पूजा, शोभा, ज्यास्मिन, टीका र कान्छी- यी ८३ वर्षीय रोबिन मार्सटन र उनकी श्रीमती वेन्डीको परिवारका सदस्य हुन्।
पूजा र ज्यास्मिन गधा हुन्। शोभा भेडा अनि टीका र कान्छी कुकुर। उनीहरूसँगै दुई हाँस र बिराला पनि छन्।
४३ वर्षदेखि नेपालमा बसिरहेका रोबिन र वेन्डीले विभिन्न समयमा यी जनावरलाई आफ्नो परिवारको हिस्सा बनाएका हुन्। उनीहरू सानेपा बस्छन्। एक रोपनी क्षेत्रफलमा फैलिएको उनीहरूको घरमा यी सबै जनावरलाई यताउति कुद्न पुग्दो ठाउँ छ।
यी जनावरहरू कसरी, कहाँ भेट्नुभयो भनेर सोध्ने हो भने रोबिनले ठट्यौली जवाफ दिन्छन्, 'हामीले उनीहरूलाई भेटेको होइन, उनीहरूले हामीलाई भेट्टाएका हुन्।'
जति उनको ठट्यौली स्वभाव छ, मन उति उदार।
करिब १३ वर्षअघि चोभारको इँटाभट्टाबाट एक बिरामी पोथी गधालाई रोबिनले आफ्नो गाडीमा राखेर ल्याएका थिए। गधा गर्भवती रहेछ। केही दिनमा तंग्रिई। रोबिनकै घरको आँगनमा बच्चा जन्माई। तर एक महिना नपुग्दै उसको मृत्यु भयो।
रोबिन रनभुल्ल परे – गधाको सानो एक्लो बच्चाको रेखदेख कसरी गर्ने?
उनले सानी गधाको नाम पूजा राखे। पूजा एक्ली थिई। खुसी पनि थिइन। त्यसैबीच रोबिनका साथीभाइले सल्लाह दिए, 'गधा र भेडाको सम्बन्ध आपसमा खुब जम्छ। एउटा भेडा पाल।'
उनले त्यसै गरे।
धोबिघाटमा भेटिएकी शोभा (भेडा) रोबिनको घर आई। नभन्दै पूजा र शोभा एकअर्काका साथी बने। सँगै खेले, खाए, हुर्किए। भेडाले गधालाई शान्त राख्न पनि मद्दत गर्छन्।
शोभा १४ वर्षकी भइसकी। रोबिनले इन्टरनेट र किताबहरूमा पढेका थिए– भेडाहरू करिब १२-१३ वर्ष बाँच्छन्। तर यतिका वर्ष बाँचेकी शोभालाई देख्दा रोबिन बेलाबेला दंग पर्छन्, 'यो भेडा गधासँग हुर्कियो। तर अहिले त त्यति वास्ता गर्दैन। एक्लै एक सूरले घर घुमेर बस्छ।'
शोभाबारे थप बताउँदै रोबिन हासेँ, 'आफ्नो वरिपरि गधा, कुकुर र हाँसहरू देख्छ। कहिलेकाहीँ त यो भेडालाई पनि आफू कुकुर हो कि भेडा हो भनेर अलमल हुन्छ होला है?'
एक वर्षजति शोभासँग हुर्किएपछि पूजाले आफूजस्तै साथी पाई, ज्यास्मिन।
रोबिनकी साथी प्रिन्सेस क्याटकी शाहले चोभारकै इँटाभट्टामा त्यस्तै बिरामी गधा भेटेर आफ्नो घर लगेकी थिइन्। संयोग कस्तो भने, त्यो पनि गर्भवती रहेछ। विस्तारै तंग्रिदै गएपछि उसले बच्चा पाई। केही महिनामै उसको पनि मृत्यु भयो।
त्यही गधाले पाएको बच्चालाई रोबिनले आफ्नो गाडीमा हालेर ल्याए, परिवारको हिस्सा बनाए र नाम दिए ज्यास्मिन।
गधालाई इँटाभट्टामा काम गराउने र ठूलो भारी बोकाउने कुरा रोबिनलाई चित्त बुझ्दैन। धेरैले त्यसलाई फोहोरी जनावर भन्छन्, तर त्यस्तो नभएको उनी बताउँछन्।
कुकुरहरू त उनले पहिलेदेखि पाल्दै आएका हुन्। काठमाडौंको बसाइमा उनले करिब ३० वटा सडक कुकुर पालिसकेका छन्। समय अन्तरालमा तिनको मृत्यु हुँदै जाँदा अहिले टीका र कान्छी मात्र बाँकी छन्। निधारमा टीकाजस्तै चिह्न भएकाले एउटीले टीका नाम पाई, अर्की भने परिवारकी कान्छी सदस्य।
बगैंचामा डुलिरहेका हाँसहरूबारे पनि हामीले सोधिहाल्यौं, 'यिनीहरूको चाहिँ नाम राख्नुभएन?'
