वीरेन्द्रनगर-४ सुर्खेतका कुलबहादुर रानाले एम्बुलेन्स चलाउन थालेको ६ वर्ष भयो। यो बीचमा उनले कति बिरामी बोके भन्ने हिसाब छैन। उनले बोकेर अस्पताल पुर्याएका कति बिरामी निको भएर घर फर्किए होलान्, कतिपय त्यतिमै सीमित भएका होलान्। त्यो उनले हिसाब राख्ने कुरा पनि भएन।
वर्षौंदेखि बिरामी बोक्ने काम गरेका कुलबहादुरलाई दुई सिजन भने परिवारसँग नछोइएरै दिन बिताउनुपरेको छ। पहिलो चरणमा फैलिएको कोभिड महामारीका बेला र अहिलेको यो महामारीको बेला उनी परिवारदेखि अलग बसेका छन्।
‘कामै कोभिडका बिरामी बोक्ने हो, नडराएर पनि भएन,’ उनी भन्छन्, ‘घरमा परिवार पनि डराउनुहुन्छ, त्यसैले म कोभिडको बिरामी बोक्ने यो समयमा छुट्टै बसेको छु।’
उनको घरको बाहिरपट्टि एउटा कोठा बनाइएको छ। उनको बास त्यहीँ हुन्छ। खाना खाने भाँडाकुडादेखि ओढ्ने-ओछ्याउने सबै छुट्टै छन्।
जहिलेसम्म कोरोनाको महामारी रहन्छ तबसम्म उनको दैनिकी यसरी नै बित्नेछ। कोभिडका बेला यो स्वभाविकै भएको उनी बताउँछन्।
उनले यो वर्षको वैशाख यतामात्र ५० जना भन्दा बढी कोभिडका बिरामी बोकिसके। यो बीचमा उनले आफ्नो नाफालाई भने दिमागमा लिएनन्। बरू बिरामीलाई सहज रूपमा अस्पताल पुर्याउन सकियोस् र उनीहरूको ज्यान बचोस् भन्ने उनको दिमागमा आइरहन्छ।
एक जना कोभिडका बिरामीलाई त उनले नि:शुल्क अस्पताल पुर्याइदिएका छन्। बिरामीका आफन्तसँग पैसा नभएपछि २ हजार ५०० रुपैयाँ भाडा छोड्नु परेको रानाले बताए।
‘अहिले फैलिएको कोभिड-१९ साह्रै अप्ठेरो रहेछ, अस्पतालमा दिनदिनै मरेको खबर आउँछ,’ रानाले भने, ‘यो बेला त बिरामी बोक्न जाँदा आफूले पाउने नाफाको कुरा दिमागमै आउँदैन, बरू बिरामीलाई छिटो अस्पताल पुर्याएर उसको ज्यान बचोस् भन्ने दिमागमा आइरहन्छ।’
अस्पतालमा स्वास्थ्यकर्मी-सफाइकर्मीले कोभिडको जोखिमका बीच पनि दिनरात खटिएर आफ्नो दायित्व निर्वाह गरिरहेका छन्। तिनै स्वास्थ्यकर्मी र सर-सफाइकर्मीको जस्तै दायित्व आफ्नो पनि भएको उनी ठान्छन्।
कोभिडका बिरामी बोक्दा डर त लाग्छ नै। तर पनि आफ्नो दायित्वबाट पछि हट्नु हुँदैन भन्ने उनलाई लागेको छ।
कोरोनाका बेला स्वास्थ्यकर्मीजस्तै उनी पनि फ्रन्टलाइनमा खटिएका व्यक्तिमध्येमा पर्छन्। दैनिक बिरामीको संख्या बढ्यो, मृत्युदर धेरै भयो भन्ने खालका समाचार सुन्दा कुलबहादुरको पनि मन आत्तिन्छ।
‘दैनिक मानिसको मृत्यु भएको भन्ने खबर पाउँदा मन आत्तिन्छ, कोरोनाका बिरामी आज कम फेला परे भन्ने खबर आयो भने मनमनै खुसी लाग्छ,’ उनले भने।
स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकले राति र दिउँसो भन्ने कुरा पनि भएन। जतिबेला बिरामीलाई उनीहरू आवश्यक पर्छ त्यतिबेलै सेवा दिन तयार हुनुपर्यो। कुलबहादुर दिनभर आफ्नो एम्बुलेन्ससँग कर्णाली प्रदेश अस्पतालमा हुन्छन्।
राति सुत्ने बेलामा उनले मोबाइलको आवाज ठूलो बनाएर सुत्छन्। किनकी कोहीले एम्बुलेन्स चाहियो भनेर फोन गरे जति गहिरो निद्रामा भए पनि थाह होस्।
‘मध्यरातमा कसैलाई एम्बुलेन्स आवश्यक परिहाल्यो र मेरो विकल्प भएन भने मेरै कारणले उसको ज्यान जान दिनु त भएन नि,’ उनले भने।
सुगम मानिएका वीरेन्द्रनगर आसपासदेखि दुर्गमसम्म पुगेर यो बीचमा उनले कोभिडका बिरामी बोकिसकेका छन्। अरूलाई समयमै उद्धार गर्न पाउँदा छुट्टै आनन्द महशुस हुने गरेको रानाले बताए।
उनले बिरामीलाई सेवा गर्दा खुसी र दु:खी दुबै बनाउने घटना भएका छन्।
वीरेन्द्रनगरकै एक जना कोभिडका बिरामीलाई बेलुकापख आफ्नो एम्बुलेन्समा कर्णाली प्रदेश अस्पताल पुर्याए। छट्पटिँदै अस्पताल पुगेका ती बिरामीको पाँच दिनमा मृत्यु भयो।
उनले नै अस्पताल पुर्याएका अरू पनि केही बिरामीको मृत्यु भएको छ। मृत्युको घटनाले उनलाई दु:खी बनाउँछ।
उनले नेवारेबाट बोकेर ल्याएका एकजना संक्रमितको त अस्पताल पुर्याउनेबित्तिकै मृत्यु भयो।
कुलबहादुरलाई खुसी बनाउने समय त्यतिबेला आउँछ– जतिबेला उनले डिस्चार्ज भएका मानिसलाई घर पुर्याउछन्, जो मानिस उनकै एम्बुलेन्समा अस्पताल आएको हुन्छन्।
‘कतिपय मैले अस्पताल पुर्याएका बिरामीलाई डिस्चार्जपछि पनि मैले नै घर पुर्याउने मौका पाएको छु, त्यस्ता मौका मलाई खुसी बनाउँछन्,’ उनले भने।
कुलबहादुरको चाहना पनि सबैले कोरोनाविरूद्धको खोप र औषधि समयमै पाओस् भन्ने छ। छिमेकी राष्ट्र वा तेस्रो मुलुकबाट ल्याइएका स्वास्थ्य सामग्रीमा कतै घोटाला नहोस् र नागरिकले सहज रूपमा ती सामग्री उपभोग गर्न पाओस् भन्ने उनको चाहना छ।
उनी भन्छन्, ‘पछिल्लो समय कोभिडका बिरामी घटेको र डिस्चार्ज हुने बढेको समाचार सुन्न पाइन्छ, यसले मनमा खुसी थपेको छ।’