कर्णाली प्रदेश अस्पतालको सर्जरी वार्ड, बेड नम्बर ९।
धौ-धौ आफ्नो शरीर धान्दै बेडमा बसेर ‘हटकेस’मा भएको भात खाँदै गरेकी २२ वर्षकी एक युवती। सुरूमा देख्नेहरूलाई लाग्छ उनी युवती होइनन्, त्यस्तै ९-१० उमेरकी बालिका हुन्।
निलो शरीर। मानौं शरीरबाट मासुजति सबै निकालेर हड्डी छोप्न छाला छोडिएको छ। हलचल गर्न नशाहरूलाई सक्रिय हुन दिइएको छ। औंलाका टुप्पाहरू सुकेका सिन्काजस्तै भइसके शरीरमा रगत नभएर।
ऋतु खत्री बाठाले २०७७ फागुन यताका दिनहरू यस्तै कष्टका साथ बिताउनु परेको छ।
ऋतुले बीच-बीचमा कुरुवा बसेकी आफ्नी आमाको मोबाइल माग्छिन्। त्यसको फ्रन्ट क्यामरा खोलेर आफ्नो अनुहारदेखि शरीरसम्म हेर्छिन्। बिरामी हुनुअघि धपक्क बलेको आफ्नो रुपसहितको फोटो र अहिलेको यो हालतमा खिचिएको फोटो हेर्छिन्।
पहिलेको रुप र अहिलेको अवस्थालाई तुलना गर्दा उनको आँशु थामिँदैन।
ऋतुलाई निको भएर अस्पतालबाट घर फर्किनु छ। यति मात्र होइन, निको भएर आफ्नो पुरानै सुन्दरतामा पनि फर्किनु छ।
सुर्खेतको वीरेन्द्रनगर-२ माइती घर भएकी ऋतुको विवाह बाँकेको कोहलपुर भएको छ। १७ वर्षको उमेरमा विवाह गरेकी उनले १८ वर्षकी हुँदा छोरा जन्माइन्। अहिले उनका छोरा चार वर्षका भए।
केही वर्ष राम्रैसँग घरबार चलेको थियो। केही महिनाअघि ऋतुको मानसिक सन्तुलन केही बिग्रियो। अवस्था भने सामान्य थियो।
छिटो बिर्सिने, मनमा लागेको सबै कुरा बोल्दिने जस्ता क्रियाकलाप मानसिक समस्याका कारण उनले गर्थिन्।
घरका मान्छेले सम्हाल्न सकेनौं भनेर माइतीमा ल्याएर छोडिदिए। उनी विस्तारै दुब्लाउँदै गइन्। शारीरिक अवस्था नाजुक बन्दै गएपछि ऋतुकी आमा सुनिता खत्रीले अस्पताल लैजाने निधो गरिन्।
सुरूमा उनले सुर्खेतमा रहेको निजी अस्पाल ‘सुर्खेत हस्पिटल प्रा.लि.’मा छोरीलाई भर्ना गरिन्। अस्पतालले एपेन्डिसेस भएको बतायो। अपरेसन खर्च ४० हजार रुपैयाँ लाग्ने बतायो। त्यति छिटो पैसा जुटाउन सुनिताले नसक्ने भइन्।
‘मसँग ३० हजार थियो, त्यो अरुमै सकिइसकेको थियो। अपरेसन चार्ज मात्र ४० हजार लाग्छ भनेपछि मैले म तिर्न सक्दिनँ यो खर्च अरु के उपाय छ भनेर सोधेँ,’ सुनिताले भनिन्, ‘त्यहाँबाट प्रदेश अस्पताल लैजानु त्यहाँ सस्तो पर्छ भनेर भन्नुभयो, मैले छोरीलाई त्यहाँ लगेँ।’
प्रदेश अस्पतालमा ल्याइसकेपछि पनि अपरेसन हुन सकेन। ऋतुलाई दुई दिनसम्म इमरजेन्सीमा राखेर पछि मात्र बेड भर्ना गरियो। शरीरमा ६ पिन्ट मात्र रगत थियो। त्यति मात्र रगत भएको शरीरमा शल्यक्रिया गर्न मिल्दैनथ्यो।
ऋतुको रगत ‘एबी नेगेटिभ’ हो। अस्पताल भर्ना भएको तीन दिनपछि एक पिन्ट रगत पाइयो। त्यो दिइयो। तर पनि अपरेसन गर्नलाई पुगेन।
