काठमाडौंको कालिमाटीमा एक महिलाको हत्या भएको छ।
गत शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर १३ कालिमाटी निलबराहीस्थित एक घरमा महिलाको घाँटी रेटेर हत्या भएको हो।
हत्या आरोपमा प्रहरीले मृतकका श्रीमानलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए।
पक्राउ पर्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय अजय भन्ने नानिबाबु श्रेष्ठ हुन्।
अजयले गत शुक्रबार राति साढे नौ बजे २१ वर्षीया कुसुम पहरी श्रेष्ठको हत्या गरेको आरोप छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक (डिएसपी) अपिल बोहराका अनुसार राति चक्कु प्रहारपछि कुसुम गम्भीर घाइते भएकी थिइन्। कुसुममाथि अजयले सिसाका ग्लासले समेत हिर्काएका थिए।
घाइते कुसुमको उपचारको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लैजाँदा चिकित्सकहरूले मृत घोषणा गरेको डिएसपी बोहराले बताए। राति पौने १० बजे नै कुसुमको मृत्यु भएको थियो।
घटनालगत्तै प्रहरीले अजयलाई नियन्त्रणमा लिएको थियो। करिब ४-५ वर्षदेखि अजय कालिमाटी तरकारी बजारमा होलसेल तरकारी व्यापार गर्थे।
'उनीहरूको विवाह भएको ९ महिना जति भयो। तर विवाह भएको केही समयदेखि नै उनीहरूको झगडा भइराख्ने रहेछ,' डिएसपी बोहराले भने,'झगडा हुँदा श्रीमती रिसाएर माइती पनि गएकी रहेछन्।'
अजयले गत बिहीबारमात्रै श्रीमती कुसुमलाई सिन्धुपाल्चोकस्थित माइतीबाट कालिमाटी ल्याएका थिए। अजयले श्रीमतीलाई माइतीबाट राम्ररी राख्छु भनेर ल्याएको डिएसपी बोहराले बताए।
त्यसैको भोलिपल्ट राति फेरि झगडा भएपछि कुसुमको हत्या भएको हो। प्रहरीले यस घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
पक्राउ परेका अजयमाथि अनुसन्धान गर्न आइतबार जिल्ला अदालत काठमाडौंबाट म्याद थप गर्दैछ।