खोरीका दर्जनौं परिवार अहिले धपौडको लेकमा यार्सागुम्बा टिप्न आएका छन्।
बझाङको पाथीभेरा हिमालको फेदतिरका बस्तीबाट अधिकांश मान्छेहरू अहिले लेकमा छन्।
लेक हिउँ र कुहिरोले ढाकेको छ। बेला-बेला पानी पर्न खोज्छ। मानिसहरू त्यहीँ यार्सागुम्बा खोज्छन्।
छबिसपाथीभेरा गाउँपालिका-७ खोरीकी सुविना बोहरा र उनकी छोरी दिनभरि यहीँ यार्सागुम्बा खोज्छन्।
उनीहरू यहाँ आएको दुई साता पुगिसक्यो।
१४ दिनअघि पिठो, चामल, चिनी, चाउचाउ, बिस्कुट र चिउराका भारी बोकेर उनीहरू यार्सागुम्बा टिप्न आएका थिए। उनीहरूले बाक्लो लुगाकपडा, ओढ्ने-ओछ्याउने, भाडाकुँडा र पाल पनि बोकेर ल्याएका थिए।
पिठो त्यसअघि नै घट्टमा पिसेर राखेका थिए। उनीहरू घरबाट यार्सागुम्बा पाइने ठाउँसम्म पुग्न दुई दिन पैदल हिँड्नुपर्छ। घरबाट हिँडेको पहिलो दिन ठाड्या भन्ने ठाउँमा साँझ पर्यो।
यसदिन उनीहरू त्यही ठाउँमा ओडारमा बसे। सुविनाले ओडार छेउनेर आगो सल्काएर बोकेर लगेकै रासनबाट खाना बनाइन्।
छोरीले अरू गएका केटाकेटीसँग अर्को दिनको योजना बनाइन्।
यहाँसम्म त होटल पनि छन्। पैसा तिर्न सक्नेहरू होटलका त्रिपालमा पनि बस्छन्।
त्यो रात ओडारमा कटाएका उनीहरू अर्को बिहान गन्तव्यमा लागे। दिनभरि उकालो हिँडेपछि थकित हुँदै उनीहरू धपौड पुगे।
‘बाटोमा हिउँ हुन्छ, हिउँको बाटो हिँड्नुपर्छ, वरपर हिउँको डाँडो देखिन्छ। चिप्लियो भने त खोला पुग्ने हो कि भन्ने डर हुन्छ,’ उनले भनिन्।
त्यहाँ पुगेपछि मानिसहरूले बस्नलाई बनाएका पाल उनले यस वर्ष पनि देखिन्। बीचमा उपत्यका जस्तो, वरिपरि हिउँले ढाकिएका हिमाल, तल खोला बगेका देखिन्छ। फूल फूलेका हुन्छन्।
धपौडमा उनले पनि सबैले जस्तै आफ्नो टेन्ट लगाइन्। उनीसँगै गएका अनुभवीहरूले अर्को दिनको लागि योजना बनाए।
त्यहाँ यार्सा टिप्न जानेहरूका लागि नियम बनाएका हुन्छन्।
‘जुन स्थानीय तहमा पर्ने हो त्यही ठाउँका समितिले बनाएका नियम हुन्छन्, त्यहाँ यार्साबाहेक एक महिनासम्म अरू जडिबुटी टिप्न पाइँदैन। प्रत्येक पालबाट १५ सय कर लिने गरिएको छ, परिवारका १ जनाबाट ५ सय तिर्नुपर्छ,’ उनले भनिन्।
धपौड पुगेको तेस्रो दिन बिहानै उनले भगवानलाई सम्झिन्। यत्रो मेहनत गरेर आएको छु, यार्सा पाइयोस् भनेर उनले प्रार्थना गरिन्।
उनी र छोरीले खाना बनाए। खाना खाएपछि उनीहरू तयार भए।
लेक लाग्ने, अक्सिजन कमी हुनाले उनीसँगै आएका कतिपय बिरामी थिए। उनीहरू त्यसदिन पालमै आराम गरे।
बिहानै बाक्लो लुगा लगाएर दिउँसोको नास्ता झोलामा बोकेर आमाछोरी यार्सागुम्बा खोज्न हिँडे।
‘यार्सागुम्बा संकलन गर्दा कोही कतै कोही कतै चारैतिर जान्छन्। दिनभरि घोप्टो परेर खोज्नुपर्छ, एक-अर्कालाई भन्दैनन्। आफू-आफू जाने हो। बेलुकामात्र फर्केपछि यति फेला पर्यो भन्ने हुन्छ,’ उनले भनिन्।
हिउँबाहेक भिरालो र घाँस भएको ठाउँमा यार्सागुम्बा पाइन्छ। उनीहरू त्यस्तै ठाउँमा खटिन्छन्।
‘कडा मिहेनत गर्नुपर्छ, ढाड र घुँडा दुख्ने हुन्छ। हिउँमा हेर्नाले आँखा पनि दुख्छन्,’ उनले भनिन्, ‘पानी पर्छ, अस्ति पानी पर्यो।पानी परेका बेला किरा खोज्न जाँदैनन्। डेरामै बस्नुपर्छ।’
