राउटे युवतीमाथि भएको यौन हिंसापछि राउटे वस्ती प्रहरीको प्रत्यक्ष निगारनीमा राखिएको छ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएको राउटे वस्ती नजिक पर्ने प्रहरी चौकीको निगरानीमा राखिएको हो ।
अनाधिकृत रुपमा मानिसहरुको आवतजावत बस्तीमा हुन थालेपछि सुरक्षालाई मध्यनजर गर्दै प्रहरीको निगरानी बढाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्त प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
‘मानिसहरू अनावश्यक रुपमा राउटे वस्तीमा जान थालेपछि त्यसलाई रोक्न हामीले निगरानीमा राखेका छौं,’ उनले भने।
जेठ २१ गते राति गुर्भाकोट–९ बोटेचौरमा रहेको शुभकामना होटलको कोठामा राखेर मदिरा सेवन गराई यौन हिंसा गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्। बोटेचौरका चमनसिंह घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक मिलन पुनलाई आइतबार बिहान ३ बजे पक्राउ गरिएको थियो ।
यस्तै पक्राउ परेका तीन जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिईएको छ। १९ र २३ वर्षकी राउटे युवतीलाई उनीहरुले रातको समयमा होटलमा बन्दक बनाएर यौन हिंसा गरेको भिडियो पनि सार्वजनिक भएको थियो।
उनीहरूविरुद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जर्बजस्ती करणीको मुद्दा चलाउन किटानी जाहेरी आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
यस्तै गुर्भाकोट नगरपालिकाले पनि राउटे वस्तीमा आवतजावतमा कडाई गरेको छ। समाचार संकलन, डकुमेन्ट्री, राहत वितरण जस्ता कार्यका लागि आउने मानिसले नगरपालिकासँग समन्वय गरेर मात्र आउनुपर्ने नगरपालिकाले बताएको छ।
यौन हिंसाको घटना सार्वजनिक भएपछि नगरपालिकाले टिकटक, युट्युव जस्ता मनोरञ्जनात्मक सामग्रीहरु तयार पार्न राउटे वस्तीमा जान रोक लगाईएको जानकारी दिएको छ।
फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय पछिल्लो समय दैलेख र सुर्खेत जिल्लाका विभिन्न ठाउँ परिवर्तन गर्दै बस्दै आएका छन्।