कोरोना भाइरसको महामारीले मानिसको ज्यान त छाडेन नै, विविधता बोकेको नेपाली संस्कृतिलाई पनि उत्तिकै च्यापेको छ। यो महामारी नआएको भए यतिबेला गण्डकीका गुरुङ गाउँहरूमा शास्त्रीय संगीत घन्किन्थ्यो, पूरै गाउँले त्यहीँ झुम्मिएका हुन्थे।
केही बुढापाका गीति कथा गाउँथे, त्यही कथाको ताल र भाका अनुसार किशोरीहरू नाच्थे।
कोरोना महामारी रोक्न सरकारले गत वर्षदेखि नै भेला हुन रोक लगायो। अहिले त कोरोना भाइरस नै गाउँ-गाउँ पुगेको छ।
कोरोनाले मानिसले पुस्तौंदेखि मानिआएको संस्कृति छोड्न बाध्य पारेको छ। नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको घाटु नाच कोरोना भाइरसको प्रत्यक्ष मारमा परेको छ।
बुद्ध जयन्तीका दिन गण्डकीका गुरुङ गाउँहरूमा यतिबेला घाटुको रौनक हुन्थ्यो। बुद्धको जन्मदिन उनीहरूले ‘वैशाख पूर्णिमा’का रुपमा पनि मनाउँथे। जहाँ घाटु नाच सेलाउने अन्तिम दिनका रुपमा धुमधामले नाचिन्थ्यो। लमजुङको कोलासोंधर गाउँपालिका-९ टक्सारका घाटुगुरु ८४ वर्षीय चन्द्रध्वज गुरुङले कोरोनाकै कारण यस वर्ष घाटु नचाउन नसकेको बताए।
टक्सार गाउँमा गत वर्ष पनि घाटु नाचिएन। यस वर्ष नाच्ने योजना कोरोना महामारीले खाइदियो। अर्को वर्ष के हुने हो, स्वयम् घाटु गुरु चन्द्रध्वजलाई पनि थाहा छैन।
‘कोरोना छ, के हुने हो थाहा छैन,’ उनले भने, ‘घाटु एक्लै देखाउन मिल्दैन, टिमले काम गर्नुपर्छ।’
टक्सारका स्थानीय शिक्षक इमप्रसाद गुरुङका अनुसार घाटु नाच्ने नयाँ घाटुनी (किशोरी) लगातार तीन वर्ष वा पाँच वर्ष घाटु नाच्नुपर्छ। बिजोर वर्ष पुर्याएर सेलाएपछि नयाँ घाटुनीको खोजी गरेर उनीहरूलाई नाच्न सिकाउनुपर्छ।
एउटै समूहले लगातार पाँच वर्ष नाचेका कारण दुई वर्षअघि टक्सार गाउँमा घाटु सेलाएको शिक्षक गुरुङले बताए। ‘एक वर्ष आराम गरेर अर्को वर्ष नयाँ घाटुनी खोज्ने र सिकाउने भन्दा अहिले कोरोना आइलाग्यो,’ गुरुङले भने।
गण्डकीमा विशेषगरी कालिगण्डकी नदीदेखि दरौंदी नदीसम्मको भूगोलमा घाटु नाच प्रख्यात छ। यो क्षेत्रभन्दा अन्यत्र बसाइँ गएकाहरूले यहीँबाट घाटु नाच पनि लिएर गएको घाटु गुरुहरूको भनाइ छ। गुरुङ, मगर र दुरा जातिमा प्रचलित घाटु नाच सबैभन्दा धेरै त गुरुङहरूले नै देखाउँछन्। उनीहरूको संस्कृतिको अभिन्न अंग बनेको छ, घाटु।
यो नाचमा गाउँ र ठाउँ अनुसार केही भिन्नता भए पनि घाटु नाच दुई प्रकारका हुन्छन्। चन्द्रध्वजका अनुसार सति घाटु र बाह्रमासे घाटु गुरुङ गाउँमा नाचिन्छ। सति घाटुमा घाटुनीहरू बेहोस हुन्छन्, वैशाख पूर्णिमामा मात्रै नाच्छन्। बाह्रमासे घाटु भने जुनसुकै समय पनि नाच्न सकिने उनले बताए।
