खुला सडक, त्यसमाथि ओरालो। साइकलमा सररर हावा खाँदै बत्तिन कम्ता मजा आउँदैन!
तर कोटेश्वर–जडिबुटी ओरालोमा साँझ करिब साढे ६ बजे एक युवतीलाई साइकल डोर्याउँदै हिँडेको देखेपछि मेरो आफ्नै स्पिड कम भयो।
'थाक्नुभयो कि क्या हो?'
निलो 'लेडिज' साइकल उनले झ्याप्प रोकिन्। अनुहारमा मास्कसँगै फेससिल्ड थियो। हरियो विन्डचिटरमाथि निलो डोरीमा झुन्डिएको कार्डमा उनको परिचय थियो– मीरा खत्री कार्की, सेक्युरिटी गार्ड।
'सम्म बाटोमा मात्र चलाउन सक्छु। उकालो–ओरालोमा त्यति आउँदैन,' उनले साइकल डोर्याउनुको कारण खुलाइन्, 'ओरालोमा त कन्ट्रोल गर्नै सक्दिनँ। झ्याम्मै लडियो भने?'
राम्ररी चलाउन सक्दिनँ भन्ने जान्दाजान्दै मीरा किन साइकल लिएर सडकमा निस्किन् त?
उनले छोटो जवाफ दिइन्, 'लकडाउन।'
निषेधाज्ञाको दोस्रो दिनसम्म त उनी पानी बोक्ने गाडीमा अफिस पुगेकी थिइन्। बाटोमा प्रहरीले केरकार गर्न थालेपछि उनलाई झर्को लाग्यो।
तेस्रो दिन बाटामा भेटेजति बाइकलाई रोक्न खोजिन्। आँखैअगाडि 'हुइँइय' हुइँकाउँदै बाइकहरू ओझेल हुन्थे। आधा बाटो लखरलखर हिँडेपछि बल्लतल्ल एउटा बाइकले रोक्यो। फर्किँदा त्यस्तै सास्ती!
भोलिपल्ट फेरि अफिस जानै थियो। गोडासँगै मीराको मन पनि भारी भयो।
त्यसपछिका कति दिन उनी हिँडेरै मूलपानीदेखि बानेश्वर पुगिन्। ती सकसपूर्ण यात्राले एकदिन उनलाई कोठामा थन्किरहेको साइकल सम्झायो। सडकमा ल्याउन हिम्मत गर्न सकेकी थिइनन्, तर जे पर्ला-पर्ला भन्दै ल्याइन्।
लामो समय कोठामा थन्किएको साइकलको अवस्था पनि कहाँ राम्रो हुनु? राख्दा–राख्दा पार्टपूर्जा जाम भएका थिए। पाइडल बिग्रेको थियो। ब्रेक राम्ररी नलाग्ने भएका थिए। निषेधाज्ञामा बनाउने ठाउँ पनि उनले पाइनन्। बल्लतल्ल चिनजानको पसलमा अनुरोध गरेपछि साइकल अलि ठिक ठाउँमा आयो।
तर त्योभन्दा ठूलो समस्या अर्कै थियो। मीरालाई साइकल चलाउनै राम्ररी आउँथेन।
'एक-दुई पाइला चाल्न मात्र जानेकी थिएँ,' उनले भनिन्, 'पहिलो दिन त अलि अलि चलाउने र धेरैजसो हातले डोर्याउँदै बानेश्वरको एटिएम लाउन्जसम्म ल्याएँ।'
मीरा त्यही एटिएम लाउन्जमा काम गर्छिन्। निषेधाज्ञामा मान्छे कम आउने भएकाले उनले बेलाबेला त्यहीँको पार्किङमा साइकल चलाउन थालिन्।
पार्किङका दाइले पछाडि समाएर साइकल चलाउन सिकाइदिन्छु भने। उनले समात्दा समात्दै छाडिदिएपछि मीराको घुँडा ठोक्कियो, पाइन्ट च्यातियो। रिसको झोँकमा उनले भनिन्, 'भो! तपाईंले सिकाउनुपर्दैन।'
