रेलको बाटो पुग्दैछ रे, तिमी बस्ने शहरमा
हुम्ला कहिले मोटर आउला....।
जिल्ला अस्पताल मनाङमा कार्यरत नर्स उशा महतोले प्रस्तुत गीत पृष्ठभूमिमा राखेर शनिबार टिकटकमा एउटा भिडिओ पोष्ट गरिन्। भिडिओमा एउटा अक्सिजन सिलिन्डर २ जनाका दरले २ वटा सिलिन्डर चार जनाले बोकेका छन्। सिलिन्डरको भारले गलेर एक जनाले रोकिएर काँध फेर्छन्।
चट्टानी पहरा फोरेर बनाइएको बाटोमा झरना तर्न पाइपको फड्के राखिएको छ। अक्सिजन भरिएको गह्रुङ्गो सिलिन्डर बोकेर साँघुरो पाइपको फड्के तर्दै गरेको मर्मस्पर्शी दृश्यले बताउँछ, हिमालपारि मनाङमा कोरोनाविरूद्धको लडाइँ कति मार्मिक छ। उशाले टिकटकमा राखेको उक्त भिडिओ यो समाचार तयार पार्दासम्म ७ लाख पटक हेरिएको छ।
टिकटकमा भाइरल भएको यो भिडिओ शनिबार खिचिएको होइन। गण्डकी प्रदेश सरकारले जिल्ला अस्पताल मनाङका लागि गत बुधबार ५ वटा अक्सिजन सिलिन्डर पठायो। अक्सिजन बोकेर गएको गाडी बुधबार लमजुङ सदरमुकाम बेसीशहर बास बस्यो। बिहीबार सिलिन्डर मनाङतर्फ उकालो लाग्यो। तर अक्सिजन बोकेको गाडी सदरमुकाम चामे पुग्न सकेन।
बङ्गालको खाडीबाट जेठ दोस्रो साता उत्पन्न यास आँधीको प्रभाव नेपालका हिमालसम्म आइपुग्यो। जसले लगातार चार दिनसम्म वर्षा गराउँदा बेसीशहर-चामे सडक जेठ १६ गतेदेखि अवरूद्ध हुन पुगेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए।
‘बाढीले बगाएको स्यार्कुको पुल भएको ठाउँमा डाइभर्सन बनाएर बाटो खुलाए पनि तिमाङ झरनामा अझै बनेको छैन’, लामिछानेले भने, ‘तिमाङ झरनामा ‘कल्भर्ट’ पुल बनाउन अझै १०-१५ दिन लाग्ला।’
सिडिओ लामिछानेका अनुसार तिमाङ झरना ठूलो र सानो गरी दुइटा छन्। बाटैमा पर्ने यी झरना तर्न स्थानीयले एक ठाउँमा काठ र अर्को ठाउँमा पाइप राखेका छन्। मान्छे त्यही जोखिमपूर्ण पाइप र काठको फड्के तरेर वारपार गर्छन्। खुट्टा चिप्लिए सिधै मर्स्याङ्दीमा पुग्ने अवस्था गाडी गुड्न सक्ने कुरै भएन।
तिमाङ झरनाको पुल वर्षाले बगाइदिएकै कारण अक्सिजन सिलिन्डरसहित मेडिकल सामग्री बोकेर गएको गाडी बाटैमा छेकियो। अस्पतालले मेडिकल सामग्री लिन गाडीसहित उशालाई खटायो। बेसीशहरबाट दानाक्युसम्म पुगेको गाडीबाट मेडिकल सामग्री निकालेर उशाले चेकजाँच गरिन्। तिमाङ झनाबाट चामेतर्फ अड्किएको अस्पतालको गाडीसम्म पुर्याउन बोक्ने मान्छे खोजिन्।
तिमाङ झरनामा पुल हाल्न काम गर्ने मजदुरलाई नै उशाले मेडिकल सामग्री बोकिदिन आग्रह गरिन्। बाटो बिग्रिएकै कारण अक्सिजन नपाएर मानिसको ज्यान जाने अवस्था आउन नदिन मजदुर पनि सचेत नै थिए, उनीहरूले उशाको आग्रह तुरुन्त स्वीकारे।
