गेटा मेडिकल कलेजमा कोरोना संक्रमितका लागि ९० बेडको कोभिड-१९ केयर सेन्टर सञ्चालनमा आएको छ।
कैलालीको गोदावरी नगरपालिका-५ स्थित निर्माणाधीन मेडिकल कलेजमा अक्सिजनसहित स्वास्थ्यकर्मी खटाएर कोरोना संक्रमितको उपचार गर्ने गरी उक्त केयर सेन्टर सञ्चालनमा ल्याइएको हो।
जिल्ला प्रशासन कार्यालय मातहत रहनेगरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले उक्त आइसोलेसन सेन्टरको व्यवस्था गरेका हुन्।
संघीय सरकारले गेटा मेडिकल कलेजमा २ हजार बेडको क्षमताको आइसोलेसन सेन्टर बनाउने भन्दै वैशाख २० गतेबाट तयारी थालिएको थियो।
सुदूपश्चिम प्रदेश सरकारले उक्त आइसोलेसनमा स्वास्थ्यकर्मी र जनशक्तिको व्यवस्थपान गर्न ५० लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ।
गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउदले कोरोना संक्रमितको उपचारका लागि ९० वटा बेड तयार पारिएकोे बताए।
‘अहिलेलाई ९० वटा बेड तयार पारिएको छ, त्यहाँ संक्रमितलाई आवश्यक पर्ने ५० वटा अक्सिजन सिलिन्डर केन्द्रले पठाएको छ, अझै ल्याउने काम पनि जारी छ, सबै तयारी अवस्थामा छ, आजैबाट संक्रमित राख्ने काम पनि हुन्छ’, उनले भने।
उनका अनुसार उक्त आइसोलेसन सेन्टरमा गोदावरी नगरपालिकाले ८, धनगढी उपमहानगरपालिकाले ७ र गौरीगंगा नगरपालिकाले तीन गरी १८ जना एचए, स्टार्फ नर्स, अहेव र अनमी लेवलका स्वास्थ्यकर्मीलाई खटाएको छ।
अक्सिजनको अभाव भएका सङ्क्रमितहरूलाई यहाँ राखेर उपचार गरिने व्यवस्था भए पनि जटिल संक्रमितलाई सेती प्रादेशिक अस्पतालमा रिफर गरिने नगर प्रमुख साउदले बताए।