त्यसपछि उनी आफैं लडिन्, आफैं सिकिन्।
मीराले साइकल किनेको पहिलो लकडाउनतिर हो। त्यो समय उनका लागि सहज थिएन। लकडाउनकै कारण चैतदेखि साउनसम्म काममा जान पाएकी थिइनन्। काममा नगएपछि जागिरमा अर्कै मान्छे राखियो। बल्लतल्ल अनुरोध गरेपछि फुत्कनै लागेको जागिर जोगियो।
जागिर जोगिए पनि तिर्नुपर्ने घरभाडा २४ हजार पुगिसकेको थियो। काम नभएको थाहा पाए पनि घरधनीले एक पैसा छुट दिएनन्। जागिरमा फर्किएपछि उनले पहिलो महिनाको तलबबाट अलिकति कोठाभाडा तिरिन्, केही पैसाले साइकल किनिन्।
जडिबुटीमा ८ हजार रूपैयाँ तिरेर साइकल त किनिन्, तर उनलाई चलाउन आउँथेन। फेरि लकडाउन भए साइकल चलाएरै अफिस जान्छु भन्ने उनले सोचेकी थिइन्।
उता घरधनीले साइकल किनेको देखिसहेनन्। साइकल देख्यो कि गनगन गर्न थाल्थे, 'तिमी साइकल किनेर मनपरी गरी हिँड्ने, घरभाडा चाहिँ समयमा नतिर्ने?'
उनी कहिले साइकल बाहिर नराख भन्दै कराउँथे, कहिले लुगा यहाँ नसुकाऊ भन्थे। दिनकै अनेक कुरा झिकेर किचलो गर्न थालेपछि मीराले ठानिन्, 'अब यहाँ बस्न सकिन्न।'
उनले गाउँका दिदीहरूसँग सापटी लिएर बाँकी कोठाभाडा तिरिन् र केही परको अर्को घरमा डेरा सरिन्।
त्यस बेला लकडाउन खुकुलो नभएकाले उनले दुई महिना हिँडेरै काममा जानुपरेको थियो। पछि सार्वजनिक सवारी विस्तारै चल्न थाले। साइकल कुनामा थन्कियो। सिक्ने क्रममा ब्रेक लाग्यो।
समथर बाटोमा अलिअलि चलाउन जानेकी थिइन्। ओरालोमा ब्रेक लगाउँदै चलाउन त सिकेकै थिइनन्। अहिले पनि ओरालोमा बत्तिने साइकलको स्पिड नियन्त्रण गर्न सक्दिनँ कि भन्ने उनलाई डर लाग्छ। त्यही डरले डोर्याउनै सजिलो मान्छिन्।
उनको साइकलले सडक नाप्न थालेको एक महिना हुनै लाग्यो। हिँडेर वा कसैसँग लिफ्ट माग्नुभन्दा धेरै सजिलो भएको छ। पहिले घन्टौं सवारी कुरेर, कोचिँदै आउजाउ गरेका दिन सम्झिँदा उनलाई साइकलले दिएको स्वतन्त्रता ठिक लाग्छ। तर साइकलका सकस आफ्नै हुन्छन्। सिक्दै–चलाउँदै गरेकी मीरालाई त झन् धेरै।
'मूलपानीदेखि बानेश्वर पुग्न झन्डै डेढ घन्टा लाग्छ। बिहान घाममा हिँड्दा धपेडीले हर्याक–हर्याक भएर सास फेर्नै गाह्रो हुन्छ। उकालोमा त्यस्तै सकस। त्यसमाथि गाडी कुदाउनेले साइकल देख्यो कि हान्दिउँजस्तो गर्छन्,' उनले भनिन्।
'सुखले त कहाँ हो र? कोरोना बेला मलाई पनि घरमा सुरक्षित बस्न मन थियो नि। तर जसरी नि खानै पर्यो। भाडा तिर्नैपर्यो। काममा गएन भने कम्पनीले अर्को मान्छे राखिहाल्छ।'