'मिस्टर डक एन्ड मिसेस डक,' ठाउँका ठाउँ नाम फुराउँदै रोबिन फेरि हाँसे।
हाँस र बिरालाका नाम राखिएको छैन। एउटा हाँसलाई उनले आफ्नो घरआडैको समिट होटलबाट भेट्टाएका हुन्। त्यहाँको पोखरीमा पौडिरहेको हाँस कुनै पूजाकर्ममा काटिन लाग्दा भागेर बाँचेको रहेछ। होटलका कर्मचारीले रोबिनकी श्रीमती वेन्डीलाई उनीकहाँ राम्रो रेखदेख हुने भन्दै थमाइदिएका थिए।
हाँसहरू जोडीमा बस्ने भएकाले मार्सटन दम्पतीले पोथी हाँस किनेर ल्याए।
'पहिले ल्याएको पोथी हाँस एक महिनाअघि मात्र मर्यो। हामीले त्यही साँझ अर्को किन्यौं,' वेन्डीले भनिन्, 'नयाँ ठाउँ भएकाले अलमल थियो। तर अर्को हाँसले उसलाई सबै सिकायो।'
हाँसकै लागि भनेर उनीहरूले बगैंचामा सानो पोखरी पनि बनाएका छन्। बिरालाहरू भने घरको छतमा बसिरहेका हुन्छन्। त्यसैले आक्कलझुक्कल मात्र देखिन्छन्।
पहिला त उनीहरूले लाटोकोसेरो, मंगुज, बाँदर लगायत जनावर पनि पालेका रहेछन्।
'हामी जनावरलाई राम्ररी ख्याल राख्छौं भनेर प्रख्यात थियौं। त्यही भएकाले मान्छेहरू जनावर लिएर हामीकहाँ आउँथे,' वेन्डीले भनिन्, 'एक जना मान्छेले १०–१२ वटा घाइते लाटोकोसेरा हाम्रो घरमा छाडेर गए। त्यसको हामीले स्याहार गर्यौं। मंगुज त मेरो हातमा बेरिएर निदाउँथ्यो। हामीसँग बाँदर पनि थियो, जुन निकै चकचके थियो।'
सानेपा वरिपरि बिहान–बेलुकी 'मर्निङ–इभिनिङ वाक' मा निस्किनुभयो भने तपाईंले मार्सटन दम्पतीका जनावरहरूलाई पनि देख्नुहोला। गधा, कुकुर र भेडा उनीहरूसँगै बाहिर टहलिन आउँछन्।
'एक जना मान्छे आउँछन् बिहान, उनले लैजान्छन् घुमाउन। बेलुकातिर म आफैं लैजान्छु,' रोबिनले भने।
कुकुर र भेडा त ठीकै हो, गधालाई भने बाटामा टहलिएको देख्दा मान्छेहरू ठूला आँखा बनाउँदै चकित खान्छन् र फर्कीफर्की हेर्छन्। धेरै टाढासम्म नघुमाइने भएकाले कमैलाई उनीहरूबारे जानकारी छ। नजिकैका पसलेले त काउली र मकैका पातहरू पनि जनावरका लागि भनेर छुट्टाएर राखिदिन्छन्।
'धेरै खान्छन् यिनीहरूले,' वेन्डीले भनिन्, 'कहिलेकाहीँ त भान्सामा पनि कराउँदै आउँछन्।'
रोबिन ठान्छन् – जसरी मान्छेलाई राम्रो जीवन चाहिन्छ, जनावरले पनि त्यस्तै जीवन पाउनुपर्छ।
'संसारलाई मान्छेले बिगारेका हुन्, जनावरले होइन,' उनले भने, 'मान्छेले संसारलाई प्लास्टिक, वातावरण विनाश र प्रदूषणले बिगारेका छन्।'
वेन्डीले पनि भनिन्, 'जनावरहरू सिधा र इमान्दार हुन्छन्। उनीहरूले जीवनलाई पनि प्राकृतिक, सामान्य र खुसी बनाउँछन्। उनीहरूको पनि हाम्रोजस्तै भावना हुन्छ।'
४३ वर्षदेखि नेपाल बस्दै आएका भए पनि रोबिन पहिलोपटक सन् १९६२ मा यहाँ आएका थिए। त्यो बेला उनी ब्रिटिस आर्मीमा थिए। बेलायतमा १७ वर्ष पुगेपछि केटाहरूले आर्मीमा दुई वर्ष भर्ती हुनैपर्ने नियम थियो। त्यही नियममा बाँधिएर उनी सेनामा पुगे। जसलाई उनी भन्छन्, 'मिस्टेकली।'
