पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले शुक्रबार साँझ विज्ञप्ति निकालेर भने- अक्सिजन अभावका कारण बिरामीको मृत्यु भएको होइन।
कोरोना संक्रमितको उपचारमा अस्पताल अनवरत् खटिरहेको भन्दै उनले अगाडि भनेका छन्, ‘हिजो बिहान केही समय अक्सिजन प्लान्टमा विद्युत आपूर्तिमा समस्या भई केही समय अक्सिजनको उत्पादन प्रभावित हुँदा पर्याप्त मात्रामा अक्सिजनको आपूर्ति हुन नसकेको तर पनि वार्डहरूमा हुने आपूर्ति नरोकिएको व्यहोरा समेत स्पष्ट पार्न चाहन्छौं।’
अस्पतालका अनुसार बिहीबार दिउँसो ४ बजेदेखि अस्पतालमा अक्सिजन अभाव भएको थियो। अक्सिजन अभावकै कारण उक्त अस्पतालमा उपचाररत एक सुत्केरी महिलासहित ८ जना संक्रमितको मृत्यु भएको थियो।
निर्देशक डा. खत्रीले निकालेको विज्ञप्तिमा उक्त मृत्यु बिहिबार दिउँसोदेखि शुक्रबार विहानसम्म मृत्यु भएको उल्लेख गरेका छन्।
निर्देशक खत्रीले विज्ञप्तिमार्फत् गरेका उक्त दाबीहरू संक्रमितका कुरुवा र मृतकका आफन्तको गए राति अक्सिजनका लागि गरेको संघर्षले नै खारेज गरेको छ।
अस्पतालले अक्सिजन खरिद सम्झौताता गरेको पोखरा अक्सिजन ग्यास प्रालिबाट उपलब्ध भएको अक्सिजन र र अक्सिजन नपाएर मृत्यु भएको समयले पनि उनले विज्ञप्तिमा गरेका दाबीलाई झुटो करार गरेको छ।
अस्पतालका एक कर्मचारीलाई सेतोपाटीलाई उपलब्ध गराएको विवरण अनुसार अक्सिजन अभावका कारण पहिलो संक्रमितको मृत्यु बिहीबार बेलुका ५ बजेर ५५ मिनेट जाँदा भएको थियो।
यस्तै, राति १२ बजे र बिहान ६ बजेसम्म अक्सिजन अभावकै कारण ७ जनाको मृत्यु भइसकेको थियो।
अर्का एक संक्रमितको भने शुक्रबार दिउँसो मृत्यु भएको थियो। अस्पतालमा बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म पोखरा अक्सिजनले उपलब्ध गराएको अक्सिजनको मात्राले पनि निर्देशक डा. खत्रीको दाबीलाई झुटो भन्छ।
अस्पतालका अर्का कर्मचारीले उपलब्ध गराएको विवरण अनुसार अस्पतालको मेडिकल आइसोलेसन वार्डमा शुक्रबार राति ७ बजेर ४५ मिनेट जाँदा जम्मा ७ सिलिण्डर अक्सिजन प्राप्त भएको थियो।
यस्तै, राति १० बजे ७ वटा, ११ बजे ७ वटा, १२ बजे ८ वटा, २ बजे ८ वटा, ३ बजे ४ वटा सिलिण्डर अक्सिजन पाएको थियो।
शुक्रबार बिहान ८ बजे १५ वटा र साढे ९ बजे ८ वटा अक्सिजन सिलिण्डर मेडिकल आइसोलेसन वार्डले जनाएको छ। जबकि, उक्त वार्डमा कम्तिमा प्रतिघण्टा ९ सिलिण्डर अक्सिजन आवश्यक परेको छ।
अक्सिजन सिलिण्डर पाएको समय एक घण्टा भन्दा बढी समय फरक पर्दा बिरामीले त्यति नै समय अक्सिजन बिना नै बस्नुपरेको ती कर्मचारीले बताए।
मेडिकल आइसोलेसन वार्डमा उक्त परिमाणमा पुगेको अक्सिजन अन्यत्र पनि बाँड्नु परेको थियो।
कोरोना संक्रमित भएर अक्सिजन लगाएर बसेका बिरामीलाई मात्र अपुग भएको उक्त परिमाणको अक्सिजन अस्पतालको आकस्मिक कक्ष, आइसियू र अपरेशन कक्षमा समेत बाँड्नुपर्दा गम्भीर प्रकृतिका संक्रमित घण्टौंसम्म अक्सिजन बिना नै रात काट्नु परेको थियो।
अस्पतालका निर्देशक डा. खत्रीले संक्रमितलाई निरन्तर अक्सिजन दिएको दाबी संक्रमित र मृतकका आफन्तले समेत झुटो बताएका छन्।
अक्सिजन नपाएकै कारण बिहीबार राति ज्यान गुमाउन पुगेका २५ वर्षीय सुत्केरी महिलाका भाञ्जा राति १० बजे अक्सिजन खोज्न पोखरा अक्सिजन र कालीगण्डकी अक्सिजन उद्योग पुगेका थिए।
अक्सिजनका लागि हारगुहार गर्दा उनले कहीँकतै अक्सिजन पाएनन्। अन्तिममा उनकै साथीले हिमाल आरोहण गर्दा प्रयोग गरिने अक्सिजन सिलिण्डर लिन गएका थिए।
