पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत कोरोना संक्रमितलाई अक्सिजन अनियमित भएको छ। अस्पतालको आइसोलेसन वार्डमा उपचाररत एक संक्रमितका भाइले जानकारी दिए अनुसार बिरामीले २०–२५ मिनेट अक्सिजन लगाउन पाउँछन्, त्यसपछि आधा घण्टासम्म बिना अक्सिजन बस्नुपरेको छ।
तनहुँको खेरेनीटारबाट बुधबार राती ति संक्रमित पोखरा रिफर भएका थिए। कोरोनाको गम्भिर लक्षण देखिएका ति बिरामीलाई हाइफ्लोमा अक्सिजन दिनुपरेको उनका भाइले बताए। ‘आज साँझदेखि रेगुलर अक्सिजन पाएको छैन, डाक्टरलाई सोध्दा अरु अस्पताल लैजानु भन्छ’, संक्रमितका भाइले सेतोपाटीलाई भने, ‘यति राती कहाँ लैजानु ?’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई सरकारले कोभिड–१९ अस्पतालका रुपमा तोकेको छ। गण्डकी प्रदेशकै सबैभन्दा ठुलो यस सरकारी अस्पतालमा अहिलेसम्म आप्mनै अक्सिजन प्लान्ट छैन।
कोरोना संक्रमितको उपचारमा खटिएका अस्पतालका डा. डेभिड श्रेष्ठले अक्सिजन उद्योगबाट नै माग अनुसार अक्सिजन नपाएको बताए। उनका अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले दैनिक २४० सिलिण्डरदेखि ३५० सिलिण्डर अक्सिजन खपत भइरहेको छ।
गण्डकी प्रदेशका अन्य अस्पतालबाट समेत कोरोनाका गम्भिर बिरामी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै रिफर हुन्छन्। हाइफ्लोमा अक्सिजन दिनुपर्ने बिरामीलाई एक दिनमै ३ देखि ४ सिलिण्डर अक्सिजन चाहिने डा. श्रेष्ठले बताए। बिहिबार दिउँसो ४ बजेदेखि नै अक्सिजन माग अनुसार नपाएका कारण बिरामीलाई समस्या परेको उनको भनाई छ।
अक्सिजन अभावबारे अस्पतालले मातहतका उच्च निकाय र गण्डकी प्रदेश सरकार लगायत सबैलाई जानकारी समेत गराइसकेको अस्पतालले जनाएको छ। तत्काल अक्सिजन अभाव हुने बिरामीलाई चाहिने अक्सिजन ल्याउन कुनै पनि निकायले चासो नदिएको अस्पतालकै एक अधिकारीले बताए।
उद्योगबाट अक्सिजन उत्पादनमा कमी आउँदा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मात्र नभई पोखराका अन्य सरकारी र निजी अस्पतालका बिरामी समेत मारमा परेका छन्। पोखराका अधिकांश अस्पतालको आप्mनै अक्सिजन प्लान्ट छैन, उनीहरु पनि अक्सिजन उद्योगकै भर परेका छन्।
पोखरा औद्योगिक क्षेत्रमा अहिलो पोखरा अक्सिजन ग्याँस प्रालि र कालीगण्डकी अक्सिजन ग्याँस प्रालि गरी २ वटा अक्सिजन उद्योग छन्। यी दुई उद्योगले नै पोखरामा चाहिने अक्सिजन पुर्याएका थिए।
कोरोना महामारीका बेला यी उद्योग सरकारले लिएर चलाउनुपर्नेमा त्यसो नगर्दा अहिले समस्या आइपरेको एक निजी अस्पतालका संचालक बताउँछन्। ‘बिरामी अक्सिजन नपाएर छट्पटाएको छ, अक्सिजन सरकार अक्सिजन दिन सकेको छैन, भएकै निजी उद्योग पनि सरकारले केही समयका लागि लिएर चलाउन सक्नुपथ्र्यो, ति संचालकले भने।
अस्पतालले माग अनुसार अक्सिजन पुर्याउन नसक्नुको कारण भने दिउँसो बिजुली नहुँदा आवश्यकता अनुसार उत्पादन गर्न नसकेको कम्पनीहरुले जवाफ दिएका छन्। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका डा. श्रेष्ठले अक्सिजन मागे अनुसार नदिनुको कारण सोध्दा उत्पादन नै हुन नसकेको जवाफ पाएको बताए।
‘अक्सिजन माग अनुसार नआएपछि हामीले मान्छे पठाएर सोधेका थियौं, बिजुली नभएर उत्पादन गर्न सकेनौं भनेर जवाफ आयो’, डा. श्रेष्ठले भने, ‘बिरामी तड्पिराखेको छ, हामीले के भनेर बिरामीलाई भन्ने निकै दुखद अवस्थामा छौं।’ अक्सिजनकै अभावका कारण धेरै संक्रमितको ज्यान जाने खतरा देखिएको उनले बताए।
यता, पोखरा अक्सिजनका निर्देशक बिनोद कायस्थले अक्सिजन उद्योगबाट किन आवश्यक परिमाणमा अक्सिजन उत्पादन हुन सकेन भन्नेबारे अहिले भन्न नसक्ने बताए। यसबारे आफुले कम्पनीमा जानकारी लिन खोजिरहेको तर सम्पर्क हुन नसकेको प्रतिक्रिया दिए।
यता, नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका प्रमुख ऋषिकुमार बर्नालले बिजुलीका कारण अक्सिजन उत्पादन रोक्नुपर्ने अवस्था नरहेको बताए। बिहिबार बिहान ११ बजेर ४३ मिनेटमा सिस्टमबाट बिजुली गएको र ११ बजेर ५७ मिनेटमा आएको उनले बताए।
‘हाम्रो सिस्टम १४ मिनेटका लागि मात्र गएको हो, यति समय बिजुली नहुँदा सर्टेज हुने गरी अक्सिजन उत्पादन नरोकिनुपर्ने हो’, बर्नालले सेतोपाटीलाई भने, ‘कम्पनीले बिजुली नभएर अक्सिजन उत्पादन गर्न सकेनौं भन्छ भने त्यो सरासर झुटो हो।’
अक्सिजन उद्योगमा नियमित बिजुली दिन प्राधिकरण प्रतिवद्ध रहेको भन्दै उनले औद्योगिक क्षेत्रमा छुट्टै लाइन मार्फत बिजुली पुर्याएको बताए।