टक्सार गाउँमा नाचिने बाह्रमासे घाटु नाचमा घाटुनीहरू बेहोस हुन्छन्। यसलाई घाटु गुरु कुसुण्डा चढेको भन्छन्। बाह्रमासे घाटु वैशाख पूर्णिमा बाहेक अरु बेला मेला महोत्सवमा नाच्दा घाटुनी बेहोस हुने लगायतका खण्डमा पुग्दै नपुग्ने चन्द्रध्वजले बताए।
घाटु नाच श्रीपञ्चमीमा सुरू गरेर वैशाख पूर्णिमाका दिन सकिन्छ।
श्रीपञ्चमीका दिन गाउँमा सकेसम्म कुनै चोटपटक नलागेका र पाएसम्म रजश्वला नभएका किशोरी खोजिने शिक्षक गुरुङले बताए। उनीहरूलाई लिपेको घरमा केराको चोखो पातमाथि राखिन्छ र घाटु गुरुले गीत गाएर जगाउन खोज्छन्। उनीहरूलाई घाटु नाच्न कम्तीमा एक जना घाटु गुरुआमाले सिकाउँछन्।
सात वर्षअघि टक्सार गाउँमा यसरी घाटु नाच सिकाउन लाग्दा दुई जना मात्रै किशोरी सहभागी थिए। उनीहरूलाई घाटु नचढेपछि गुरुले नै उपाय लगाए, एक जना ‘सौता’ राख्नुपर्यो। यसरी तीन जना भएपछि मात्रै उनीहरूलाई घाटु चढेको शिक्षक गुरुङले बताए। गुरुहरू नाच्न बसेकी किशोरीलाई देवता चढेपछि मात्रै घाटु नाच्न सक्ने विश्वास गर्छन्।
घाटु गीतमा राजा परशुराम र रानी यम्फावतीबीचको कथा रहेको गुरु चन्द्रध्वज बताउँछन्। नाचमा राजा र रानी दुबैको भूमिका किशोरीहरूले नै निभाउँछन्। कथामा आउने जोगी, जोकर, कुकुर लगायतका पात्र अरु गाउँले हुन्छन्। टक्सार गाउँमा वैशाख पूर्णिमामा घाटु सेलाउँदा तीन दिन तीन रातसम्म घाटु नाच्ने गरेको चन्द्रध्वजले बताए।
घाटु नाच सेलाउँदा गुरु र घाटुनीसहित गाउँका पूरै घर नाच्दै गाउँदै घुम्छन्।
घाटुनी आउनुअघि नै घरबेटीले घर लिपपोत गर्छन्। घाटुनीको समूहलाई घरबेटीले नैवेधस्वरुप फलफूल दिन्छन्। त्यसपछि अर्को घरमा जान्छन्। यसरी उनीहरू गाउँभन्दा तल रहेको दोबोटोमा पुग्छन्। दोबाटोमा रहेको चौतारामा गीत गाएर घाटु सेलाइन्छ।
गीतमा नै राजा परशुरामको लडेर मृत्यु हुन्छ। उनका सानो छोरासमेत हुन्छन्। रानीले धाइआमालाई छोराको जिम्मा लगाएर सति जान्छिन्। त्यतिबेला छोराले आमालाई छोडेर नजान रुँदै बिलौना गरिरहेका हुन्छन्। देउरालीमा पुगेर सेलाएपछि मात्रै घाटुनीलाई देवताले छाड्ने अर्का घाटु गुरु उमरजंग गुरुङले बताए।
घाटु नाच्दा गीतले नै बेहोस् बनाएर ढलाउने, बेहोसीमै उठाएर माग्ने बनाउने र गीतले नै सामान्य अवस्थामा फर्काउने घाटु गुरु चन्द्रध्वजको दाबी छ। घाटु गीतमा राजा परशुराम र रानी चम्पावतिबीचको कथा रहेको घाटु गुरुहरू बताउँछन्। राजारानीको प्रेम, द्वन्द्व, शिकार खेलेको, जंगल प्रस्थान, माछा मार्ने, राजकाज लगायतका घटना गीतमा उल्लेख भएको उनले बताए।