एक वर्ष थप काम गर्ने योजनामा थिए रोबिन। तर छोटो समयमै राम्रो काम गरेकाले उनलाई अफिसर बनाइयो। अनि 'मिस्टेकली' पुगेको ठाउँमा उनी भविष्य खोज्न थाले। त्यहीँको मिलिटरी एकेडेमीमा पढे। जागिरकै क्रममा उनी सिंगापुर, ब्रुनाई, मलेसिया, हङकङ लगायत विभिन्न देश पुगे।
सिंगापुरमा उनले आफ्नी जीवन साथी वेन्डीलाई भेटे। बुवा सैन्य सेवामा भएकाले वेन्डी त्यहाँ पुगेकी थिइन्।
नेपालमा सन् १९६२ मा आउनुको कारण भने नेपालीलाई ब्रिटिस आर्मीमा भर्ती गराउनु थियो। केही समय यहाँ बसेपछि उनी बेलायतै फर्किए।
सन् १९७८ मा फेरि नेपाल आए, फरक योजनासहित। टाइगर टप जंगलले भर्खरै खोलेको अर्को कम्पनी माउन्टेन ट्राभल नेपालमा उनले प्रबन्ध निर्देशकका रूपमा काम पाएका थिए। श्रीमतीसँगै ल्यान्ड रोभर गाडी पाँच साता कुदाएर उनी नेपाल पसे।
नेपाल पर्यटन क्षेत्रमा भर्खरै बामे सरिरहेको समय थियो त्यो। सडक बनिसकेका थिएनन् र गाडी संख्या पनि कमै थियो। त्यसले पर्यटनलाई चुनौतीसँगै रोचकता थपेको थियो। कामकै सिलसिलामा उनी खुम्बू, सगरमाथा, अन्नपूर्ण, धौलागिरि, ढोरपाटन, मनाङ, मुस्ताङ, लम्जुङ, हेलम्बू, लाङटाङ, दोलखा, ओखलढुंगा, लुक्ला, कञ्चनजंगा लगायत ठाउँ पुगे।
'सबै ठाउँ हिँडेरै पुगेको हो,' रोबिन उत्साहित हुँदै सुनाउँछन्, 'त्यो बेला सवारीसाधन यति कम गुड्थे, सहरका प्रायः चालकको नाम हामीलाई थाहा थियो।'
उनले अगाडि भने, 'मान्छे पनि कम थिए। घरभन्दा बढी फाँट थिए। हामी साइकलमा ती फाँट हेर्दै डुल्थ्यौं। अहिले त मान्छे धेरै भइसके। माओवादी कालतिर गाउँघरबाट धेरै मान्छे सहर पसे।'
चार दशकभन्दा बढी नेपाल बसाइमा उनको काम पदयात्रा र पर्वतारोहणमा सीमित भएन। समिट होटलमा उनले करिब डेढ दशक प्रबन्ध निर्देशकका रूपमा काम गरे। सामाजिक सेवामा पनि लागे। पोखराको सेती खोलानजिकै उनले दसवटा स्कुल खोलेका छन्। त्यहाँ उनले करिब २५ वर्ष काम गरे।
अहिले सबै कामबाट अवकाश लिएर 'रिटायर्ड' जीवन बाँचिरहेका छन् उनी। बिहान ५ बजेतिर उठ्छन्। बाहिरतिर हिँड्न निस्किन्छन्। लकडाउन नहुँदो हो त ६ बजेतिर गल्फ खेल्न निस्कन्थे। दिउँसो केही व्यायाम र समाजसेवाको काम गर्यो अनि बेलुकी टिभी हेरेर ९–१० बजे सुत्ने समय भइसक्छ।
'पहिला धेरै मान्छे भेटिन्थ्यो, काम हुन्थ्यो। अहिले त यी जनावरसँगै समय बित्छ। पहिलेजस्तो रोचक त छैन तर अहिलेको जीवन पनि राम्रो छ। तर त्यो बेला निकै रमाइलो थियो,' उनले भने।
रोबिनको विवाह विन्डीसँग करिब ५५ वर्षअघि भएको हो। विन्डी कलाकार हुन्। घरका भित्तामा उनले बनाएका चित्र राखिएका छन्। २२ वर्षदेखि उनी नेपालमा आगोले पोलेका मान्छेहरूलाई 'बर्न भायोलेन्स सर्भाइभर नेपाल' मार्फत् सेवा पुर्याइरहेकी छन्। बिहान उठ्नेबित्तिकै सडक कुकुरका लागि भात र बिस्कुट लिएर निस्कने पनि उनको दैनिकी बनेको छ।