मीरा ३० वर्षकी भइन्। सेक्युरिटीमा काम गरेको तीन वर्ष भयो। बिहान ९ देखि ६ बजेसम्म बानेश्वरको एटिएम लाउन्जमा उनको ड्युटी छ। त्यसपछि साइकलमा असिनपसिन घर फर्केपछि खाना पकाएर खानुपर्छ। बेलुकी ११ बजे सुतेर बिहान ५ बजे उठ्ने उनको दैनिकी बनिसकेको छ।
उनले २०६६ सालमा विवाह गरेकी थिइन्। छोरी १० वर्षकी छन्, छोरा ८ वर्षका। उनीहरू रामेछापमा मीराका सासू–ससुरासँग बस्छन्। त्यहीँ पढ्दै छन्, हुर्किँदै छन्। सासूको व्यवहारले छोराछोरी र श्रीमानसँग छुट्टिनुपरेको उनी बताउँछिन्।
'घरमा हुँदा चामल, नुन, तेलदेखि सबै सामान बाकसमा थुनेर राख्नुहुन्थ्यो। मलाई देखिसहनुहुन्थेन। उहाँहरूसँग बस्न नसकेर काठमाडौं पसेकी हुँ,' उनले भनिन्, 'छोराछोरीलाई पनि मबाट टाढा बनाइसक्नुभयो।'
उमेरले पाका सासू–ससुरासँग दिनकै झगडा गरेर बस्नुभन्दा काठमाडौंमा संघर्ष गर्छु भनेर मीरा २०७३ सालमा दाजुभाउजूसँग आएकी थिइन्।
उनले यहाँ ज्यामी कामबाट सुरूआत गरिन्। त्यसपछि भेटेजतिका काम गर्दै गइन्। करिब तीन वर्षअघि एक चिनेजानेका दाइले 'एउटा कम्पनीले सेक्युरिटी गार्डमा मान्छे खोजेको छ, काम गर्छौ?' भनेर सोधे।
उनले तुरून्तै हुन्छ भनिन्।
केही दिनको तालिमपछि उनले सेक्युरिटी गार्डका रूपमा काम गर्न थालिन्। उनको धर्मराएको जिन्दगी त्यसपछि बल्ल एकठाउँ थामियो।
उनले काठमाडौं आएको वर्षदिनपछि आफ्ना तीनवर्षे छोरालाई सँगै ल्याउन खोजेकी थिइन्। सासूले आनाकानी गरेपछि बाझेकी पनि थिइन्, 'मैले १० महिना गर्भमा राखेर, दूध खुवाएर हुर्काएको छोरालाई तपाईंले खोस्न पाउनुहुन्न।'
त्यसरी जबर्जस्ती ल्याएको छोरालाई उनले यहीँको मोन्टेस्वरीमा पढाउन राखिन्। छोराले भने पढ्नै खोजेनन्। उल्टै उनको छुक्छुके स्वभावका कारण मीराको ज्यामी काम गुम्यो। पछि 'गर्ल्स होस्टल' मा जागिर पाइन्। त्यो पनि छोराकै कारण गुम्यो। कहिले बरन्डा त कहिले बाटोमै सुतिदिन थालेपछि छिमेकीहरूले भन्न थाले, 'छोराको एकदम बिजोग भयो। उसलाई गाउँमा परिवारसँगै राख।'
उनले त्यसै गरिन्।
सानामा छोराछोरीहरू मीरासँग खुब झ्याम्मिन्थे। पसल जाँदा पनि 'ममी–ममी' भन्दै पछि लाग्थे। उनी गाउँबाट काठमाडौं आउँदा रुवाबासी गर्थे। आजकल बेलाबखत गाउँ जाँदा पनि खासै वास्ता गर्दैनन्। बरू सासूकै सिको गरेर भन्न थालेका छन्, 'बहुलाई।'
'आफूले जन्माएका सन्तानले आफैंलाई त्यस्तो भन्दा चित्त दुख्दो रहेछ। ठूलो भएपछि पक्कै बुझ्लान् भनेर मन बुझाउँछु,' उनले भनिन्, 'त्यस्तो बेला गाउँमा मन भारी बनाएर बसिरहन सक्दिनँ, अनि फेरि काठमाडौं आउँछु।'
