कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाँच वटा जिल्लामा कोभिड-१९ रोकथाम तथा उपचारका लागि जनशक्ति परिचालन गरेको छ।
पहिलो लहरको कोरोना नियन्त्रणका लागि पनि आफ्नो तर्फबाट जनशक्ति परिचालन गरेको प्रतिष्ठानले यो वर्ष पनि सोही कार्य दोहोर्याएको हो।
साबिक कर्णालीका पाँच वटा जिल्लाहरू मुगु, कालिकोट, हुम्ला, डोल्पा, जुम्ला र कर्णाली प्रदेशको रुकुम पश्चिममा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली कोभिड रोकथाम तथा उपचारका लागि खटाइएको प्रतिष्ठानका प्रवक्ता डा. रमेशराज भट्टराईले जानकारी दिए ।
‘गत वर्षजस्तै यो वर्ष पनि कोभिड नियन्त्रण तथा रोकथामको उद्देश्यका साथ हामीले प्रतिष्ठानको तर्फबाट विशेषज्ञसहितको टोली जिल्लामा खटाएको छौं,’ डा. भट्टराईले भने, ‘जुम्लाका सबै स्थानीय तहमा पनि टोली खटाएका छौं ।’
उनका अनुसार मुगुमा सहायक प्राध्यापक डा. शिद्धार्थ ध्वज खाती र डा. रेखा कार्की, कालिकोटमा डा. रिविन खापुङ्ग र डा. सुवि बस्न्यात, हुम्लामा सहायक प्राध्यापक डा. मानिक न्यौपाने, राजबहादुर खत्री, डोल्पामा डा. अभिषेक ठाकुर र सिनियर अहेव कमेन्द्र न्यौपाने, रुकुम पश्चिममा सहप्राध्यापक डा. अनुप मंगल समाल र उपप्राध्यापक सिला थापालाई खटाइएको छ।
यस्तै, जुम्लाको कनकासुन्दरी गाउँपालिकामा डा. कमल थानी, सिंजा गाउँपालिकामा उपप्राध्यापक सुजता ओझा, तातोपानी गाउँपालिकामा डा. कमल न्यौपाने, पातारासी गाउँपालिकामा प्राध्यापक डा. सुनिल बुढाथोकी, हिमा गाउँपालिकामा उपप्राध्यापक मेनिका लामा, गुठीचौर गाउँपालिकामा उपप्राध्यापक निर्मला पहाडी, चन्दननाथ नगरपालिकामा पनि अन्य स्वास्थ्यकर्मीको टोली खटाईएको भट्टराईले जानकारी दिए।
यसअघि पनि कर्णाली स्वास्थ्य विज्ञाप प्रतिष्ठानले नेपालगञ्जको भेरी अस्पतालमा आफ्ना स्वास्थ्यकर्मी खटाएको छ।
डा. प्रवीणकुमार गिरीको नेतृत्वमा डा. हरि न्यौपाने, डा. अरुण श्रेष्ठ, स्टाफनर्स तेन्जी तामाङ, सीता खड्का र हेल्थ असिस्टेन्ट नरेन्द्र शर्मालाई खटाइएको छ।