चन्द्रागिरि नगरपालिका-१३ को डाँडामा कंकाली माध्यमिक विद्यालय छ। यताउता भिरालो जमिन छ र त्यही भिरालो जमिनको एकातर्फबाट स्थानीय अधिकारी परिवारका सदस्यहरूले जग्गा खोस्रिन थालेका छन्।
कंकाली स्कुलकै कम्पाउन्ड घेरेको क्षेत्रभित्र पर्ने त्यो भिरालो जग्गा खोस्रिने क्रम दुई दिनअघिसम्म जारी थियो। अधिकारी परिवारले मजदुर लगाएर जग्गा खोस्रिरहेका थिए। त्यसरी खोस्रिँदा माथिको भाग खस्ने जोखिम बढ्दै थियो। स्कुल परिसर पनि जोखिममा परेको थियो।
माथिल्लो भाग खस्ने सम्भावना बढेपछि अधिकारी परिवारले त्यहाँ पर्खाल लगाउने निधो गरे।
गत बुधबार बिहान कामदारहरूले पर्खाल उठाउन मात्र के थालेका थिए, माथिबाट ढिस्को खस्यो। दुई जना कामदारको ज्यान गयो।
त्यहाँ खटिएका सात जनामध्ये चार जना पुरिएका थिए। तीमध्ये उदयपुरकी ३५ वर्षीय सीता राई र मकवानपुरका २० वर्षीय टेकबहादुर चेपाङको मृत्यु भएको थियो। त्यस्तै, उदयपुरका मिलन तामाङ र धादिङका हरि घले आधा पुरिएका थिए। साधारण चोटपटक लागेका उनीहरू सकुशल छन्।
मृत्यु हुने दुई जनालाई अधिकारी परिवारले किरिया खर्च ५० हजार र जनही साढे तीन लाख रूपैयाँ क्षतिपूर्ति दिएको छ।महानगरीय प्रहरी वृत्त थानकोटमा प्रहरीकै रोहवरमा यस्तो सहमति भएपछि मृतकका परिवार घर फर्केका छन्।
यो घटनाबारे थप बुझ्न र त्यहाँ कुन प्रयोजनका लागि डाँडा खोस्रने काम भइरहेको रहेछ भनेर जान्न हामी शुक्रबार घटनास्थल पुगेका थियौं।
घटनास्थल नजिकै अधिकारी परिवारकी एक सदस्य चण्डिका अधिकारीसँग भेट भयो। डाँडा खोस्रनुको कारण सोध्दा उनले भनिन्, ‘छोरानातिहरूले अंशमा परेको जग्गा मिलाइरहेका छन्, मलाई अरू केही थाहा छैन।’
जग्गा हकवालाहरू शिवहरि अधिकारी, राजन अधिकारी र ऋषि अधिकारी बलम्बु बस्दै आएको र उनीहरूले नै त्यो डाँडाको जग्गा सम्याउने काम गरिरहेको चण्डिकाले बताइन्, 'पूरा कुरा उनीहरूले नै बताउन सक्छन्।'
हामीले त्यसपछि शिवहरिसँग कुरा गर्यौं। उनले सात जना कामदार त्यहाँ खटाएको स्विकार्दै भने, ‘माटो कमलो भएको रहेछ, काम गर्दागर्दै माथिबाट ढिस्को खसेर दुर्घटना हुन पुग्यो। दुई जनालाई तुरुन्तै निकालेर जोगाउन सकियो।’
उनका अनुसार अधिकारी परिवारका भतिजा र नातिहरूमध्ये एक दर्जन सदस्यको अंशबन्डा चलिरहेको छ। त्यही अंशबन्डाको जमिन मिलाउन कामदार खटाइएको र सात महिनादेखि टहरोमा बसेर काम गरिरहेको उनले बताए।
