कोरोना संक्रमणको पहिलो लहर झेलिसकेका सर्वसाधारणले दोस्रो लहरलाई पनि त्यत्तिकै सामान्य ठान्ने भूल गर्दा प्रदेश १ मा मृत्युदर ह्वात्तै बढेको छ।
यसबाहेक लक्षण देखिनासाथ कोरोना जाँचमा भन्दा मेलेरिया, टाइफाइडजस्ता रोगको परीक्षणमा संक्रमित व्यस्त हुने र त्यसो गरिरहँदा कडा निमोनियाले आक्रमण गरिसक्ने कारणले पनि मृत्युदर बढाएको चिकित्सकले बताएका छन्।
लगातारजसो संक्रमित थपिँदै गएको प्रदेश १ मा मृत्युदर पनि बढेको छ। कोरोनाको दोस्रो लहर सुरू भएयतामात्रै प्रदेश १ मा तीन सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्। दोस्रो लहरले मंगलबार साँझसम्म प्रदेशभरि ३ सय ३२ जनाले ज्यान गुमाइसकेका छन्। पहिलो लहरका बेलाभन्दा मृत्युदर अहिले बढेको सामाजिक विकास मन्त्रालयको तथ्यांकले पनि देखाउँछ।
प्रदेश १ मा पछिल्लो २४ घन्टामा मात्रै १४ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या प्रदेशमा ७ सय ९८ पुगेको छ। पहिलो लहरमा ४ सय ६६ जना संक्रमितको मृत्यु भएको प्रदेशमा पछिल्लो दुई सातामा मृतक संख्या धेरै थपिएको छ।
पछिल्लो २४ घन्टाको अवधिमा ज्यान गुमाउनेमध्ये विराटनगरको नोबेल मेडिकल कलेजमा ८, कोशी कोभिड-१९ उपचार केन्द्रमा २, बूढीगंगा गाउँपालिकामा रहेको विराट मेडिकल कलेजमा २, न्युरो अस्पतालमा एक र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जनाको मृत्यु भएको हो। यीमध्ये १३ जना मोरङ जिल्लाका मात्रै छन्।
विशेषज्ञ चिकित्सकका अनुसार पहिलो लहरको सामान्य भेरियन्टले कम क्षति गरेको देखे-भोगेका सर्वसाधारणले दोस्रो लहरको संक्रामक र घातक भाइरसलाई पनि उस्तै ठान्ने भूल गरे। जसले मृत्युदर बढाएको छ।
‘पहिलो लहर अहिलेको दाँजोमा धेरै सामान्य स्वरूपको थियो, त्यसैले धेरैलाई सामान्य लागेको थियो’, एक वर्षदेखि विराटनगरस्थित कोशी कोभिड अस्पतालमा कार्यरत डा. डेनप्रसाद आचार्य भन्छन्, ‘कोरोना भनेको केही होइन, सामान्य रूघामात्रै हो भन्ने भ्रम सर्वसाधारणमा फैलियो। त्यही बुझाइ नै अन्ततः घातक सावित भयो।’
उनका अनुसार पहिलो लहरमा अहिलेको जस्तो समुदाय तहमा संक्रमण थिएन। संख्या थोरै भएपछि ज्यान गुमाउने पनि त्यसबेला कमै थिए। धेरै संक्रमित त सिटामोल पनि खानु नपरी निको भए।
‘अहिलेको भेरियन्ट त्यसको दाँजोमा धेरै संक्रामक छ, घातक पनि छ’, उनले सेतोपाटीसँग भने ‘पहिलो लहरकै बुझाइ सर्वसाधारणमा रह्यो। त्यसैले धेरै हानी गरेको हो।’
अहिले संक्रमित संख्या पनि धेरै भएका कारण मृत्यु संख्या धेरै देखिएको उनको भनाइ छ। तर, समयमै उपचारमा आएका बिरामी ज्यान जोगाएर फर्कने गरेको उनले बताए।
डा.आचार्यले भनेजस्तो मान्यता सर्वसाधारणमा मात्रै थिएन, प्रधानमन्त्रीदेखि मुलुकका अन्य जिम्मेवार व्यक्तिसम्मै थियो। प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राई यसको एउटा प्रमाण हुन्। कोरोनाको दोस्रो लहर सुरू भएपछि कोशी कोभिड अस्पतालमा सञ्चारकर्मी बोलाएर उनले अस्पताल तयारी राख्न अस्पताल प्रशासनलाई निर्देशन दिइन्।
