तनहुँ, भानुकी २५ वर्षीया गर्भवतीलाई गत शुक्रबार दिउँसोदेखि नै सुत्केरी व्यथा लागेको थियो।
श्रीमान र उनका भाञ्जाले त्यही दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याएका थिए। अस्पतालमा पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट कोरोना पोजेटिभ आयो।
व्यथाले नछाडेका कारण चिकित्सकले त्यही रात अपरेसन गरेर सुत्केरी गराए। आफन्तले नवजात शिशुलाई घर लगे।
सुत्केरी आमालाई आइसोलेसनमा राखियो। आइसोलेसन बस्दा डाक्टरले उनलाई हाइफ्लो अक्सिजन दिइरहेको थियो।
सुत्केरीका भाञ्जाका अनुसार जन्मिएको ४४ घण्टापछि नवजात शिशुको पनि पिसिआर परीक्षण गरियो। शिशुको रिपोर्ट भने नेगेटिभ आयो।
उनका अनुसार अहिले पनि बच्चाको स्वास्थ्य राम्रो छ। आमासँग राख्न नमिलेका कारण पाउडर दूध खुवाएर राखेको भाञ्जाले बताए।
‘बच्चा अहिले हामीसँगै अस्पतालमा छ, आमाको दूध खुवाउन पाइएन, पाउडर दूध खुवाएर राखेका छौं,’ उनले भने।
उता, सुत्केरी आमालाई भने श्वास फेर्न गाह्रो हुँदै गइराखेको थियो।
अस्पतालले अचानक बिहीबार रातीदेखि अक्सिजनको अभाव भएको जानकारी बिरामी र तिनका आफन्तलाई दियो।
‘पहिल्यै भनेको भए हामी जसरी पनि खोज्थ्यौं होला, राति अक्सिजन भएन भनेर डाक्टर-नर्सले भने,’ भाञ्जाले भने।
सुत्केरीका भाञ्जा र अरू कुरुवा राति १० बजेतिर नजिकै रहेको पोखरा औद्योगिक क्षेत्र पुगे।
पोखरा अक्सिजन र कालीगण्डकी अक्सिजन उद्योग गए। त्यहाँ पुगेर बुझ्दा उद्योगका कर्मचारीले अस्पतालमा नियमित अक्सिजन पठाएको बतायो। यता, हाइफ्लोमा अक्सिजन दिनु परेका बिरामीले भने अक्सिजन पाएका थिएनन्।
अस्पतालमा अक्सिजन नपाइएपछि सुत्केरीका आफन्तले अक्सिजन खोज्न बाहिर हारगुहार गरे। आफन्त र चिने/जानेकाहरू सबैलाई अक्सिजनको व्यवस्था गरिदिन बिन्ती बिसाए। तर कहीं पनि अक्सिजन पाएनन्।
अक्सिजन खोज्दै जाँदा सुत्केरीका भाञ्जाले साथीहरूमार्फत् हिमाल आरोहण गर्दा प्रयोग गरिने अक्सिजन सिलिन्डर खोज्न थाले।
आरोहीले बोक्ने सानो सिलिन्डर भए पनि एकछिन श्वास फेर्न पुग्छ भनेर संक्रमितका भाञ्जाले साथीहरूलाई लिन पठाए।
अक्सिजन नपाएर जीवन-मरणको दोसाँधमा पुगेकी सुत्केरीले अन्ततः राति साढे १० बजे अन्तिम श्वास फेरिन्।
आरोहीले बोक्ने सिलिन्डर लिन गएका साथीहरूलाई सुत्केरीको भाञ्जाले रित्तै फर्किन भने।
सुत्केरीको ज्यान गएको १५ मिनेटपछि पोखरा अक्सिजन उद्योगबाट भरिएका अक्सिजन सिलिन्डर आयो।
‘अक्सिजन आउन १५ मिनेट ढिलो हुँदा माइजुको ज्यान गयो,’ भाञ्जाले गला अवरूद्ध पारे। सुत्केरीका श्रीमान भने बोल्न सक्ने अवस्थामा छैनन्।
यसरी अक्सिजन नपाएकै कारण सुत्केरी आमाले नवजात सन्तानलाई दूध खुवाउन नपाई मृत्युवरण गर्नु परेको छ। अक्सिजन अभाव भएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मात्रै गएराति सुत्केरीसहित सात जनाले ज्यान गुमाए। यसरी ज्यान गुमाउनेमा तनहुँका तीन जना, पोखरा, स्याङ्जा, पर्वत र म्याग्दीका एक-एक जना बिरामी रहेको कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर शरदचन्द्र बरालले बताए।