अधिकारी परिवारको त्यहाँ ८ रोपनी जग्गा छ। कतिपयले जग्गा ‘प्लटिङ’ भइरहेको शंका गरे पनि अधिकारी परिवारका सदस्य भने प्लटिङ गरेको स्वीकार गर्दैनन्।
‘हामीले प्लटिङ गरेका होइनौं, जग्गा छुट्याउन काम भइरहेको मात्र हो,’ शिवहरिको दाबी छ।
त्यो डाँडा आसपास रिसोर्ट खुल्ने क्रम पनि तीव्र छ। त्यही जग्गामुनि एउटा रिसोर्ट भर्खरै सञ्चालनमा आएको छ। यसरी व्यक्तिगत जग्गा खोस्रिँदा कंकाली स्कुल पनि जोखिममा छ। भिरालो जग्गा भएका कारण वर्षामा माथिको जग्गा बग्ने सम्भावना छ।
‘स्कुलको कम्पाउन्ड रहेको २०-२५ फिटनजिकै उहाँहरूले खोस्रिनुभएको छ, उहाँहरूले यसरी बढी नै खन्नुहुन्छ भन्ने थाहा थिएन, निषेधाज्ञा र कोरोना महामारी बेला स्कुल नलागेकाले हामीले पनि वास्ता गरेनौं,’ प्रधानाध्यापक विष्णु पनेरु भन्छन्, ‘भोलिको जोखिमबारे मैले अहिल्यै यसै भन्न सकिनँ।’
अधिकारी परिवारलाई जग्गा खोस्रिने अनुमति वडा कार्यालयले दिएको हो। अंशबन्डाका लागि जग्गा छुट्याउने भनेपछि खन्न अनुमति दिइएको वडाध्यक्ष बालमुकुन्द बिडारी बताउँछन्। ‘प्लटिङ गर्न अनुमति दिएका होइनौं,’ उनले भने।
चन्द्रागिरि नगरपालिकाका इञ्जिनियर रविन्द्र रिजालका अनुसार प्लटिङ गर्न अनुमति लिन आएकाहरूलाई वरपरको पाँच प्रतिशत जग्गा छाडेर काम गर्न दिने गरिएको छ। मुख्य बाटो २० फिट र भित्री बाटो १३ फिट राखेर प्लटिङ गर्न दिइन्छ।
‘भिरालो जमिन वा डाँडोमा ३० डिग्रीभन्दा भिरालो नहुने गरी जग्गा प्लटिङको अनुमति दिने गरिएको छ,’ उनले भने।
उनका अनुसार ढिस्को खसेको ठाउँबाट प्लटिङका लागि अनुमति लिन कोही आएका छैनन्। आएकाहरूको मात्र अनुगमन हुने गरेको छ। सानातिना प्लटिङमा वातावरणीय अध्ययन प्रतिवेदन (आइइई), वातावरण प्रभाव मूल्यांकन (इआइए) पनि खोजिँदैन।
‘इआइए, आइइई गर्नुपर्ने प्लटिङका ठूला कम्पनी यहाँ सक्रिय छैनन्, सानातिना ७-८ रोपनीमा गर्ने नगरपालिकाको कार्यविधि छैन,’ उनले भने।
स्थानीय सरकारसँग कसिलो नियम-कानुन नभएकाले यस्ता पाखा र भिरालो ठाउँ खन्न सजिलो छ। व्यावसायिक प्रयोजनका ठूला-ठूला काम नभएकाले सानातिनाको अनुगमन पनि खासै नभएको रिजालले बताए।
चन्द्रागिरि नगरपालिकाकी उपमेयर लिशा नकर्मी नगरपालिकामा यस्तो जमिन खोस्रने काम रोक्नै नसकेको बताउँछिन्।
‘हामी स्थानीय पनि भयौं, भनेको मान्दै मान्दैनन्, हामी निरीहजस्ता भएका छौं,’ नकर्मीले भनिन्, ‘राति-राति खनिदिन्छन्।’