बाजुरा सदरमुकाम जोड्ने एकमात्र साँफे-मार्तडी सडक बाढी र पहिरोले क्षति पुर्याएपछि गत वर्ष तीन महिना ठप्प भयो।
उक्त सडक खण्डमा पर्ने २ ठूला पुल, एक किलोमिटर सडक र ठाउँठाउँमा पहिरो खसेपछि गत वर्खामा उक्त सडक अवरूद्ध भएको थियो।
त्यसबेला साउन ५ र २६ गतेको बाढी र पहिरोले बुढीगंगा नगरपालिका-२ ताप्प्रेसेरास्थित १६ मिटर लामो पक्की पुल र बडीमालिका नगरपालिका-२ को जडङगामा ४५ मिटर लामो बेलिब्रिज बगाएको थियो।
यस्तै, बुढीगंगा नगरपालिकामै एक किलोमिटरभन्दा बढी सडक पनि पहिरोले बगाएको थियो।
सडक अवरूद्ध भएपछि बाजुराका विकट बस्तीमा खाद्यान्न, औषधी, दैनिक उपभोग्य सामानको ढुवानी नभएर समस्या भएको थियो। बिरामीलाई रेफर गर्नु परे एम्बुलेन्ससमेत चल्न समस्या आएको थियो। यस्तै सडक अवरूद्ध भएपछि बाजुरामा उत्पादन भएको स्याउ बिक्री गर्न सकिएन।
तीन महिनासम्म समस्या परेपछि सडक डिभिजन कार्यालय मार्तडीले अस्थायी रूपमा सडक खोल्न सकेको थियो। जिल्ला प्रशासन कार्यालयका अनुसार भत्केको सडक सामान्य मर्मत र डाइभर्सन गरेर सञ्चालन गरिएको थियो। अझै पनि पूर्ण रूपमा उक्त सडक मर्मत हुन नसकेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सो सडक खण्ड कुन रूपमा निर्माण गर्ने भन्ने निश्चित टुंगो नलाग्दा काम नभएको बताए।
उनका अनुसार वहुवर्षीय योजनाअन्तर्गत बन्ने सडकलाई वैकल्पिक तरिकाले बनाउने भन्नेमा सडक डिभिजनले टुंगो लगाउन सकेको छैन।
‘पोहर बगेको पक्की पुल बनाउन सकिएको छैन। केही ठाउँमा वैकल्पिक मार्ग बनाउनु पर्छ भन्ने पनि कुरा आयो तर भएन,’ उनले भने।
यस वर्ष फेरि वर्षातको सिजनमा सडक सुचारू भइरहने टुंगो छैन। जिल्ला प्रशासन कार्यालय बाजुराले सडकमा पहिरो खसे हटाउने उकपरण तयारी अवस्थामा राख्ने जनाएको छ।
‘उपकरण र जनशक्ति पर्याप्त मात्रामा व्यवस्थापन गर्न सडक डिभिजनलाई भनेका छौं,’ उनले भने।
त्यसका लागि सूचना संकलन गर्न सुरक्षा निकायलाई पनि खबर गरिएको छ। यस वर्ष पनि बाढी पहिरोले सडकमा प्रभाव पारेपछि दैनिक उपभोग्य खाद्यवस्तुको अभाव नहोस् भनेर अहिले नै आयात गरी भण्डारण गर्न व्यवसायीलाई भनिएको प्रमुख जिल्ला अधिकारीले बताए।
स्थानीय तहले उक्त सडकको मर्मतका लागि आफूसँग ठूलो बजेट नभएको बताएका छन्।
बुढीगंगा नगरपालिकाका मेयर दीपकविक्रम शाहले गत वर्षदेखि सडकखण्ड मर्मत, निर्माण नहुँदा जिल्लावासीलाई निकै समस्या परेको बताए।
उनले आफ्नो स्थानीय तहसँग सडक मर्मत गर्न सक्ने ठूलो बजेट नभएको बताए।
‘संघ सरकारले प्राथमितामा राखेर सो सडकको निर्माण, मर्मतका लागि बजेट छुट्याउनु पर्ने, छुट्याएन,’ उनले भने।
प्रदेश सरकारले आगामी वर्षको बजेटमा यो सडक मर्मतका लागि बजेट छ्ट्याउनु पर्ने बताए।
‘पटक-पटक सो सडकको मर्मत कार्य छिटो गर्न ध्यानार्कषण गरेको भए पनि सोतर्फ ध्यान दिइएन,’ उनले भने।
अहिले पनि सडक मर्मत नहुँदा खाद्यान्न, दैनिक उपभोग्य सामान, औषधीलगायत सामान ढुवानी सहज रूपमा हुन नसकेको उनको भनाइ छ ।
अस्थायी रूपमा सडक सञ्चालन भइरहेको अहिलेको अवस्थामा केही दिन पानी परे गत वर्षजस्तै समस्या व्यहोर्नु पर्ने देखिन्छ। बगेका मध्ये एउटा पक्की पुल निर्माणको काम भएको छैन।
विज्ञहरू आएर उक्त सडक कसरी बनाउने भन्ने अनुसन्धान गरेपछि सडक बनाउन सकिने डिभिजन कार्यालय साँफेबगरले बताएको छ। जसको लागत पनि बढी हुन आउँछ।
सडक डिभिजन कार्यालय साँफेबगरका प्रमुख ललिजन खनालले सडक अहिले अवरूद्ध नभएको तर बेलाबेला अवरूद्ध हुँदा खुलाउने गरिएको बताए।
अहिले सामान्य मर्मत भए पनि यो बाटोको दीर्घकालीन समाधान खोज्नुपर्ने उनको भनाई छ।
‘प्रविधि प्रयोग गरी यसको मर्मत गर्नुपर्छ। दीगो परियोजनाका रूपमा यसलाई लैजानुपर्छ। यसमा कम्तीमा डेढ अर्बसम्म बजेट आवश्यक पर्न सक्छ,’ उनले भने।
बाजुराको मुख्य सडक दिगो बनाउन सरकारले बजेटमा प्राथमिकतामा नराखेको भन्दै स्थानीय स्तरबाट सरकारको आलोचना भइरहको छ।
ताप्रिसेराको पुल स्थानान्तरण गर्ने वा पुरानै चलाउने भनेर अध्ययन भएकै छैन।
साँफे-मार्तडी सडक सुधार आयोजना अन्तर्गत स्तरोन्नति भएको हो। कमजोर भुगोलका कारण वर्षनी बाढी र पहिरोले यसमा क्षति हुने गरेको विज्ञहरू बताउँछन्।
‘पहिरो थुप्रिएर बुढीगंगा नदीको बहावलाई बायाँतिर सडक भएको जमिनमा हानेको छ। यसको कारणले नदीको पानीले खिएर जमिन भाँसिएको छ,’ उनले भने।
सडकको वैकल्पिक अध्ययनका लगि क्षेत्रीय सडक डिभिजन कार्यालय सुर्खेतबाट निर्देशन भइरहेको छ।
‘निर्देशन आए पनि कोभिडका कारण मान्छे आउन सकेनन्,’ उनले भने।
अहिलेसम्म बजेट अपर्याप्त भएर मर्मतको नरोकिएको डिभिजन कार्यालयको दाबी छ।