नेपाल चिकित्सक संघले सात दिन भित्रमा देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति हुने कानुन ल्याउन माग गरेको छ।
गत बिहीबार राति भेरी अस्पतालमा स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि कुटपिट गर्नेमाथि कडा कारबाही गर्न भन्दै सात दिन भित्रमा कानुन ल्याउन माग गरेको हो। आइतबार संघले विज्ञप्ति जारी गर्दै अध्यादेशमार्फत कानुन ल्याउन सुझाव दिएको हो।
सात दिनभित्र कानुन बन्ने परिस्थिति नबने संघले कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ।
संघले भेरी अस्पतालमा भएको घटनाको विरोधमा जेठ १३ गतेलाई कालो दिन भनेर घोषणा गरेको छ। कुटपिटमा संलग्नहरूमाथि कडा कारबाहीको माग गर्दै शुक्रबार अस्पताल परिसरमा प्रदर्शन भएको थियो भने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले कालोपट्टी बाँधेर काम गरेका थिए।
विराट मेडिकल कलेज विराटनगरमा भएको घटना सेलाउन नपाउँदै भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको थियो। त्यसकारण चिकित्सा क्षेत्र नै असुरक्षित भएको संघले बताएको छ।
'यस्ता सबै घटनाका दोषीमाथि चैत २२ गतेको मन्त्रिपरिषद निर्णयअनुसार उपचारमा अवरोध पुर्याउने, ड्युटीमा खटिएका सुरक्षाकर्मीको कार्यसम्पादनमा बाधा अवरोध गर्नेलाई हुने सरहको प्रचलित कानून बमोजिमको कारबाही गर्न र सोही निर्णयअनुसार पनि यस्ता अपराधिक क्रियाकलापलाई नन बेलेबल अफेन्स (धरौटीमा छोड्न नमिल्ने) को रूपमा लिई संलग्न व्यक्तिमाथि तत्काल कारबाही गर्न अध्यादेशमार्फत् यथाशीघ्र कानुन बनाई सुरक्षाको सुनिश्चित गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ,'विज्ञप्तिमा भनिएको छ।