घाटु गीतकै क्रममा बेहोस हुने र जाग्ने गरेका उनीहरू सामान्य अवस्थामा आएपछि आफूहरूले गरेको त्यस्तो व्यवहार थाहा नपाएको बताए। घाटुनी पुष्पा गुरुङले भनिन्, ‘काँसी गएर नुहाएर फर्किंदा बाटो खर्च नभएर माग्नुपरेको हो, यो त गीतमा नै छ नि,’ उनले बाटोमा अरुले जिस्काएका कारण हिर्काउनुपरेको दाबी समेत गरिन्।
यहीँ नाचिरहेको मान्छे कसरी काँसी पुग्छ? जवाफमा पुष्पाले भनिन्, ‘मान्छे मात्र यहाँ हो, आत्मा त कहाँ पुग्छ कहाँ।’
घाटु नाचेको बेला के-के गरें भन्ने आफूलाई थाहै नभएको उनले दाबी गरिन्। बाह्रमासे घाटुमा कुसुण्डा आउँदा र सति घाटुमा यसरी नै घाटुनीहरू बेहोस हुने र बेहोसीमा गीत अनुसार नृत्य देखाउने टक्सारका घाटुनी गुरुआमा मैतकुमारी गुरुङले बताइन्।
५० वर्षअघिदेखि घाटु नाचेकी मैतकुमारीले अहिले नयाँ पुस्ताका किशोरीलाई घाटु सिकाउँछिन्। घाटु सेलाएपछि मात्रै घाटुनीलाई देवताले छाड्ने भन्दै उनले त्यसपछि मात्रै छ्याङ्ङ हुने बताइन्।
कोरोना महामारीका कारण लमजुङको टक्सार मात्रै होइन, गण्डकीका अन्य गुरुङ गाउँहरूमा पनि यतिबेला घाटुको रौनक छैन। छ त केवल कोरोनाको कहर। घाटु नाच्न किशोरीहरू तयार भए पनि गीत गाउन युवाहरू अघि नसर्दा अब लोप हुने खतरामा पुगेको घाटु गुरुहरू बताउँछन्।
यसै पनि लोपोन्मुख अवस्थामा पुगेको घाटु अब लोप हुने खतरा रहेको घाटु गुरु चन्द्रध्वजले बताए। ‘अहिलेका केटाहरूले बल गर्दैनन्, सबै जागिर खान जाने भन्छन्,’ उनले भने, ‘कोही मतलब राख्दैनन्, यो गुरुङको संकृति पनि त्यस्तै हो, सबै लोप हुन्छ।’
गुरुङ गाउँमा नाचिने घाटुको रोचक रहस्यभन्दा रहस्यमयी छ, यसको कथा। आफ्नै भाषा रहेको गुरुङ जातिले नाच्ने घाटु नाचको कथा भने नेपाली भाषामा छ। उनीहरूले यो गीत गाउँदा धेरै मानिसले बुझ्दैनन्। तर, उनीहरूले नेपालीमै गाएको घाटु गुरु चन्द्रध्वज बताउँछन्। मगर र दुरा जातिले नाच्ने घाटु पनि नेपालीमै छन्।
बौद्ध-बोन धर्ममा विश्वास गर्ने गुरुङ समुदायले हिन्दु राजारानीको जीवनकथा बखान गरिएको गीत कसरी गाउन थाले? कसरी यो नाच नाच्न थाले टक्सार गाउँका यी घाटुनी र घाटु गुरुलाई थाहा छैन।
टक्सार गाउँ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको गाउँ हो। १६ औं शाताब्दीतिर कुनै राजा-महाराजाले यो गीत र नाच गुरुङ समुदायमा हुलिदिएको उनको तर्क छ।
‘विगतका राजा-महाराजाले आफ्नो बखान गर्न लगाएर हामीलाई नाच्न लगाए, अहिले आएर घाटु हाम्रो संस्कृति बन्न पुग्यो,’ उनले भने, ‘अब यसलाई जोगाउन सरकारले सहयोग गर्छ।’