खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई अहिले गाउँमा रहेका संक्रमितलाई आइसोलेसन पुर्याउन पिपिई लगाएर आफैं अघि सर्छन्। गाउँका मान्छेहरू पनि अप्ठेरो पर्यो कि उनै अध्यक्षलाई फोन गर्छन्।
गत जेठ १४ गते गाउँपालिका-२ डाँडागाउँस्थित होम आइसोलेसनमा रहेकी एकजना संक्रमित महिला बेहोस भइन्। लगत्तै परिवारले गाउँपालिकाको एम्बुलेन्सलाई सम्पर्क गरे। तर एम्बुलेन्स बिग्रिएकाले आउन नसक्ने भन्दै चालकले जवाफ दिए।
एम्बुलेन्स नपाएपछि बिरामीका परिवार झन् अत्तालिए। त्यसपछि उनीहरूले सिधै अध्यक्ष राईलाई फोन गरेर आफ्ना समस्या सुनाए। अध्यक्ष राईले पनि एम्बुलेन्स चालकलाई फोन गरे तर चालकले एम्बुलेन्स बनिनसकेको जवाफ दिए।
एम्बुलेन्स नपाउने भएपछि अध्यक्ष राईले परिवारलाई बिरामी लिन आफैं आउने भन्दै नआत्तिन सान्त्वना दिए। त्यसपछि पिपिई सेट लगाएर अध्यक्ष राई एकजना स्वास्थ्यकर्मीसहित आफूले चढ्दै आएको गाडी लिएर बिरामी लिन हुइँकिए। तर गाडी बिरामीको घरसम्मै पुग्न सक्थेन। त्यसैले उनले गाडी बाटोमै रोके अनि हिँडेरै बिरामी भएकहाँ पुगे।
बिरामीको अवस्था हेर्दा जतिसक्दो चाँडो अस्पताल पुर्याउनु पर्ने देखिएपछि कसरी बाटोसम्म पुर्याउने भनेर गन्थन हुनथाल्यो। अध्यक्ष राईले यस्तो बेला अलमल गर्न नहुने भन्दै आफैंले बिरामी बोक्ने भनेर कस्सिए।
'बिरामी बेहोस थिइन्। जतिसक्दो चाँडो अस्पताल पुर्याउनु थियो। तर पिपिई लगाएकोमध्ये एकजना स्वास्थ्यकर्मी र म मात्र थियौं। त्यसैले आफैं बिरामीलाई बोक्छु भनेर अघि सरे,' अध्यक्ष राईले सेतोपाटीसँग भने, 'स्वास्थ्यकर्मी र सेनाले पिपिई लगाएरै संक्रमितको उपचार र दाहसंस्कार गरिरहेका छन्। अनि उहाँहरूलाई संक्रमण सर्दैन भनेपछि हामी जनप्रतिनिधिलाई पनि त सर्दैन होला भनेर कर्तव्य ठानेर आफैं बिरामी बोकेर अस्पताल पुर्याउने काम गरें।'
उनले अहिलेसम्म त्यस्ता समस्या भएका चार जना संक्रमितलाई आइसोलेसन सेन्टर पुर्याएको सुनाए। बाटोका कारण गाडी संक्रमितहरूको घर-घरसम्मै नपुग्ने भन्दै अध्यक्ष राईले अहिलेसम्म सबैलाई आफूले नै बोकेर गाडीसम्म ल्याउने गरेको बताए। 'सबै संक्रमितको घरमा गाडी पुग्दैन। त्यसैले बिरामीलाई बाटोसम्म ल्याउन कम्तिमा १५ देखि २० मिनेट बोक्नुपर्छ। अहिलेसम्म सबैलाई आफैंले बोकिरहेको छु,' उनले भने।
अध्यक्ष राईले त्यसरी स्वास्थ्यमा समस्या भएका संक्रमितहरूलाई गाउँपालिका वडा नम्बर १ स्थित याम्खामा बनाइएको आइसोलेसन सेन्टरमा लगिएको जनाए। याम्खामा २५ बेडको आइसोलेसन सेन्टर रहेको र अक्सिजनको सुविधा पनि भएको उल्लेख गर्दै उनले भने, 'अहिले हाम्रोमा ९१ जना संक्रमित हुनुहुन्छ। त्यसमध्ये २५ जना आइसोलेसन सेन्टरमा छन्। बाँकी भने घरघरमा हुनुहुन्छ।'
उनले सामान्य अवस्था भएका संक्रमितलाई घरमै बस्न भनिएको र पछि स्वास्थ्यमा समस्या देखिएपछि मात्र आइसोलेसन सेन्टरमा लगिने गरेको बताए। घरमा रहेका संक्रमितलाई स्वास्थ्यमा समस्या देखिए तुरून्त खबर गर्न भनिएको भन्दै त्यस्तो हुनसाथ आफू नै गाडी लिएर बिरामी लिन जाने गरेको अध्यक्ष राई बताउँछन्।
अध्यक्ष राईले पिपिई लगाएर बिरामी बोकेर हिँड्दा गिज्याउने मान्छेहरू पनि छन्। कति जना प्रचारका लागिमात्र गरेको भन्नेहरू पनि रहेको भन्दै उनले भने, 'केही साथीहरूले त्यस्तो कमेन्ट गरेको पाइयो। तर जसलाई प्रचार चाहिन्छ उहाँहरूलाई यहाँ आएर बिरामी बोक्न अनुरोध गर्छु। सहरमा जस्तो घरघर गाडी पुग्ने स्थिति हाम्रोमा छैन। त्यसैले यो प्रचारका लागि गरेको हैन, हाम्रो बाध्यता हो।'
अध्यक्ष राईले यो कामलाई जारी राख्ने भन्दै कसैलाई समस्या पर्नसाथ सिधै आफूलाई फोन गर्न अनुरोध गरेका छन्। उनले हिजो मात्र डेढ सय जनाको पिसिआर परीक्षण गर्दा एक जना महिला स्वास्थ्यका कारण आउन नसकेपछि आधा घन्टा हिँडेर ती महिलाको घरमै पुगेर परीक्षण गरिएको जनाए। यसरी जनप्रतिनिधि नै अघि नसरे महामारी नियन्त्रणमा नआउने उल्लेख गर्दै उनले भने 'यो महामारीको बेला हो र यस्तो बेला जनप्रतिनिधिले आदेशमात्र दिएर हुँदैन। आफैं मैदानमा उत्रिनुपर्छ। जनतालाई समस्या पर्दा आदेशमात्र दिने अनि हात बाँधेर बस्ने हो भने पछि त्यो हामीलाई नै घाटा हुन्छ। त्यसैले कर्तव्य ठानेर मैदानमा उत्रेको हुँ।'
यसरी संक्रमितलाई आफैं बोकेर अस्पताल पुर्याउने अध्यक्ष राईले आफूलाई पनि सुरक्षित राख्न जनस्वास्थ्यका मापदण्ड अपनाएका छन्। अहिले आफू परिवारसँग रहे पनि घरमा छुट्टै कोठामा बस्ने गरेको बताए।
'छुट्टै कोठामा बसिरहेको छु। बिहान र बेलुका नुहाउँछु। मास्क, स्यानिटाइजर लगाउने कुरा र भौतिक दूरी कायम गर्ने कुरा त अनिवार्य भइहाल्यो,' उनले भने।