यार्सा टिप्न गएका दिन बेलुका ६ बजेतिर अँध्यारो भएपछि मात्र उनीहरू पालमा फर्कन्छन्। बेलुका खाना खाएपछि कसले कति यर्सागुम्बा भेट्यो भन्नेबारे कुरा गर्छन्।
‘कुनै दिन एक पनि यार्सागुम्बा पाइँदैन, कुनै दिन १०/१५ वटा नि पाइन्छ, अनुभवीहरूले त दैनिक भेटाउँछन्। यार्सागुम्बा नपाएको दिन खल्लो महशुस हुन्छ। निराश मन हुन्छ,’ उनले भनिन्।
उनीहरूले राति सुत्दा चिसोबाट बच्न सुकेको घाँस ‘पिउसो’ ओछ्याउँछन्। त्यो घाँसले तातो गराउने भएकोले त्यसको प्रयोग गर्ने गरेको सुविनाले बताइन्।
उनका अनुसार त्यहाँ चिसो असाध्यै हुन्छ। हात-मुख धुन परे तातो पानी लगाउनुपर्छ, नुहाउन भने सकिँदैन। जति दिन भए पनि घरमै आएको दिन मात्रै नुहाउन पाइन्छ।
मौसमले साथ दिए सुविना र उनकी छोरीले अझै पन्ध्र-बीस दिनजति लेकमै बस्ने योजना बनाएका छन्।
‘भारतमा कमाउन नगएकाहरू यार्सागुम्बा टिप्न आउँछौं, कमाइ गर्ने अरू आधार छैन, खेतीपातीले खान पुग्दैन, वर्षभरि घर-परिवारको खर्च जुटाउन सजिलो होस् भनेर हामी यहाँ आउने गर्छौं। जोखिम धेरै छ, कति जनाको ज्यानसमेत गइसक्यो,’ उनले भनिन्।
उनीजस्तै छबिसपाथीभेरा गाउँपालिकाका-६ ल्वाडाका भीम चलाउने र फुलुदेवी चलाउने पनि यार्सा टिप्न धपौडमै छन्।
उजेलीदेवी चलाउने र उनका १६ वर्षका छोरा पनि यार्सा टिप्न यहीँ पुगेका छन्।
हिँड्न सक्नेहरू त्यहाँ खोजेपछि तितापानी, चुफी, पार्थी, माल्या, जलजला, धौलढुंगा, धनसरीलगायत अरू पायक पर्ने ठाउँमा जान्छन्।
उनीहरू पनि त्यहीँ जाने तयारीमा छन्। महिनौं बस्नेहरूले एक सिजनमा डेढ लाखसम्मको यार्सागुम्बा ल्याउने गरेको स्थानीय शिक्षक पुरन चलाउनेले बताए।
‘पहिले त हजारदेखि पन्ध्र सय ल्याउँथे, यार्साको मूल्य पनि बढी थियो, अहिले यार्सा अलि कम पाइन्छ, लोप हुँदैछ, पाँच सयसम्म ल्याउँछन्,’ उनले भने।
चलाउनेका अनुसार महिनौं बस्ने धेरै सदस्य गएका परिवारले यार्सागुम्बा संकलन धेरै गर्ने गर्छन्।
सकंलन गरेर ल्याएको यार्सागुम्बाको मूल्य मिलेपछि स्थानीयले ठेकेदारकहाँ बिक्री गर्ने गर्छन्।
असारको अन्त्यतिर यार्सागुम्बा सकंलन गर्नेहरू घर फर्किने गर्छन्।
बझाङको छबिसपाथीभेरा गाउँपालिकाका मात्र नभई सुर्मा, साइपाल, दुर्गाथली गाउँपालिका, बुगंल नगरपालिकालगायतका स्थानीय तहका स्थानीयहरू अहिले आर्थिक जोहो गर्न लेकमै छन्।
यार्सागुम्बा यहाँका स्थानीयका लागि गतिलो आयस्रोतको माध्यम बन्दै गएको छ।
गत वर्ष यहीबेला कोरोना माहामारीले यार्सागुम्बा संकलनमा रोक लगाइएको थियो।
कोरोना संक्रमणको जोखिम यस वर्ष पनि कायमै भए पनि यार्सागुम्बा सकंलनमा भने रोक लगाइएको छैन।
यर्सागुम्बा पाइने क्षेत्रका स्थानीय तहहरूले सकंलन गर्ने व्यक्तिबाट कर सकंलन गर्ने गरेका छन्।
‘गत वर्ष एउटा व्यक्तिबाट एक हजार रूपैयाँ उठाएका थियौं, यस वर्ष कर सकंलन गरेको छैन। कति गए भन्ने विवरण नआएकोले कर संकलन हुन नसकेको छैन, अब गर्ने तयारीमा छौ,’ सुर्मा गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीराज जोशीले भने।