मार्सटन दम्पतीकी ४२ वर्षीया छोरी पनि छिन्। १६ वर्षसम्म यहीँ जन्मे–हुर्केकी उनी अहिले बेलायत बस्छिन्। रोबिनका अनुसार समाजसेवाको गुण उनमा पनि सरेको रहेछ। माओवादी द्वन्द्वकालमा उनले 'इन्टरनेसनल कमिटी अफ रेडक्रस' मा काम गरेकी थिइन्। नेपाली र अंग्रेजी दुवैमा दक्ष भएकाले उनी दोभाषे पनि बनिन्। रोबिन र वेन्डी पनि नेपाली बुझ्छन्–बोल्छन्।
मार्सटन दम्पतीले आफ्नो उमेरको आधाभन्दा बढी समय नेपालमा बिताइसके। त्यही भएर 'आफू जन्मेको देशभन्दा नेपाल प्यारो छ' भन्न उनीहरू धकाउँदैनन्। बरू खुलेरै भन्छन्, 'नेपाल एकदम खास छ। यहाँका मान्छे, काम, समाजसेवा सबै हाम्रो लागि खास छन्। हामी त यहीँका भइसक्यौं। उता बस्नै गाह्रो हन्छ।'
जति नेपाललाई आफ्नो भने पनि नेपालले भने आफ्नो नठानेकोमा उनीहरू दुःखी छन्।
वेन्डी अहिले आर्ट कलेजमा पढिरहेकाले रोबिन 'डिपेन्डेन्ट भिसा' मा नेपाल बसिरहेका हुन्। त्यो भिसाको समयावधि सकिने बेला भएकाले उनीहरूले 'टुरिस्ट भिसा' बनाउनुपर्ने हुन्छ। त्यसबाट वर्षको पाँच महिना मात्र उनीहरू यहाँ बस्न पाउँछन्।
त्यही भएर बेलाबेला उनीहरू दोधारमा पर्छन्, 'नेपालमा बस्ने कि बेलायत फर्किने?'
त्यसबारे सोच्दा पनि उनीहरूलाई अत्यास लाग्छ, 'ओहो! त्यहाँको परिवेश र परिवर्तनसँग घुलमिल हुन त हामीलाई गाह्रो हुन्छ।'
मार्सटन दम्पतीलाई नेपालको भिसा प्रणालीसँग गुनासो छ। लामो समय 'रिटायरमेन्ट भिसा' का लागि प्रयास गरेको भए पनि उनीहरू असफल रहे।
'गोर्खालीहरू बेलायत जान्छन् र त्यहीँ बस्न पाउँछन्। तर हामी यतिका वर्ष नेपाल बसे पनि हामीलाई भिसा छैन,' रोबिनले भने, 'हामीले नेपालका लागि धेरै काम गर्यौं तर हामीले भिसा पाएनौं। साह्रै नराम्रो लाग्छ।'
यो वर्ष मार्सटन दम्पतीका लागि झनै अप्ठ्यारो वर्ष हो।
करिब २७ वर्षदेखि उनीहरू सानेपास्थित घरमा बस्दै आएका छन्। बैंकिङ काम गरिरहेका एक नेपाली साथीको घर उनीहरूले भाडामा पाएका थिए। साथीले यसै वर्ष अर्को व्यक्तिलाई घर बेचेकाले डिसेम्बर महिनासम्ममा उनीहरू यो घर छाडेर अर्पाटमेन्टमा सर्ने तयारीमा छन्।
घरसँग जोडिएका याद त छन् नै, केही जनावर पनि छाड्नुपर्दा उनीहरू निराश छन्। जनावरसँग बस्ने उनीहरूलाई बानी परिसके पनि अपार्टमेन्टको सानो ठाउँमा घरमा जस्तो सबैलाई समेट्न सकिँदैन।
'जनावरलाई पनि राम्रो ठाउँमा पुर्याउनु हाम्रो कर्तव्य हो। त्यही भएकाले अघिल्लो महिना बुंगमती नजिकै उद्धार गरेर ल्याइएका गधाको पशुविहार हेर्न हामी गएका थियौं। उनीहरूलाई अब त्यहीँ छाड्नुपर्छ होला। भेडा पनि त्यतैतिर जान्छ, त्यहाँ धेरै खसीहरू छन्, खसीसँग ऊ ठीकै होला,' रोबिनले भने, 'कुकुर र हाँसलाई भने अपार्टमेन्टमा सानो ठाउँ बनाएर पाल्न मिल्ला कि!'
'हामीलाई जस्तै उनीहरूलाई पनि एकदम नौलो हुन्छ होला नि?' उनले थपे, 'तर आफूजस्ता धेरै साथी भेट्दा एक प्रकारले रोचक र रमाइलो पनि होला। सायद हामीलाई पनि बिर्सेलान्। हामी भने उनीहरूलाई खुब मिस गर्छौं।'