‘तिमाङ झरना तार्न १५ मिनेटको बाटो ५ वटा अक्सिजन सिलिन्डरसहित मेडिकल सामग्री तार्दा १० जनाले सहयोग गर्नुभयो’, उशाले भनिन्, ‘सहयोग गरिदिए बापत उहाँहरूलाई ३ हजार रुपैयाँ दिएँ।’
मजदुरले अक्सिजन सिलिन्डरसहित मेडिकल सामग्री बोकेर तिमाङ झरना तर्न लाग्दा भिडिओ खिचेर शनिबार टिकटकमा पोष्ट गरेको उनले बताइन्।
मर्स्याङ्दी नदीको किनारै किनार पहराको बाटो गएको बेसीशहर–चामे सडकको ट्रयाक नेपाली सेनाले खोलेको हो। सेनाले ९ वर्षअघि सडक ट्रयाक खोलेर सडक विभागलाई हस्तान्तरण गरे पनि विभागले अहिलेसम्म १२ महिना गाडी चल्न सक्ने बनाउन सकेको छैन।
वर्षा सुरू नहुँदै परेको पानीले सडकका अन्य ठाउँमा पनि पुल भत्काएको छ। वर्षामा पहिरो झर्ने र पुल बगाउने घटना यो बाटोको नियति बनेको छ। सरकारले पक्की पुल बनाउन नसक्दा यस्तो घटना भएको स्थानीय बताउँछन्। अहिले पनि दुई जिल्ला जोड्ने बेसीशहर-चामे सडकमा स्थानीयले राखेको काठको पुलबाट मोटर तार्नुपर्ने अवस्था छ।
साँघुरो सडक र काठको पुलबाट मोटर तार्दा स्थानीयले धेरै ठाउँमा आँखा चिम्लनुपर्छ। छङ्गाछुर भिर काटेर बनेको सडकतल मर्स्याङ्दी गडगडाउँछ। हस्तारन्तरण भएको ९ वर्षमा पनि सडकको स्तरोन्नति नहुँदा बेसीशहर-चामे सडकको जम्मा ६५ किलोमिटर पार गर्न जीपलाई १० घन्टासम्म लाग्छ। सडकबाट होस् या झरनाको काठेपुल तर्दा वर्षेनी दुर्घटना बढ्दै गएको छ।
तिमाङ झरनामा पनि यसअघि काठको पुल राखिएको थियो, जुन १६ गतेको बाढीले बगाइदिएको सिडिओ लामिछानेले बताए। पुल नहुँदा सिङ्गो मनाङ जिल्ला अहिले सडक सञ्जालबाट टुटेको छ, जसको मार कोरोना संक्रमितको उपचारमा लैजानु पर्ने अक्सिजनसहित मेडिकल सामग्रीको ढुवानीमा परेको छ।
जिल्ला अस्पताल मनाङकी कार्यवाहक मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रतिभा गौलीका अनुसार सडक नहुँदा बिरामी रिफर गर्न पनि समस्या छ।
‘मेडिकल सामग्री ल्याउन मात्रै होइन, रिफर गर्दा बिरामी पनि मान्छेले नै बोक्नुपर्ने अवस्था छ’, डाक्टर गौलीले भनिन्, ‘कसै-कसैले हेलिकप्टर चार्टर गरेर जानुहुन्छ।’
मनाङमा अहिले कोरोनाको सक्रिय संक्रमित ४० जना छन्। जिल्लाभर १०४ जना संक्रमित भएकोमा २ जनाको पोखरामा मृत्यु भयो भने ६२ जना कोरोनामुक्त भए। जिल्ला अस्पताल मनाङको आइसोलेसनमा अहिले ९ जना संक्रमित उपचाररत छन्। जसमध्ये १ जना आइतबार थपिएका हुन् भने ४ जना आइतबार नै कोरोनामुक्त भएर डिस्चार्ज भएका थिए।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गौलीका अनुसार सडक अवरूद्ध हुँदा संक्रमितको पिसिआर परीक्षण पनि प्रभावित बनेको छ।