त्यही बेला ती सुत्केरी महिलाको मृत्यु भएको उनका भाञ्जाले बताए। ‘अक्सिजन नपाएर रातभरि भौंतारिनुपर्यो,’ उनले सेतोपाटीलाई भने, ‘माइजुको ज्यान गएको १५ मिनेटपछि अक्सिजन आएको थियो, १५ मिनेट ढिलो हुँदा मेरो माइजु बित्नुभयो।’
अक्सिजन नपाउँदा शुक्रबार रातभरि बिरामी र कुरुवाको रुवाबासी चलेको थियो। आइसोलेसनभित्रबाट उनीहरूको चित्कारले उपचारमा बसेका स्वास्थ्यकर्मीसमेत तनावमा थिए।
‘आइसोलेसनभित्रबाट बिरामीका मान्छेले सिसा र ढोका ढकढकाएर अक्सिजन मागिराखेका थिए,’ अस्पतालमा खटिएकी एक नर्सले भनिन्, ‘हामीले कहाँबाट ल्याएर अक्सिजन दिनु? रातभरि तनाव थियो।’
अक्सिजन नपाएकै कारण बिरामी र तिनका आफन्तबाट कुनै घटना नहोस् भनेर सुरक्षाका लागि राति नै प्रहरीलाई खबर गरेको ती नर्सले बताइन्।
गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिलेसम्म अक्सिजन प्लान्ट छैन। संघीय सरकार मातहत रहेको यस अस्पतालमा एक वर्षअघि कोरोना महामारीकै बेला अक्सिजन प्लान्ट बनाउन ठेक्का सम्झौता भएको थियो।
बिहीबार दिउँसो ४ बजेदेखि अक्सिजन अभाव हुनुमा उद्योगले बिजुली गएको कारण देखाएको छ।
नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रले भने यसको खण्डन गरेको छ। प्राधिकरणका प्रमुख ऋषिकुमार बर्नालले बिहीबार बिहान ११ बजेर ४३ मिनेटमा सिस्टमबाटै बिजुली गएको र ११ बजेर ५७ मिनेट जाँदा आएको बताए।
अक्सिजन उद्योग रहेको पोखरा औद्योगिक क्षेत्रमा छुट्टै लाइनबाट बिजुली दिएकाले पोखराका अन्य ठाउँमा जस्तो लाइन जाने आउने समस्या त्यहाँ नरहेको बर्नालले बताए। ‘हाम्रो सिस्टमबाट १४ मिनेट मात्र बिजुली गएको हो, यति थोरै समय लाइन जाँदा अक्सिजनकै अभाव हुने गरी उत्पादन बिथोलिँदैन,’ उनले सेतोपाटीलाई भने, ‘यसको सम्पूर्ण जवाफदेही म लिन तयार छु।’
अस्पतालका संक्रमितले ज्यान गुमाउने गरी अक्सिजन उत्पादन नै कम भएको स्वीकार गर्न अस्पतालकै डाक्टरहरू तयार छैनन्।
‘यताबाट गएको सिलिण्डर भरेर आउनुपर्नेमा घट्दै आएको छ,’ ती डाक्टरले भने, ‘बिहीबार बिहान बिजुली गएको छ, बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म त बिजुली थिएन नि, किन माग अनुसार आएन?’
अक्सिजन उद्योगले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई आवश्यक अक्सिजन उपलब्ध नगराई अन्यत्र दिएका कारण संक्रमितको ज्यान जाने गरी अक्सिजन अभाव भएको उनको दाबी छ।
अस्पतालले उद्योगबाट प्रति सिलिण्डर १४९ रुपैयाँमा खरिद गर्ने सम्झौता गरेको छ।
कोरोना महामारीका कारण अक्सिजनको अभाव भएकाले अहिले अक्सिजनको मूल्य बढेको छ।
‘हामीलाई दिँदा डेढ सय रुपैयाँमा दिनुपर्यो, अन्त बेच्दा प्रतिसिलिण्डर ५, ७ सय रुपैयाँमा बेचेका छन्, त्यही भएर हामीलाई नदिएका हुन्,’ ती डाक्टरले भने।
अक्सिजन अभावका कारण मानिसको ज्यान जाने घटना हुँदासमेत सरकारले कुनै वास्ता नगरेको भन्दै सोही अस्पतालमा कार्यरत् एक वरिष्ठ डाक्टरले छानविन हुनुपर्ने बताए।
‘अचानक अक्सिजन अभाव गराउनु भनेको ‘ह्युमन क्राइम’ हो, विकसित देशमा हुन्थ्यो भने यति यस्तो हुँदा अस्पतालका निर्देशक, प्रतिष्ठानका कुलपतिदेखि स्वास्थ्यमन्त्रीले राजीनामा दिइसकेका हुन्थे,’ ती डाक्टरले भने।
शुक्रबार दिउँसोदेखि भने आवश्यक मात्रामा अक्सिजन प्राप्त भएको अस्पतालले जनाएको छ।