पोखराका सडकमा अन्यत्रजस्तो फोहोर देखिँदैन। देशका अन्य शहरका तुलनामा सफा र स्वच्छ नै छ, पोखरा। अन्यत्रजस्तै पोखरामा पनि उत्तिकै फोहोर उत्पादन हुन्छ, घरघरबाट निस्केका फोहोर होस् या होटल र रेष्टुरेन्टबाट। महानगरले दिनहुँजसो फोहोर उठाउने गाडी सडकमा गुडाएरमात्रै पनि सफा भएको होइन, पोखरा।
पोखराका सडक सफा देखिनुमा सरकारी सक्रियताभन्दा प्राकृतिक कारण बढी भएको वातावरण संरक्षणकर्मी कृष्णमणि बराल बताए। तर उनले सडकमात्र सफा देखिनुलाई पोखरा नै सफा र स्वच्छ भन्न नमिल्ने तर्क गरे।
‘वास्तविक पोखरा सफा छ कि छैन भनेर फेवातालको ड्यामसाइड, फिर्केखोला, बुलौंदी खोला, सेती नदीलगायत हेर्नुपर्छ’, उनले भने।
नेपालमै सबैभन्दा धेरै पानी पर्ने शहरका रूपमा प्रख्यात छ, पोखरा। दिनहुँजसो आकाशबाट घैला घोप्टिएझैं पर्ने पानीले पोखराको फोहोर बगाएको बरालले बताए। यसरी बगेको आकाशे पानी पोखरालाई चिरेर बग्ने फिर्केखोला, सेती नदी, बुलौंदी खोला र ढलमा गएर मिसिन्छन्।
फिर्केखोला र बुलौंदीखोला सिधै फेवातालमा गएर मिसिन्छ भने पोखराका मुख्य शहरी क्षेत्रका ढल पनि फेवातालमै पुगेर बिसर्जन हुन्छ। यसका अलवा पोखराका ढल प्रणाली सेती नदी र अन्य खोला नालामा पुगेर बिसर्जन हुने महानगरका इन्जिनियर शारदामोहन काफ्लेले बताए।
आवरणमा हेर्दा सुन्दरताको बखान गरेर नसकिने पोखराको प्रकृतिमा थुप्रिएको प्रदुषण पनि सफा गरेर नसकिने गरी बढ्न थालेको छ। वैशाख दोस्रो साता फेवातालको ड्यामसाइडमा थुप्रिएको फोहोरले सामाजिक सञ्जाल तताएको थियो। लगत्तै पोखराका युवाहरूले सामाजिक सञ्जालबाटै आह्वान गरेर ड्यामसाइडको फोहोर टिपेका थिए।
फेवातालको पानी सिंचाइ र विद्युत उत्पादन गर्न लैजाने कुलोमा दैनिक ५० जनाको समूहले लगातार ३ दिन लगाएर फोहोर टिपेको उक्त अभियानका संयोजनकर्ता आशिष पुरीले बताए। त्यतिबेला उनीहरूले टिपेको फोहोर झन्डै २ सय बोरा थियो, जुन पोखरा महानगरकै फोहोर बोक्ने गाडीले तीन खेप लगाएर ल्याण्डफिल साइट लगेको थियो।
फेवातालको पानी बगेर पुग्ने ड्यामसाइडमा थुप्रिएको उक्त फोहोरमा सबैभन्दा धेरै प्लाष्टिकजन्य पदार्थ रहेको पुरीले बताए। प्लाष्टिकका झोलादेखि बोतल र गिलास फोहोरका थुप्रोमा थिए, यसका अलवा सिसा र कपडाजन्य पदार्थसमेत फोहोरको डंगुरमा भेटिएका थिए।
११ वर्षदेखि पोखरामा सफाइ अभियान चलाउँदै आएका नागरिक अगुवा रामबहादुर पौडेल पनि पोखराको मुख्य समस्या नै प्लाष्टिकजन्य फोहोर जथाभावी फाल्ने प्रवृत्ति रहेको बताउँछन्। औपचारिक रूपमा पोखरा उपत्यका बृहत सफाइ अभियान थालेदेखि हरेक साता शनिबार उनीहरूले पोखरा सफाइ गर्दै आएका छन्। अहिलेसम्म उक्त अभियान २०५ औं श्रृङ्खला पार गरिसकेको छ।
यस्तै, गएको लकडाउनदेखि पोखरा सफाइ अभियान थालेको युवाहरूको संस्था हिल हिमालयजले पनि ५० औं पटक पोखरा सफाइ गरिसकेका छन्। यसका अलवा पोखरामा स-साना युवा समूह र विदेशी पर्यटकले समेत फेवाताल आसपास र पोखराका अन्य क्षेत्रमा सफाइ अभियान चलाउँदै आएका छन्। उनीहरूले टिपेका फोहोरमा पनि सबैभन्दा धेरै प्लाष्टिकजन्य पदार्थ नै रहेको हिल हिमालयजका अध्यक्ष रोशन गुरुङले बताए।
