हिजोआज कोरोना संक्रमितका लागि भन्ने बित्तिकै अस्पतालमा ठाउँ पाइन्नँ। जसकारण अधिकांश बिरामीहरू घरमै बस्नुपर्ने बाध्यता छ।
तर घरमै बसिरहँदा बिरामीको जुनसुकै बेला पनि अक्सिजनको मात्रा घट्न सक्छ र अक्सिजन दिनुपर्ने हुनसक्छ। त्यस्तो बेला बिरामीलाई तुरून्त अक्सिजन दिन नसकिएला किनकि, अहिले बजारमा अक्सिजनको हाहाकार छ।
कोरोना संक्रमितको उपचारमा खटिएका सघन उपचार विशेषज्ञ डा. राजु पंगेनी यस्तो बेलामा विरामीलाई घोप्टो आसनमा सुताउन सके अक्सिजन मात्रामा सुधार ल्याउन सकिने बताउँछन्। यो विधिलाई अङ्ग्रेजीमा ‘अवेक प्रोनिङ’ भनिन्छ।
तर यो विधि कसरी गर्ने भन्ने ख्याल गर्नुपर्छ। त्यसका लागि सुरूमा तीन वटा सिरानी चाहिन्छ। एउटा सिरानीलाई टाउको मुनि, अर्को सिरानी कम्मर मुनी र अर्को सिरानी खुट्टा मुनि राख्नुपर्छ।
तर कम्मर मुनि सिरानी राख्दा पेट थिचिनु हुँदैन। पेट थिचियो भने त्यसले विरामीलाई उकुसमुकुस बनाउने र झन् स्वासप्रश्वासमा समस्या निम्तिन सक्छ। र पेट थिचिएन भने फोक्सो पनि मज्जाले खुल्न पाउँछ। डा. पेगेनी भन्छन्, ‘कम्मरमुनि सिरानी राख्दा फोक्सो खुल्नुपर्छ। फोक्सो खुल्यो भने अक्सिजन सजिलोसँग रगतमा जान्छ। त्यसैले पेट चाहिँ थिचिनुहुन्न।’
घोप्टो आसनमा सुत्दा हात कसरी राख्ने भन्ने अन्यौल हुनसक्छ। सामान्यतया विरामीले आफूलाई सहज भएको अवस्थामा आफ्नो हातलाई तल-माथि जसरी पनि राख्न सक्छन्। तर त्यसरी गाह्रो भए हातलाई टाउको मुनि वा पौडी खेल्दा बनाइने हातको आकारमा राख्नुपर्ने हुन्छ। जसलाई ‘स्वीमर पोजिसन’ पनि भनिन्छ।
घोप्टो आसनमा विरामी कम्तिमा आधा घण्टादेखि दुई घण्टासम्म बस्दा हुन्छ। यदि अफ्ठ्यारो भएन भने त्योभन्दा पनि बढी बस्दा पनि हुन्छ। किनभने घोप्टो आसनमा विरामीको अक्सिजनको मात्रा सुधार हुने सम्भावना सबैभन्दा बढी हुने डा. पंगेनी बताउँछन्। त्यसैले विरामीले घोप्टो आसनमा बढी जोड दिनुपर्ने उनको सुझाव छ।
घोप्टो आसनमा बसिसकेपछि विरामीले आफूलाई दायाँ कोल्टे फेरेर बसाउन सक्छ। त्यो आसन पनि आधा घण्टादेखि दुई घण्टासम्म गर्न सकिन्छ। त्यसपछि बायाँ फर्केर बस्ने र फेरि घोप्टो आसनमा फर्किने। यसरी घोप्टो आसन, दायाँ फर्किने, बायाँ फर्किने र घोप्टो आसनमा फर्केर बस्नुपर्ने हुन्छ।
तर कुनै एउटा आसनमा बसिरहँदा विरामीलाई असहज हुनुवित्तिकै आसन परिवर्तन गर्नुपर्छ। जस्तै घोप्टो आसनमा एक घण्टा बस्दा नै विरामीलाई अफ्ठेरो भयो भने त्यहीँ आसनमा बसिरहनु हुँदैन र तुरून्तै अर्को आसन परिवर्तन गर्नुपर्छ।
यसरी विभिन्न आसनमा बस्दा १५-१५ मिनेटमा विरामीले आफ्नो अक्सिजन मात्रा नापिराख्नुपर्ने डा. पंगेनी बताउँछन्। यसरी अक्सिजन मात्रा नाप्दा सोचेको जस्तो अक्सिजन बढेन भने तुरून्त आसन परिवर्तन गर्नुपर्ने उनको सुझाव छ। जस्तै घोप्टो आसनमा बसिरहँदा अक्सिजन मात्रा बढेन भने विरामी कोल्टे फेरेर बस्नुपर्छ। र कोल्टे फेर्दा सोचे जस्तो अक्सिजन मात्रा बढेन भने फेरि घोप्टो फर्किनुपर्छ।
कस्ता विरामीले यो विधि गर्ने?