'यहाँ आएपछि छोराछोरीसँग सम्पर्क टुट्छ। कसैले फेसबुकमा फोटो राखे भने बल्ल कस्ता भएछन् भनेर देख्न पाउँछु। अस्ति हेर्दा त दुब्लाएर ख्याउटे भएछन्। सासूको पारा त्यही हो, खानेकुरा सबै बाकसमा राख्छिन्। के गर्नु पहिले उनीहरूलाई पाल्न सक्छु भन्ने भइसकेको थिइनँ। अहिले उनीहरू नै पराईजस्ता भइसके,' मीराले दु:खमनाउ गरिन्।
श्रीमानको साथ भइदिएको भए पनि मीरालाई अलि ढाडस हुँदो हो। तर उनले सुनेकी छन्, 'श्रीमानको अर्कै सम्बन्ध छ।'
मीराका अनुसार, विवाह गरेको सातादिनमै उनका श्रीमान भारत गएका थिए। उनी त्यहाँ गाडी चलाउने काम गर्थे। फर्किएपछि पनि उनीहरूको सम्बन्ध राम्रो भएन। हप्तौंदिन घरबाहिर बस्ने, मोबाइलको सिम बारम्बार फेरिरहने र घर आयो कि झगडा गरिहाल्ने।
'एकपल्ट त उनले मलाई तँ मरेको भए पनि हुन्थ्यो भने,' उनले दुःखका कथा बिसाउँदै भनिन्, 'अर्की ल्याउने भएपछि बुढीको माया पनि नहुने रहेछ है?'
उनको श्रीमानको पहिले पनि अर्की श्रीमती थिइन् भन्ने मीराले बिहे गरेको धेरैपछि मात्र थाहा पाएकी थिइन्। अहिले फेरि आफूलाई नराम्रो व्यवहार गर्न थालेपछि कस्तो मान्छेसँग भाग्य जोडिएछ भनेर उनी दिक्क मान्छिन्।
त्यस्तो बेला उनी आफैंलाई सम्झाउँछिन्, 'दुःख भोग्दै संघर्ष गरेकी मान्छे हुँ, हार मान्दिनँ।'
हार मान्ने स्वभावको त उनी हुँदै होइन भन्ने एक्लो काठमाडौं बसाइले नै छर्लंग पार्छ।
मीराले २०६४ सालमा एसएलसी पास गरेकी थिइन्। घरको बाकसमा राखेको सर्टिफिकेट मुसाले धूलोपिठो बनाइदिँदा ठूलै कुरा गुमाएँ भनेर उनको मन कुँडिएको थियो। अहिले सोच्दा उनलाई लाग्छ, 'त्यसको खासै महत्व रहेनछ।'
जिन्दगीले सिकाएका पाठ उनलाई बढी महत्वको लाग्छ।
अहिले लकडाउनमा साइकल चलाउन सिक्दै, दिनकै दस-दस किलोमिटर साइकलमा ओहोरदोहोर गरेर उनी जिन्दगीको नयाँ अध्याय पढ्दै छिन्।
विगतमा काम नहुँदा रासन किन्ने पैसा नभएर उनले कति दिन चाउचाउ र बिस्कुटको भरमा काटेकी थिइन्। त्यो पनि उनको निम्ति जिन्दगी पाठशालाको एउटा कक्षा नै थियो।
'हिँडे है बहिनी। भोक र थकाइले लखतरान भइसकेँ। आधा बाटो बाँकी नै छ,' त्यसो भन्दै मीरा जडिबुटीको ओरालोमा साइकल डोर्याउन थालिन्।
'साइकल नभएको भए तपाईंसँगै आधा बाटो जानुहुन्थ्यो,' उनी मेरो स्कुटरतिर हेरेर मुस्कुराइन्, 'अलि जान्ने भएपछि म पनि छिट्टै घर पुग्छु होला है?'