‘सबैभन्दा धेरै त प्लाष्टिकका झोला, बोतल, गिलास हुन्छन्’, गुरुङले भने, ‘त्यसपछि सिसा र अन्य फोहोर हुन्छन्।’
वातावरण र स्वास्थ्यमा गम्भीर असर पार्ने प्लाष्टिकजन्य पदार्थ पोखरामा थुप्रिन थाल्दासमेत महानगरपालिकाले भने यसतर्फ आँखा चिम्लेको सफाइ अभियानकर्ताहरू बताउँछन्। पोखराका खोलानाला र ताल फोहोर पारेर स्वच्छ र सफा पोखरा बन्न नसक्ने उनीहरूको निष्कर्ष छ।
५ वर्षअघि तत्कालीन पोखरा उपमहानगरले अभियान चलाएर गरेको एउटा घोषणाअनुसार पोखरामा यति धेरै प्लाष्टिकजन्य पदार्थ नपाइनु पर्ने हो। तत्कालीन पोखरा उपमहानगरपालिकाले २०७३ कात्तिक २४ गते पोखरालाई प्लाष्टिकका झोला र गिलास निषेधको घोषणा गरेको थियो। त्यतिबेला स्थानीय तहमा जनप्रतिनिधि आएका थिएनन्, पोखरा महानगरपालिका भएर जनप्रतिनिधि आएपछि उक्त घोषणा कार्यान्वयनमा आएन।
पोखरा उपमहानगरलाई प्लाष्टिकमुक्त बनाउन तत्कालीन प्रमुख कार्यकारी अधिकृत झलकराम अधिकारीले अग्रसरता लिएका थिए। उनले पोखरालाई प्लाष्टिकमुक्त बनाउन वरिष्ठ निरीक्षक बसन्त चालिसेको संयोजकत्वमा समिति बनाएका थिए। चालिसे नेतृत्वको समितिले तत्कालीन उपमहानगरका २९ वटै वडामा गएर सचेतना फैलाएको थियो।
प्लाष्टिकमुक्त पोखरा अभियान चलाउँदा त्यतिबेला धेरै खर्च पनि नभएको चालिसेले सम्झिए। उनीहरूले प्लाष्टिकजन्य पदार्थले वातावरण र स्वास्थ्यलाई पार्ने प्रभावको व्यापक प्रचार गरे। स्कुलहरूमा पुगेर विद्यार्थीलाई बताए। टोल विकास संस्था, आमा समूहलगायत अन्य सामाजिक समूहलाई प्लाष्टिकजन्य पदार्थले गर्ने हानी बताए। उनीहरूलाई पनि अभियानमा सहभागी गराए।
उनीहरूले त्यतिबेला पोखरा भित्रिने स्याङ्जाको नाका र तनहुँको नाकामा समेत अनुगमन गरेर कालो प्लाष्टिक, २० माइक्रोनभन्दा कमको प्लाष्टिक र प्लाष्टिकका गिलास भित्रिन दिएनन्। पसल-पसलमा पुगेर १ महिनाभित्र प्लाष्टिकजन्य पदार्थ खरिद-बिक्रीमा पूर्ण रूपमा बन्द गराउन अभियान चलाएका थिए।
यसरी अभियान चलाएर उनीहरूले पहिला वडा तहलाई प्लाष्टिकमुक्त वडा घोषणा गर्दै गए। तत्कालीन उपमहानगरका २९ वटै वडालाई प्लाष्टिकमुक्त घोषणा गरेपछि सिङ्गो उपमहानगरलाई नै प्लाष्टिकमुक्त घोषणा गरेका थिए। सडकमा र्याली निकालेर तामझामका साथ गरिएको उक्त घोषणा वर्ष दिन पनि टिकेन, कारण स्थानीय चुनाव।
‘प्लाष्टिकमुक्त पोखरा बनाउने हाम्रो अभियान त्यतिबेला ९५ प्रतिशत सफल भएको थियो’, चालिसेले सेतोपाटीलाई भने, ‘कर्मचारीतन्त्रले गरेका राम्रा काम जनप्रतिनिधिले अपनत्व लिएनन्, प्लाष्टिकमुक्त अभियानलाई जनप्रतिनिधिले साथ दिएनन्।’
त्यतिबेला प्लाष्टिकको विकल्पमा अन्य झोला प्रयोग गर्न थालेका थिए। कतिपय टोलमा स्थानीय महिलाले नै यस्ता झोला उत्पादन थालेको चालिसेले बताए। महानगरबाट झन्डै १ वर्षअघि अवकाश लिएका चालिसेले महानगरका मेयर मानबहादुर जिसीलाई पटक-पटक अनुरोध गर्दा पनि सुन्न नचाहेको बताए।
‘मेयरसाबले ध्यान नै दिनुभएन, यो कुरा सुन्नु न भन्दा वास्तै गर्नुभएन’, चालिसेले भने, ‘अहिले आएर प्लाष्टिकमुक्त पोखरा बनाउने अभियान पूर्ण रूपमा असफल भयो, हामीले केही गर्न सक्ने अवस्था नै रहेन।’
