बजारमा अक्सिजनको माग घट्न थालेपछि शंकर ग्यास उद्योगले भारतबाट भाडामा ल्याएको तीन वटा लिक्विड अक्सिजन बोक्ने ट्यांकर फर्काउने भएको छ।
उद्योगका सञ्चालक शंकर अग्रवालले तीन वटा ट्यांकर फर्काउनेबारे सरकारलाई जानकारी गराएको बताए।
'अक्सिजनको माग पहिलेभन्दा धेरै कम भइसक्यो। अब भाडा मात्र तिरेर चलाउन सकिँदैन। त्यसैले ट्यांकर फर्काउनलाई स्वास्थ्य मन्त्रालय र मुख्य सचिवलाई भनेको छु। आज जवाफ दिने भन्नुभएको छ,' अग्रवालले भने।
शंकर ग्यासले झन्डै २५ दिन अगाडि लिक्विड अक्सिजन ओसार्नका लागि भारतबाट तीन वटा ट्यांकर भाडामा ल्याएको थियो।
जसमध्ये दुई वटा ट्यांकर नेपाल सरकारको समेत पहलबाट र एउटा ट्यांकर साथीको कम्पनीबाट जुटाइएको अग्रवाल बताउँछन्।
उनले एकचोटी लिक्विड अक्सिजन ल्याएको भाडामात्र ४ लाख ८० हजार रहेको भन्दै अहिले बजारमा अक्सिजनको माग घटेकाले तीन वटै ट्यांकर फिर्ता गर्न लागिएको जनाए।
शंकरले भारतको जम्सेदपुरबाट लिक्विड अक्सिजन ल्याइरहेको छ।
गत महिना नेपालमा कोरोनाका सिकिस्त बिरामीहरूको संख्या ह्वात्तै बढेपछि एकाएक अक्सिजनको हाहाकार भएको थियो। जसकारण अस्पतालहरूले संक्रमितको उपचार गर्न धेरै नै सकस भोग्नुपर्यो।
कतिपय अस्पतालले त अक्सिजन नभएको भन्दै संक्रमितको उपचार गर्न नसकिने भन्दै सार्वजनिक रूपमै हात उठाएका थिए। सरकारसँग पनि देशमा सिमित अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेकाले तत्काल अक्सिजनको अभाव टार्नलाई कुनै उपाय थिएन।
त्यो अवस्थामा अक्सिजन अभावको समस्या हल गर्ने एउटै उपाय भारतबाट लिक्विड अक्सिजन ल्याउनु थियो। तर त्यसका लागि नेपालका उद्योगीसँग ट्यांकर अभाव थियो।
शंकरसँग पनि दुई वटा मात्र ट्यांकर थियो। त्यो बेला शंकरले सरकारले थप पाँच वटा ट्यांकर जुटाइदिए देशभर अक्सिजन अभाव हुन नदिने ठोकुवा गरेको थियो।
तर ट्यांकर भारतमा मात्र थियो। अनि त्यसबेला भारत नै महामारीको नमिठो चपेटामा परेकाले त्यहाँ पनि ट्यांकरको अभाव थियो। जसले गर्दा शंकरको एकल पहलबाट मात्र भारतबाट ट्यांकर पाउन मुस्किल थियो। त्यसैले शंकरले नेपाल सरकारसँग ट्यांकरका लागि भारतसँग पहल गरिदिन आग्रह गरेको थियो।
नभन्दै सरकारको पहलबाट दुई वटा ट्यांकर भाडामा चलाउने गरी शंकरले पायो। त्यसमा एउटा ट्यांकर शंकरले साथीको कम्पनीबाट मिलायो। भारतबाट थप तीन वटा ट्यांकर पाएपछि शंकरले पहिलेभन्दा अस्पतालहरूलाई बढी अक्सिजन दिन थाल्यो।
त्यो भएपछि वैशाखको मध्यतिर देखिएको अक्सिजनको हाहाकार विस्तारै कम हुँदै गयो।
अहिले भने अस्पतालमा संक्रमितहरूको संख्या पनि कमी भएकाले अक्सिजनको माग कम हुँदै गएको छ। त्यसले गर्दा शंकरले आफूसँग पहिल्यै भएका ट्यांकरबाट ल्याइने अक्सिजनले अहिलेको मागलाई धान्ने भन्दै भाडामा ल्याइएका ती ट्यांकर फिर्ता गर्न लागेको हो।
अक्सिजनको माग कम हुन थालेपछि शंकरले आफ्ना केही प्लान्टहरूसमेत बन्द भएको भन्दै अग्रवालले भने, 'अहिले माग छैन। काठमाडौंमा रहेका दुईटा प्लान्टमा एउटा मात्र चलिरहेको छ। त्यो पनि दिनमा १२ घण्टा जति मात्र चल्छ।'
उनले नारायणगढमा रहेको प्लान्टमा पनि दिनमा ५० देखि ६० सिलिन्डरमात्र भर्ने गरिएको भन्दै उक्त प्लान्टको क्षमता दैनिक ९ सय सिलिन्डर भर्ने रहेको जनाए। अग्रवालले काठमाडौंमै पनि पहिले दिनमा दैनिक १४ सय सिलिन्डर अक्सिजन दिने गरेको अहिले दिनमा ८ सय सिलिन्डरमात्र माग भएको बताए।
लिक्विड अक्सिजनको सहज आपूर्ति भएपछि नै शंकरले काठमाडौंको टिचिङ अस्पताल र नेपालगञ्जको भेरी अस्पतालमा पनि अक्सिजन ट्यांक जोडेका छन्।
त्यसअघि भने शंकरले काठमाडौंको टेकु अस्पताल र ट्रमा सेन्टरमा मात्र लिक्विड अक्सिजन भर्दै आएको थियो।
पछिल्लो सातायता अस्पतालहरूमा संक्रमितको चाप घटेका कारण विस्तारै अक्सिजनको माग कम हुँदै गएको हो।
उपचाररत् बिरामीहरूमा पनि पहिलेजस्तो अक्सिजन दिनु नपरेको टेकु अस्पतालका डा. अनुप बाँस्तोलाले बताए।
'पहिले बिरामीलाई ७० देखि ८० लिटरसम्म अक्सिजन दिनपर्थ्यो भने अहिले दुई-चार लिटरले नै पुगिरहेको छ,' उनले भने।