‘पिसिआर परीक्षण गर्न मनाङबाट स्वाब पोखरा पठाउनु पर्ने हुन्छ सडक सुचारू नहुँदा पठाउन सकिएको छैन’, उनले भनिन्, ‘एन्टिजेन परीक्षण गरेर उपचारमा लागेका छौं।’
एन्टिजेन परीक्षण गर्दा पनि दिनहुँ पोजेटिभ केस बढिरहेको डा. प्रतिभाले बताइन्।
मेडिकल सामग्री र स्वास्थ्यकर्मीको अभाव त देशभर छँदैछ, मनाङले भोग्नु परेको समस्या सडकपछि बिजुलीको हो। बिजुली अनियमित हुँदा जिल्ला अस्पताल मनाङमा अक्सिजन प्लान्ट राख्न समस्या आएको डाक्टर गौली बताउँछिन्। चामेमा केन्द्रीय प्रसारण लाइन पुगे पनि दिनहुँ जाने बिजुली र थ्री फेज लाइनमा समस्या भएको उनले बताइन्।
अन्यत्रजस्तै मनाङमा पनि लक्षण देखिएका संक्रमितको मात्र जिल्ला अस्पतालको आइसोलेसनमा उपचार हुन्छ। १५ बेडको अस्पतालमा चामे गाउँपालिकाले छुट्टै १० बेडको आइसोलेसन भवन बनाइदिएको छ। त्यहीँ संक्रमितको उपचार गरेको डाक्टर गौलीले बताइन्। संक्रमितको संख्या बढ्दा अस्पतालले आइसोलेसनबाहेक अन्य बेडमा राखेर संक्रमितको उपचार गरिरहेको छ।
अस्पतालमा अक्सिजन प्लान्ट राख्न गत वर्ष नै प्रदेश सरकारले दिएको बजेटबाट मेसिन खरिद गरिसकेको छ। प्लान्ट इन्स्टल गर्न र सञ्चालन गर्न थ्री फेज लाइनको समस्या भएको उनले बताइन्। अहिले अस्पतालले अक्सिजन कन्सन्ट्रेटरबाट बिरामीलाई अक्सिजन दिएको छ। हाइफ्लोमा अक्सिजन चाहिने संक्रमितलाई मात्रै सिलिन्डर प्रयोग गरेको डाक्टर गौलीले बताइन्।
‘अहिले हामीसँग १८ वटा अक्सिजन सिलिन्डर छ, पोखराबाट भरेर ल्याउनुपर्छ, त्यसका लागि बाटो बन्द छ’, उनले सेतोपाटीसँग भनिन्, ‘फारो गरेर अक्सिजन सिलिन्डर चलाउनु परेको छ, यसरी चलाउँदा पनि दैनिक २ वटा सिलिन्डर सकिन्छ।’
कोरोना महामारीमा मात्र नभई अरुबेला पनि मनाङमा लेक लाग्ने (हाइअल्टिच्युड)का बिरामी आउने भएकाले अक्सिजनको समस्या तड्कारो भएको उनले बताइन्। लेक लागेका बिरामीलाई पनि अक्सिजन दिएर उपचार गर्नुपर्ने उनले जानकारी दिइन्।
बिजुली अनियमित हुँदा अक्सिजन कन्सन्टेटर चलाउन समस्या भएको उनले बताइन्। २४ सै घन्टा जेनेरेटर चलाउन तेल लिन बेसीशहर पुग्नुपर्छ। तेल खरिद गर्न पनि बाटौ नै चाहियो। बाटो र बिजुलीपछि मनाङले भोगेको चर्को समस्या मानव संशाधनको हो, जुन अहिले पनि अभाव छ।
