन्।
‘स्याचुरेसन धेरै कम भएका मानिस ५/७ मिनेट मात्र अक्सिजन नपाउँदा पनि मर्न सक्छन्, यसरी ६/७ घण्टासम्म अक्सिजन छैन भनेर गेटमा कुर्दा त कति नराम्रो महसुस भयो,’ डा. कार्कीले भनिन्।
नगर अस्पतालमा काम गर्ने यो टिमले दुई हप्ताको अवधिमा अहिलेसम्म ८२ जना कोभिडका बिरामीसँग प्रत्यक्ष रुपमा काम गरिसकेको छ। जसमध्ये १२ जनालाई अन्यत्रै रिफर गरिएको छ। ५९ जना राम्रोसँग निको भएर डिस्चार्ज भएका छन्।
२५ बेडको नगर कोभिड अस्पतालमा अहिले ११ जना बिरामीले नियमित उपचार गराइरहेका छन्। उनीहरू सबैलाई नियमित रूपमा अक्सिजन दिनुपर्छ। सिलिन्डर र कन्सन्ट्रेटरबाट उनीहरूलाई अक्सिजन पुर्याइएको छ।
‘२४ घण्टा सामान्य मात्रामा अक्सिजन दिन मिल्ने, क्यानुलाबाट औषधी दिन मिल्ने बिरामीहरूलाई यहाँ राखेका छौं। त्यो भन्दा बढी विधिबाट उपचार गर्नुपर्ने बिरामीहरूलाई माथिल्लो स्तरको अस्पतालमा पठाउने गरेका छौं,’ डा. कार्कीले भनिन्।
नगर अस्पतालमा काम गर्ने ‘लेडी टिम’मध्येकी एक जना स्टाफ नर्स सुनिता श्रेष्ठको कोभिड अस्पतालमा काम गरेको यो दोस्रो अनुभव हो। उनी यसअघि दैलेख जिल्ला अस्पतालमा एकमहिना कोभिड वार्डमै काम गरेकी स्वास्थ्यकर्मी हुन्।
‘पहिलोपटक कोभिड अस्पतालमा काम गर्दा त डर लागेको थियो, आफैंलाई संक्रमण भयो भने के गर्ने होला भन्ने लाग्थ्यो,’ सुनिताले भनिन्, ‘अहिले डर हराएर गयो, बिरामीहरूसँगै बसेर मजाले काम गर्न सक्छु भन्नेमा म ढुक्क छु।’
आफ्नो कामदेखि बिरामीहरू खुसी भएको महसुस उनले गरेकी छन्। नेतृत्वकर्ता डाक्टरको उत्प्रेरणाले पनि आफूलाई सहज भएको उनी बताउँछिन्।
सुनितालाई दैनिक घरबाट फोन आउँछ। बुवा-आमा र परिवारले दिने हौसलाले पनि उनलाई कोभिडविरूद्ध काम गर्न सहज भएको छ।
‘घरबाट त दैनिक फोन गर्नुहुन्छ, तिमीले यही विषय पढेकी छौ। तिमीले बिरामीका लागि काम गर्नुपर्छ भनेर उहाँहरूले नै हौसला दिनुहुन्छ,’ सुनिताले भनिन्।
स्टाफ नर्स मञ्जु पौडेल भने पहिलोपटक कोभिड अस्पतालमा काम गरिरहेकी छिन्। उनी पनि वीरेन्द्रनगर नगरपालिका मातहतकै विद्यालयमा काम गर्ने स्टाफ नर्स हुन्। सुरूमा डराउने मञ्जुको पछिल्लो समय भने आत्मबल बढ्दै गएको छ ।
‘सुरूमा यो क्षेत्रमा काम गर्दा साह्रै डर लाग्थ्यो, अहिले त सिक्दै गएँ। बुझ्दै पनि गएँ। डरभन्दा पनि आजकाल त कोभिडका बिरामीलाई सेवा गर्न पाउँदा खुसी लाग्छ,’ उनले भनिन् ।
उनलाई पनि घरबाट दिनमा ४/५ पटक फोन आउँछ। घरपरिवारलाई सम्झाउने काम उनी गर्छिन्।
‘म सुरक्षित भएर बिरामीलाई हेर्छु, चिन्ता नमान्नुस् भनेर घरका परिवारलाई सम्झाउँछु,’ मञ्जु भन्छिन्, ‘यस्तो बेलामा मैले काम नगरेर कसले गर्छ भनेर सम्झाउने गरेकी छु।’
महामारीको समयमा खाना बस्नको ठेगान हुन्न भन्ने उनलाई थाहा छ। यो स्वाभाविक पनि हो भन्ने उनलाई लाग्छ।
‘साँझको खाना राति ११ बजे, बिहानाको खाना दिउँसो १ बजे पनि खानुपर्छ,’ उनी भन्छिन्, ‘हामी स्वास्थ्यकर्मीका लागि यो संकटका बेलामा यस्तो कुरा स्वाभाविकै पनि हो।’
नगर अस्पतालमा काम गर्ने स्टाफहरू सहयोगी भावनाको भएकाले बिरामी र उनीहरूका आफन्तको राम्रो प्रतिक्रिया पाउने गरेको डा. कार्की बताउँछिन्।
समाजमा स्वास्थ्यकर्मीहरूप्रतिको नकारात्मक दृष्टिकोण परिवर्तन गर्न अस्पतालका कर्मचारीहरूको लगावले सम्भव भएको उनले बताइन्।
‘स्वास्थ्यकर्मीले कोभिडका बिरामीहरूलाई छुँदैनन् भन्ने नकारात्मक बुझाई समाजमा छ, तर हाम्रोमा चाहिँ एकदमै राम्रो स्टाफ हुनुहुन्छ,’ उनले भनिन्, ‘कतिपय कर्मचारी त आफ्नो घरै जान नपाएर यहाँ आवासीय रुपमा बस्नुहुन्छ, उहाँहरू बिरामीसँग नियमित सम्पर्कमा जानुहुन्छ। रातदिन नभनेर काम गरिरहनुभएको छ।’
नजिकै प्रदेश अस्पताल भएकाले फिजिसियनहरूसँग सहयोग लिएर काम गरिरहेको उनले बताइन्।
वीरेन्द्रनगर नगरपालिका पनि नगर अस्पतालमा काम गर्ने महिला कर्मचारीदेखि खुसी छ। अहिले यो क्षेत्रमा कोभिडको उपचार गरिरहेका अस्पतालहरूमा नगर अस्पतालले राम्रो प्रतिक्रिया पाएको वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले बताइन्।
‘हामीले राम्रो प्रतिक्रिया पाएका छौं, यसमा काम गर्ने कर्मचारीको लगावले पनि यति सम्भव भएको हो,’ उपमेयर ढकालले भनिन्, ‘त्यसमा पनि महिला कर्मचारीले सोचेजस्तो काम गर्नुभएको छ।’
वीरेन्द्रनगर अस्पतालले स्रोधसाधन थप गरेर ५० शैयाको कोभिड अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ। दुई जना बाहिरका डाक्टरहरूले पनि नगर अस्पतालमा पुगेर बेला-बेलामा रेखदेख गर्ने व्यवस्था मिलाइएको ढकालले बताइन्।