प्लाष्टिकमुक्त अभियान चलाउने बेला महानगरले गरेको अध्ययनमा पनि सबैभन्दा धेरै फोहोर प्लाष्टिकजन्य रहेको चालिसे बताउँछन्। उनका अनुसार बाँकी फोहोरमा केही सिसा र अन्य धातु थिए, प्लाष्टिकपछि धेरै फोहोर कुहिने खालका थिए, जसले वातावरण र स्वास्थ्यलाई धेरै हानी गर्दैनथ्यो। जागिरे जीवनको एउटा उदाहरणीय अभियान असफल हुँदा अहिले पनि चित्त दु:खेको चालिसेले गुनासो गरे।
‘प्लाष्टिकमुक्त पोखरा हाम्रो व्यक्तिगत कुरा थिएन, यो अभियान चलाउँदा अतिरिक्त तलब भत्ता पनि खाएका थिएनौं’, चालिसेले भने, ‘तपाईंले लेख्दिनुभए हुन्छ, मेयरसाबको साथ नपाएकै कारण यो अभियान असफल भयो।’
प्लाष्टिकमुक्त पोखरा घोषणा गरेपछि नगर प्रहरीसहित कर्मचारीको टोलीले अनुगमन बढाएको थियो। यसरी अनुगमन गर्दा कतिपय व्यवसायीसँग २५-३० हजार रुपैयाँ जरिवाना लिएको चालिसे सम्झन्छन्। प्लाष्टिक नियन्त्रण गर्न त्यतिबेला पोखरा उपमहानगरले प्लाष्टिकजन्य वस्तु नियन्त्रणसम्बन्धी निर्देशिकासमेत जारी गरेको थियो। यसका अलवा स्थानीय स्वायत्त शासन ऐनअनुसार कसुर हेरेर १५ हजार रुपैयाँसम्म जरिवाना लिने समेत उपमहानगरले निर्णय लिएको थियो।
प्लाष्टिकमुक्त पोखरा अभियानलाई जनप्रतिनिधिले उल्लङ्घन गरेको भन्दै नागरिक अगुवा रामबहादुर पौडेलले विरोध जनाउँदै आएका छन्।
‘प्लाष्टिकमुक्त पोखरालाई कार्यान्वयन नगरेर पोखराका जनप्रतिनिधि वातावरण संरक्षणमा गम्भीर छैन भन्ने प्रमाणित हुन्छ’, पौडेलले सेतोपाटीलाई भने, ‘जनप्रतिनिधिले जुन प्रकारका हेलचक्र्याइँ गरेका छन्, यसको हामी कडा विरोध जनाउँछौं।’
पोखराको फोहोरमैला नयाँ व्यवस्थापनका रूपमा अघि बढाउने योजना रहेको महानगरका सरसफाइ शाखा प्रमुख कल्पना बरालले बताइन्। अहिले महानगरले प्रयोग गरिरहेको ल्यान्डफिल साइट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ। नयाँ ल्यान्डफिल साइट बनाएर सरसफाइ व्यवस्थित गर्ने महानगरको योजना रहेको उनले बताइन्।
तर प्लाष्टिकमुक्त पोखरा बनाउने योजना भने महानगरले भनेको फोहोरमैलाको नयाँ व्यवस्थापनमा छैन। घरबाटै कुहिने फोहोर र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने योजना महानगरको रहेको बरालले बताइन्।
स्थानीय तहको निर्वाचन २०७४ मा सम्पन्न भएपछि प्लाष्टिकमुक्त पोखरा अभियान रोकिएको मात्र छैन, घोषणा भइसकेका अनुगममन समेत छाडिएको छ। महानगरका वातावरण मशाखा प्रमुख निर्मलमनसिँह भण्डारीका अनुसार जनप्रतिनिधिले फेरि उक्त अभियान ब्युँताउन सक्ने बताए।
‘प्लाष्टिक नियन्त्रण गर्न फेरि महानगरले समिति बनाएर अभियान चलायो भने प्लाष्टिक नियन्त्रण गर्न सकिन्छ’, भण्डारीले भने।
महानगरका मेयर मानबहादुर जिसी पोखरामा प्लाष्टिक नियन्त्रण गर्न अध्ययन भइरहेको दाबी गर्छन्। कर्मचारीतन्त्रले प्लाष्टिकमुक्त पोखरा घोषणा गरेकोतर्फ संकेत गर्दै उनले भने, ‘घोषणामात्रै गर्ने भए त जे पनि घोषणा गरिदिए हुन्थ्यो नि!’
यसै आर्थिक वर्षभित्र प्लाष्टिकजन्य पदार्थ कसरी व्यवस्थापन गर्ने भनेर अध्ययन प्रतिवेदन आउने भन्दै उनले सोहीअनुसार निर्णय लिने बताए।
‘पोखरामा कस्तो किसिमको प्लाष्टिक प्रयोग गर्न रोक लगाउने अध्ययन भइरहेको छ’, मेयर जिसीले सेतोपाटीलाई भने, ‘रिसाइकल गर्न सकिने प्लाष्टिक प्रयोग गर्न दिन सकिन्छ, नसकिने खालका रोकिन्छ।’