त्यस क्रममा उनले भनेकी थिइन्, ‘कोरोना सोत्तरको बाफ लिएरै पनि जित्न सकिन्छ।’
पहिलो लहरकै जस्तो सामान्य ठान्ने तालुकदार मन्त्रालयकै मन्त्रीको अनुमानविपरीत प्रदेशमा अहिले गम्भीर बिरामी धेरै छन्। मृत्युदर बढेको छ। मंगलबारसम्ममा प्रदेशमा १९ हजार ५ सय २ जना सक्रिय संक्रमित छन्।
लक्षण देखिनेबित्तिकै कोरोनाको उपचार प्रक्रियामा नजाने समस्या कुनै एक ठाउँको मात्रै होइन, देशव्यापी समस्याजस्तै भएको चिकित्सक बताउँछन्।
‘कुनै पनि मिल्दो लक्षण देखिनासाथ बिरामीले पिसिआर जाँच गराउँदैनन्’, भरतपुरका चिकित्सक डा. गोविन्द कँडेल भन्छन् ‘बिरामी मेलेरिया, टाइफाइड वा अन्य जाँचतिर लाग्छन्। त्यतिबेलासम्ममा उनीहरू कडा कोभिड निमोनियाको शिकार भइसकेका हुन्छन्। जसलाई बचाउन गाह्रो हुन्छ।’
प्रदेश १ मा पनि त्यस्तो समस्या धेरै रहेको डा.आचार्य बताउँछन्।
‘पहिलो कुरा जाँच गर्नै ढिला भएको हुन्छ, त्यसबेलासम्म बिरामीको अक्सिजन लेभल घटेर धेरै तल आइसकेको हुन्छ’, उनले थपे ‘दुबै फोक्सोमा संक्रमण भएर असर गरिसकेपछि बचाउन गाह्रो हुन्छ। अहिले ज्यान गुमाएका अधिकांशमा यही समस्या देखिएको छ।’
कोरोना संक्रमितको उपचारमा संलग्न यी दुबै चिकित्सक लक्षण देखिनासाथ जाँच गराउन, विशेषज्ञको सुझावअनुसार गाइडलाइन पछ्याउन सुझाव दिन्छन्। त्यसले जटिलता घटाउन सहयोग पुग्ने उनीहरूको भनाइ छ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार गत वैशाख २७ गतेयता मात्रै २ सय ३९ जनाको मृत्यु भएको छ। वैशाख २७ गतेसम्मको तथ्यांकअनुसार मृतकको संख्या ५५९ थियो। यो तथ्यांक गत वर्षदेखि कोरोना संक्रमणको कारण मृत्यु हुनेहरूको हो। तर, १६ दिनमै यो तथ्यांक बढेर ७ सय ९८ पुगेको छ।
गएको वैशाख २७ गते २४ घन्टामा ११ जनाले ज्यान गुमाउँदा जेठ १० गतेको २४ घन्टाको तथ्यांकअनुसार त्यसभन्दा दोब्बर बढी अर्थात् २४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। मंगलबार पनि १४ जनाले ज्यान गुमाएका छन्।
तथ्यांकले औसतमा प्रदेश १ मा मात्रै दैनिक १५ जना मानिसको मृत्यु भइरहेको छ।
मृत्युदर बढेको प्रदेशमा संक्रमित पनि दैनिक बढिरहेका छन्। यही क्रममा मंगलबार ८ सय ९७ जना संक्रमित थपिएका छन्।
मोरङमा २ सय ९५, झापामा २ सय ३०, सुनसरीमा १ सय ७८, धनकुटामा १ सय १४, उदयपुरमा २७, संखुवासभामा ११, इलाममा ९, पाँचथरमा ६, ताप्लेजुङमा ४, सोलुखुम्वु र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका २१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
हालसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय ६५ पुगेको छ। संक्रमित भएका मध्ये ३२ हजार ८ सय ५९ जना संक्रमणमुक्त भएका छन्।