डा. पंगेनीका अनुसार सामान्य हावामा अक्सिजन मात्रा ९४ भन्दा कम भएका जोसुकै विरामीले यो विधि गर्न सक्छन्। साथै घरमै रहेर अक्सिजन चाहिने विरामीले पनि यो विधि गर्न सक्छन्।
अर्को भनेको घरबाट अस्पताल पुग्दासम्म बाटोमा पनि विरामीले यो विधि गर्न सकिने डा. पंगेनीको बताउँछन्। साथै अस्पताल भर्ना भइसकेपछि पनि इमर्जेन्सी र वार्डमा रहेका विरामीले पनि यो विधि गर्न मिल्ने उनको भनाइ छ। ‘भेन्टिलेटरमा रहेका विरामीको अक्सिजन मात्रा बढाउन पनि यो विधि प्रयोग गरिन्छ,’ उनले भने।
कस्ता विरामीले यो विधि नगर्ने?
डा. पंगेनीका अनुसार यो विधि गर्नलाई विरामी पूर्ण होसमा हुनुपर्छ। यदि कोही विरामी वेहोस छ भने यो विधि गर्न मिल्दैन। त्यसैले विरामी होसमा छैन, जसलाई मानसिक समस्या छ भने ती विरामीहरूले यो विधि गर्नु हुँदैन।
‘यो विधि विरामी आफैंले गर्ने हो। त्यहीँ भएर यसलाई 'सेल्फ प्रोनिङ' पनि भनिन्छ,' डा. पंगेनी भन्छन्, ‘त्यसैले यो विधि गर्दा विरामीलाई आफू के गर्दैछु भन्ने थाहा हुनुपर्छ। साथै कुनै अफ्ठ्यारो भयो भने भन्न सक्ने हुनुपर्छ।’
यीबाहेक अत्यन्त सिकिस्त विरामीले यो विधि गर्न मिल्दैन। जसको प्रेसर एकदम कम छ, अक्सिजनको मात्रा एकदम कम भएर जुनसुकै बेला पनि भेन्टिलेटर चाहिने अवस्थाका विरामी हुनुहुन्छ भने उहाँहरूले पनि यो प्रयोग गर्नुभएन।
अर्को भनेको कोही विरामीको पेट, टाउको वा छातिको भर्खर शल्यक्रिया गरेको छ भने पनि ती विरामीले यो विधि गर्ननहुने डा. पंगेनी बताउँछन्। उनले गर्भवतीले पनि यो आसन गर्न नहुने जनाए।
पछिल्लो समय कोरोना संक्रमितका लागि अक्सिजन मात्रा बढाउन यी विधि प्रभावकारी देखिएको डा. पंगेनी बताउँछन्। ‘यो आसनहरू प्रयोग गर्दा विरामीहरूलाई अक्सिजनको मात्रा घटाउन मिल्ने, थोरै अक्सिजन चाहिनेलाई छुटाउन मिल्ने र कतिपयलाई त भेन्टिलटरमा राख्नुपर्ने स्थितिबाट पनि जोगाउने गरेको देखिएको छ,’ उनले भने।
तर यति हुँदाहुँदै पनि यो विधि गर्नेले धेरै कुरा भने ख्याल गर्नुपर्ने भन्दै डा. पंगेनी भन्छन्, 'यो विधि आफैंमा कोभिडको पूर्ण उपचार हैन। त्यसकारण अक्सिजनको मात्रा कम हुँदै गएको छ भने वा अक्सिजनको मात्रा केही वृद्धि भए पनि एकपटक स्वास्थ्य संस्था वा डक्टरको सल्लाह लिनुपर्छ।’
उनले कसैको अक्सिजन मात्रा ९३ भन्दा कम हुँदै गएको स्थितिमा यो आसनले मात्र नपुग्ने भन्दै थप उपचार आवश्यक पर्ने बताए। साथै यो विधि गर्दा कसैको अक्सिजन मात्रा सुधार भएर ९० भन्दा माथि पुग्दैन भने त्यस्ता विरामीले पनि तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा डाक्टरसँग सल्लाह लिनुपर्ने उनको सुझाव छ।
हेर्नुहोस् भिडिओमा