प्रदेश १ कै सबैभन्दा ठूलो स्वास्थ्य संस्था बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिडका विरामीलाई आफैं अक्सिजन व्यवस्थापन गरेर मात्रै अस्पताल आउन सूचित गरेको छ।
प्रतिष्ठानका सह–प्रवक्ता डा. चुडामणि पोखरेलले शनिबार सूचना जारी गर्दै प्रतिष्ठानले कोरोनाका नयाँ विरामी भर्ना लिन नसक्ने जानकारी दिएका छन्।
प्रतिष्ठानको अक्सिजन प्लान्टमा प्राविधिक समस्या आएको कारण दर्शाउँदै वीपीले नयाँ विरामीले आफैं अक्सिजन ल्याए भर्ना लिने नत्र लिन नसकिने जनाएको हो।
प्रतिष्ठानका अनुसार अक्सिजन प्लान्टमा बिहीबारदेखि नै समस्या आएको हो। यसले कोभिड अस्पतालमा गम्भीर असर पारेको छ। अहिले सिलिण्डर र मेनिफोल्डबाट अक्सिजन आपूर्ति भइरहेको प्रतिष्ठानले जनाएको छ।
वीपी प्रतिष्ठानमा कोभिडको एक सय बेड सञ्चालनमा छन्। जसमध्ये १५ वटा आइसीयू र २५ वटा एचडीयू छन्। सह प्रवक्ता पोखरेलले सेतोपाटीलाई दिएको जानकारी अनुसार शनिबार बिहान ११ बजेसम्ममा ४४ जना विरामी उपचाररत छन्। ‘बिहानसम्ममा ४४ जना विरामी उपचाररत थिए’, उनले भने ‘साँझको म अपडेट छैन।’
उनले हाल उपचाररत विरामीलाई अक्सिजनको अभाव हुने अवस्था छैन। तर, नयाँ विरामीका लागि भने प्लान्ट मर्मत नहुन्जेल अभाव हुने अवस्था रहेको बताए।
अक्सिजन प्लान्ट मर्मत कार्य चलिरहेको जानकारी दिँदै उनले केही दिनमा बन्ने आशा व्यक्त गरेका छन्। ‘कहिलेसम्ममा पूर्ण सञ्चालनमा आउँछ भन्न सक्ने अवस्था भएन तर हामी रातभर खटिएर पनि मर्मत गरिरहेका छौं’, उनले भने।
प्रदेश १ मा संक्रमण दर लगातार उच्च भइरहेको छ। यस्तो बेलामा वीपीको अक्सिजन प्लान्टमा समस्या आउँदा उपचार सेवा नै प्रभावित भएको छ। प्रदेश १ मा शनिबार मात्रै ८८८ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र भोजपुरमा २–२, पाँचथर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
झापाको दमकमा ८५, विर्तामोडमा ३७, बुद्धशान्तिमा ३२, कनकाईमा २९, भद्रपुरमा २५, अर्जुनधारामा २३, मेचीनगरमा १२, कमल गाउँपालिकामा ९, गौरादहमा ६, शिवसताक्षीमा ५, गौरीगञ्जमा ४, बाह्रदशीमा ३, हल्दिबारी र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २, मोरङको विराटनगरमा १६४, बेलबारीमा २२, केराबारीमा १५, पथरीशनिश्चरेमा १२, बुढीगंगामा १०, उर्लाबारीमा ५, जहदामा ४, ग्रामथान, धनपालथान र सुन्दरहरैचामा २–२, रंगेली, सुनबर्षी, मिक्लाजुङ, कानेपोखरी, कटहरी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ८०, इटहरीमा ३५, इनरुवामा १०, दुहवीमा ६, देवानगञ्ज र बराहक्षेत्रमा ५–५, बर्जुमा ४, रामधुनी, हरिनगर, भोक्राहानरसिंह, गढी र स्थानीय तह नखुलेका ३–३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
त्यसैगरि संखुवासभाको खाँदबारीमा ३१, चैनपुरमा १९, सभापोखरीमा ३, सिलिचोङमा २ र धर्मदेवीमा १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ४६ र स्थानीय तह नखुलेका १, इलामको फाकफोकथुममा १५, इलाम नगरपालिकामा १३, रोङ र चुलाचुलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १३, पाख्रिवासमा ३, छथर र महालक्ष्मीमा १–१, सोलुखुम्वुको सोलुदुधकुण्डमा १०, महाकुलुङ र थुलुङ दुधकोशीमा २–२, माप्य दुधकोशी र खम्वु पासाङल्हामुमा १–१, उदयपुरको त्रियुगामा ४, बेलका र स्थानीय तह नखुलेका १–१, ओखलढुङ्गाको चिशंखुगढी र भोजपुरको षडानन्दमा २–२, पाँचथरको फिदिम र तेह्रथुमको आठराईमा १–१ र प्रदेश १ बाहिरका ३१ ज्नामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५० हजार ४६८ पुगेको छ। संक्रमित भएका मध्ये ३२ हजार २६६ जना संक्रमणमुक्त भएका छन्। आज २५७ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या १७ हजार ४५६ पुगेको छ।