सुनिताले आफ्नी छोरीको अपरेसन सुर्खेतमै सफल बनाउन कैयौं प्रयास गरिन्। ब्लड बैंकले दिएका कुनै पनि नम्बरमा फोन गर्न छुटाइनन्। त्यति गर्दा पनि रगत नपाएपछि सुनिताले छोरीलाई घरै लगिन्।
त्यहीबेला उनको घर ढलान गर्ने तयारी भइरहेको थियो। घरमा पनि अरुलाई घर ढलानको काम अह्राएर आफू रगत खोज्नतिरै लागिन्।
केही गर्दा पनि रगत पाइएन। घर लगेको तीन दिन भएको थियो। ऋतुको पेट सुन्निन थाल्यो। तत्काल फेरि प्रदेश अस्पतालमै लगिन्।
डाक्टरले ‘ढिला भइसक्यो, यहाँ हुँदैन ठूलो अस्पतालमा लैजान’ भनेर सुझाए। अपरेसन त यहाँ पनि हुन्थ्यो। तर, रगत नपाईएकै कारण सुनिताले ऋतुलाई काठमाडौं लगिन्। काठमाडौंमा उनको आन्द्रा काटेर बाहिर निकालियो। अपरेसनमा संलग्न डाक्टरले भने एपेन्डिसेस भन्दा पनि आन्द्रामा चोट लागेको बताए।
‘सुर्खेतको निजी अस्पतालले एपेन्डिसेस भएको भनेको थियो, तर काठमाडौंमा अपरेसन गर्नुभएका डाक्टरले चोट लागेर यस्तो भएको हो भनेर भन्नुभयो,’ सुनिताले भनिन्।
टिचिङ अस्पतालमा अपरेसन गराएकी छोरीका लागि काठमाडौंमै १३ लाख रूपैयाँ जति खर्च भइसकेको थियो।
त्यति तिर्न सुनिता एक्लैले सम्भव थिएन। साढे ६ लाख रूपैयाँ उनले आफन्तबाट सापटी मागेकी थिइन्। एक जना औषधी बिक्रेताले आफ्नो तर्फबाट नि:शुल्क औषधी दिए। ‘एउटै औषधी किन्नुपर्दा कम्तीमा १० हजार रूपैयाँ पर्थ्यो, मैले त हरेस खाइसकेकी थिएँ,’ सुनिताले भनिन्, ‘आमाको मन त हो म रुन थालेँ, रोएको देखेपछि एक जना भाइले सबै औषधी खर्च व्यहोर्दिनुभयो।’
आफन्तबाट लिएको साढे ६ लाख रूपैयाँ भर्खर बनेको घर सहकारीमा धरौटी राखेर उनले तिरेकी छिन्। काठमाडौंबाट फर्किएपछि पनि सुनिताका दिदीभाइले सापटी दिएको तीन लाख रूपैयाँ तिर्न बाँकी नै छ। कसरी तिर्ने भन्ने उपाय पनि सुनितासँग छैन।
ऋतुको जेठ १७ गते फेरि अपरेसन भएको छ। काठमाडौंमा लाखौं खर्च गरेर बाहिर निकालिएको आन्द्रा अहिले प्रदेश अस्पतालमा शल्यक्रिया गरी जोडिएको छ। ‘अब त राम्रो भयो, अपरेसन भइसक्यो,’ सुनिताले भनिन्, ‘अब छिट्टै पूरै सञ्चो होस् र छोरीको पुरानै जिउडाल देख्न पाइयोस् भन्ने सोचेकी छु।’
कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्मर खड्काले पनि ऋतुलाई एपेन्डिसेस नभएको बताए। आन्द्रामा चोट लागेर बिग्रिएको वा फुटेको हुन सक्ने उनले बताए।
कर्णाली प्रदेश अस्पतालले ऋतुको बेड र चेकजाँचका लागि लाग्ने खर्चसमेत नि:शुल्क गरिदिएको छ। ‘लगातार शुल्क तिर्न नसकेपछि छोरीलाई कि त मार्दिनु, म घरमा लिएर मेरो काखमा मरेको हेर्न सक्दिँन भनेर डाक्टरका अगाडि रोएँ। दया मान्नुभयो होला, बेडको र जाँच गरेको पैसा पनि छुट गरिदिनुभएको छ,’ सुनिताले भनिन्।