गण्डकी सरकारको सहयोगमा मनाङ जिल्ला अस्पतालले आइसियु वार्ड स्थापना गरेको छ। तर आइसियु चलाउन चाहिने विशेषज्ञ सहितको जनशक्ति पठाउन सकेको छैन। आइसियु चलाउन आवश्यक कन्सल्टेन्ट डाक्टर सहित तालिम प्राप्त नर्सिङ स्टाफ चाहिने डा. प्रतिभाले बताइन्। उनका अनुासर अक्सिजन प्लान्ट इन्स्टल गर्न आवश्यक जनशक्ति पनि मनाङ जिल्ला अस्पतालमा छैनन्।
गतवर्ष कोरोना महामारीको पहिलो लहर आउँदा मनाङ जिल्ला अस्पताल एक जना डाक्टरको भरमा चलेको थियो, त्यही पनि करार सेवामा नियुक्त भएका डाक्टर। अत्याधिक चिसो, दुर्गम र अस्पताल सञ्चालनका लागि आवश्यक मेडिकल सामग्रीका साथै अन्य सुविधाको अभावले मनाङमा सरकारी कर्मचारी जान मान्दैनन्।
प्राकृतिक सोन्दर्यले भरिपूर्ण मनाङमा हिउँदमा अत्याधिक हिउँ पर्छ भने वर्षातले बाटो नै बन्द गराउँछ। भौगोलिक कठिनाइले पनि कर्मचारी मनाङ बस्न रुचाउँदैनन्।
कोरोनाको पहिलो कहरमा मेडिकल सुपरिटेन्डेन्टको समेत कार्यवाहक जिम्मेवारी लिएर करार सेवामा नियुक्त डाक्टर सन्तोष अधिकारीले मनाङमा २ वर्ष काम गरे। करार अवधि सकिएपछि उनी मनाङबाट बाहिरिए।
कोरोना महामारीका बेला मनाङमा डाक्टरसहित स्वास्थ्यकर्मी नभएको थाहा पाएपछि डाक्टर गौली आफैं मनाङ जान तम्सिएकी थिइन्। पोखराको मातृशिशु मितेरी अस्पतालमा कार्यरत उनी दुर्गमतिर सेवा गर्न पाउँ भनेरै गत वर्ष मनाङ हानिएकी हुन्। लमजुङको कुन्छा निवासी गौली तनहुँको भिमादमा करार सेवामा काम गर्दागर्दै २०७५ देखि सरकारी सेवामा छिरेकी थिइन्।
‘म मनाङ आउँदा करारमा नियुक्त हुनुभएको डाक्टर सन्तोषमात्र अस्पतालमा हुनुहुन्थ्यो’, उनले भनिन्, ‘मलाई दुर्गममा काम गर्न मन थियो, मेरै इच्छाले रोजेर मनाङ आएकी हुँ।’
कोरोना संक्रमितको संख्या बढेसँगै उनले अस्पतालमा थप स्वास्थ्यकर्मी नियुक्त गरेकी छिन्।
अहिले जिल्ला अस्पताल मनाङमा गौलीसहित ४ जना मेडिकल अधिकृत, ४ जना नर्स, ३ जना पारामेडिक्स, १ जना रेडियोग्राफर, १ जना ल्याब टेक्निसियन, फार्मेसी सहायक १ जना र कार्यालय सहयोगी १० जना छन्। जसमध्ये अधिकांश करारमा नियुक्त भएका छन्। जुन डाक्टर गौलीले मनाङ पुगेर नियुक्त गरेका हुन्।
जिल्ला अस्पतालमा आइसियुलगायतका सेवा सञ्चालन गर्न र अक्सिजन प्लान्ट चलाउन प्रदेश सरकारसँग कन्सल्टेन्ट डाक्टरसहित थप जनशक्ति मागेको उनले बताइन्। मनाङ बसेर सेवा दिँदा आफूलाई सन्तुष्टि मिलेको बताउँदै डाक्ट गौलीले थपिन्, ‘बाटो, बिजुली र जनशक्ति भए अझै धेरै सेवा दिन सकिन्थ्यो।’