हाइफ्लोमा अक्सिजन दिनुपर्ने बिरामीलाई पाँच मिनेटमात्रै अक्सिजनको मात्रा कम हुँदा बिरामीलाई संकट पर्ने उनले बताए। हाइफ्लोमा अक्सिजन दिँदा बिरामीलाई प्रतिमिनेट ६० देखि ८० लिटर अक्सिजन खपत हुने डाक्टर बरालले बताए।
अस्पतालका अक्सिजन फोकल पर्सन बिमल बरालले अक्सिजन उद्योगबाट उत्पादन कम भएका कारण पर्याप्त अक्सिजन नपाएको बताए। ‘हाम्रो माग भन्दा कम अक्सिजन उत्पादन भएछ, उद्योगमा हिजो केहीबेर लाइन गएछ,’ उनले भने, ‘त्यही भएर हामीले माग गरे जति अक्सिजन पाइएन।’ उनका अनुसार अस्पालमा अझै पनि अक्सिजनको अभाव भइरहेको छ।
अक्षम्य लापारबाही
गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आफ्नै अक्सिजिन प्लान्ट छैन। अस्पतालले पोखरा अक्सिजन ग्यास उद्योगबाट अक्सिजन खपत गर्छ। सरकारले देशभरका विभिन्न अस्पतालमा तत्काल अक्सिजन प्लान्ट राख्न बजेटसहित समयसीमा तोकेको थियो।
सरकारको उक्त प्राथमिकतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको यस अस्पताल परेन। अस्पतालले अहिले पनि पोखरा अक्सिजन ग्यास उद्योगबाट अक्सिजन खरिद गरिरहेको छ।
गण्डकी प्रदेशकै सबैभन्दा ठूलो यस सरकारी अस्पतालमा अक्सिजन प्लान्ट राख्ने योजना भने गत वर्ष नै ठेक्का सम्झौता भएको थियो। सहरी विकास तथा भवन निर्माण विभाग, संघीय योजना कार्यान्वयन इकाइले अस्पतालको रेट्रोफिटिङको काम गर्न गत असार २९ गते ठेक्का सम्झौता गरेको थियो।
ठेकेदार कम्पनी बिकोइ, रौताहा, पिके जेभीसँग ५४ करोड लागतमा गरेको उक्त सम्झौतामा अस्पतालमा अक्सिजन प्लान्ट राख्नेसमेत योजना छ।
महामारीकैबीच उक्त सम्झौता भए पनि अहिलेसम्म अक्सिजन प्लान्टको काम सुरू समेत भएको छैन। उक्त योजनामा आर्थिक तथा प्राविधिक सहयोग डिएफआइडी र नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रमले गरेका छन्।
सम्झौताअनुसार २०७९ असार २८ गतेसम्म छ। महामारीकै बेला सम्झौता भए पनि अस्पताल प्रशासनले भने ठेकेदार कम्पनीलाई अहिलेसम्म अक्सिजन प्लान्ट छिटो बनाउन भनेका छैनन्। उल्टै अक्सिजन प्लान्ट बनाउने कार्यतालिका योजनाको अन्तिममा गर्ने भनेका छन्।
संघीय सरकारमातहत रहेको यस अस्पतालले बिरामीको ज्यान जाने गरी गरेको लापारबाहीमा सरकारले आँखा चिम्लेको छ। अस्पालले पाँच सय बेडको अनुमति लिएर अहिले ३५० बेड चलाएको छ।
सरकारले कोरोना विशेष अस्पताल भने पनि अस्पताल प्रशासनले भने ७५ बेड मात्रै कोरोना संक्रमितको उपचारमा छुट्याएको छ। ७५ बेड भन्दाबढी बिरामी आउँदा अस्पतालले बेड नभएको भन्दै संक्रमितलाई फर्काइदिने गरेको छ।
संक्रमितका लागि बनाएको आइसोलेसन पनि गण्डकी प्रदेश सरकारले दिएको आर्थिक सहयोगमा बनाएको हो।