घर-परिवारबाट बेवास्ता
ऋतुको दुई वटै अपरेसन सफल भएका छन्। उनलाई पूर्ण रुपमा निको हुन केही समय लाग्छ नै।
तर, यतिले मात्र ऋतु र उनकी आमालाई मन शान्ति बनाउने छैन। उनीहरूलाई परिवारले यस्तो अवस्थाबाट गरेको बेवास्ता र हिंसाबाट पनि न्याय पाउनु छ।
ऋतुलाई पहिलेदेखि नै आफ्नो घर-परिवारबाट हिंसा हुने गरेको थियो। अहिले पनि उनलाई परिवारबाट हेरिएको छैन।
केही दिनअघि कर्णाली प्रदेश अस्पतालमा भर्ना भएकी ऋतुको कुरुवा बस्न सुनिताले ज्वाइँलाई बोलाइन्। उनी आए। ज्वाइँ आएपछि सुनिता घरमा गइन्। उनी घर गएको भोलिपल्ट ज्वाइँले फोन गरेर ‘यहाँ पैसा भएन लिएर आउनुस्’ भनेर बोलाए।
सुनिता पनि पैसाको जोहो गर्दै थिईन्। ‘मैले पैसा खोज्दैछु, केही मिलाउनुस् भनेर भनेँ,’ सुनिताले भनिन्, ‘म त्यो दिन आउन सकिनँ, भोलिपल्ट त उहाँ छोडेर गइसक्नुभएछ।’ उनलाई अस्पताल आएका अरु आफन्तले ऋतुलाई एक्लै छोडेर श्रीमान गइसकेको जानकारी गराए।
आफ्नी छोरीलाई अस्पतालको बेडमा बेवारिसे छोडेका ज्वाइँलाई सुनिताले धेरै पटक फोन गरिन्। अरु आफन्तहरूलाई पनि फोन गर्न लगाइन्। तर, उनले फोनै उठाएनन्।
सुनिताले अपरिचित मान्छेलाई फोन गर्न लगाइन्। त्यो फोन भने उठाए। फोन गर्ने मान्छेले ‘किन श्रीमतीलाई यस्तो अवस्थामा छोडेर जानुभयो, यसो गर्नु हुन्थेन नि’ भनेर सम्झाए। बल्लबल्ल फोन उठाएका ऋतुका श्रीमानले भने, ‘मलाई दुबैतिरबाट प्रेसर छ, म आउँछु वा आउँदिन थाहा छैन।’
अहिले पनि उनका श्रीमान बेखबर छन्। फोन अफ गरेर बसेका छन्। ‘आफ्नो श्रीमतीलाई निको पार्न प्रयास गर्नुपर्ने हो, तर उहाँले कुर्न पनि सक्नुभएन,’ सुनिताले भनिन्।
सुनिताले बोलाएपछि सासु-ससुरा, नन्द, देवर लगायतका आफन्त पनि फेरि भेट् आएका थिए। केही दिन अस्पताल बसेपछि उनीहरू फर्किएका छन्। ‘केही दिन यहाँ बसेपछि उहाँहरू पनि जानुभयो, अहिले हामी मजदुरी गरी खाने मान्छेले घरमा लिएर बुहारीलाई बचाउन सक्दैनौं भनेर रुनुहुन्छ,’ उनले भनिन्, ‘श्रीमान नै वास्ता नगरी बेखबर भएपछि सासु-ससुराले पनि वास्ता गर्न छोड्नुभयो।’
आफ्नो अहिलेको अवस्था देखेर उनलाई कहाली लाग्छ। ‘एकातिर आमा रुँदै मेरो सेवामा हुनुहुन्छ, अर्कोतिर घरपरिवारबाट बेवास्ता छ।’ ऋतुले भनिन्, ‘मलाई जसरी पनि निको हुनु छ, मलाई दिएको पीडाको सजाय दिनु छ। लेख्न र हिँड्न सक्ने भए अहिल्यै उजुरी दिन्थेँ।’
आमा कुरुवा भएर अस्पतालमै बस्नुपरेको छ। ऋतुका भाइले दिनभर सिमेन्ट लोड गरेर परिवारको छाक टार्छन्। उनी पनि अहिले बिरामी छन्।