काठमाडौं महानगरपालिका-६ बौद्धस्थित बौद्ध प्लानिङ क्षेत्रबाट मंगलबार बिहान प्रहरीलाई फोन आएको थियो।
जलेको अवस्थामा एउटा खुट्टा फेला परेको खबर बौद्ध प्रहरीमा गएको थियो।
महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार दुबो टिप्न जाँदा एक महिलाले जलेको खुट्टा देखेकी थिइन्।
फोहोर फाल्ने ठाउँमा बोरामा पोको पारेर खुट्टामात्रै फालिएको थियो। पुरुषको हो कि महिलाको छुट्याउन नसकिने गरी जलेको अवस्थामा खुट्टा भेटिएको थियो।
बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार घुँडामुनिको भागमात्रै फेला परेको छ। जलेको शव भेटिएको नजिकै एउटा टिसर्ट फेला परेको छ।
त्यहाँ आगो लागेको वा कुनै वस्तु डढाइएको देखिँदैन। त्यसकारण शवको एउटा भागमात्रै ल्याएर फालिएको प्रष्ट देखिन्छ।
‘घटनाको प्रकृति हेर्दा हत्याको आशंका मजबुत देखिन्छ,’ प्रहरी नायब उपरीक्षक कार्कीले सेतोपाटीसँग भने।
तर, यो हिजोआजैको घटना होइन भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिन्छ।
‘एक दुई साताअघि नै जलाइएको हो जस्तो देखिन्छ,’ कार्कीले भने।
कार्कीका अनुसार घुँडामुनिको भाग काटेर त्यहाँ फालिएको देखिन्छ। अर्थात्, शव व्यवस्थापन गर्ने क्रममा एउटा भाग काटेर यहाँ फालियो, शवका अरू भाग अन्यत्रै व्यवस्थापन गरियो।
यो घटनामा दुईथरी आँकलन गर्न सकिने कार्कीले बताए।
पहिलो, हत्यापछि शव जलाइयो। शरीरका अरू भाग अन्यत्रै फालियो या जलिनसकेको भाग काटेर यहाँ फालियो।
अर्को, जलाएर हत्या गरियो। बाँकी रहेको शरीरको भाग फाल्ने क्रममा क्रममा एउटा खुट्टा त्यहाँ ल्याइयो।
कार्कीका अनुसार शव बाहिर जलाइएको होइन। स्वभाविक मृत्युबाहेकको घटनामा खुला ठाउँमा शव जलाउन सजिलो छैन।
‘त्यसकारण कतै कुनै गोप्य स्थानमा जलाएर बाँकी रहेको भाग यहाँ फालिएको हो भन्नेतर्फ हाम्रो अनुसन्धान केन्द्रित छ,’ कार्कीले भने।
घटनाबाट केही वरपर होटल तथा लजहरू पनि छन्। प्लानिङ क्षेत्र भएकाले यहाँ धनीहरूको बढी बसोबास छ।
तर, घटना कहाँ भएको हो भन्नेबारे पत्ता लागिसकेको छैन। महानगरीय प्रहरी वृत्त बौद्ध, महानगरीय अपराध महाशाखाको टोली घटना अनुसन्धानमा जुटेको छ।
जलेको भाग अनुसन्धानका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।
प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार शिक्षण अस्पतालको फरेन्सिक विशेषज्ञ टोली पनि घटना अनुसन्धानमा छ।
डाक्टर गोपाल चौधरीको टोली घटनास्थल पुगेको थियो। रितपूर्वक घटनास्थल मुचुल्का संकलन गरी यो टोलीलाई जलेको खुट्टा बुझाइएको छ।
टोलीले शवलाई राम्ररी पखालेर अनुसन्धान हुने जनायो। जलेको भागको मासुको टुक्रा, हड्डीको ल्याब परीक्षण गरिने डा. चौधरीले बताए।
‘पहिलो कुरा त यो पुरुष हो वा महिला हो छुट्याउनुपर्छ, त्यसका लागि डिएनए परीक्षण हुन्छ, कुरकुरे हड्डी बाँकी रहेछ भने उमेर समूह पनि पत्ता लाग्छ,’ चौधरीले भने। हड्डीको अध्ययनबाट पनि धेरै कुरा पत्ता लाग्ने उनले बताए।
यस्तो खालको अनुसन्धानलाई चिकित्सकले ‘मोर्फोलोजिकल स्टडी’ भन्ने गरेका छन्।
तर, जलेको भागबाट हत्याको अनुसन्धान भने हुन सक्दैन। ‘हत्या हो वा होइन भन्ने यो भागबाट पत्ता लाग्दैन,’ चौधरीले भने।
त्यसैले, घटनाको सूक्ष्म अनुसन्धानमा प्रहरीको भूमिका महत्वपूर्ण हुने देखिन्छ। शरीरको अरू भाग भेटिन सके अनुसन्धानले गति लिने डिएसपी कार्कीले बताए।
‘हामी घटनाको अनुसन्धानमा लागेका छौं, शंकास्पद ठाउँहरूको पहिचान गर्ने काम भइरहेको छ,’ उनले भने।
घटनास्थल पुगेर फर्किएका महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी चन्द्रकुबेर खापुङका अनुसार बोराभित्र पराल पनि फेला परेको छ। त्यसकारण, वरपरका फोहोरमा कसैले आगो लगाइदिइहाले परालसँग खुट्टा पनि जलोस् भन्ने मनसाय देखिन्छ।
निकै चलाखीपूर्वक शव व्यवस्थापन गर्न खोजेको देखिएको खापुङले बताए।
‘प्लानिङकै बाहिरपट्टि रहेको एउटा जग्गामा ल्याएर फालिएको छ, फरेन्सिक डाक्टरले तीन साताअघि जलाएको आशंका गरेका छन्,’ खापुङले भने।
खापुङका अनुसार घटना अनुसन्धानका लागि देशभरि हराइरहेका व्यक्तिहरूको विवरण संकलन गर्न थालिएको छ। त्यसबाट को कहाँबाट हरायो भन्ने पत्ता लाग्न सक्छ।
‘अहिलेको मुख्य विषय शव पहिचानकै छ, महिला, पुरुष के हो यो फरेन्सिक विज्ञले अनुसन्धानबाट पत्ता लगाउँछन्,’ खापुङले भने, ‘हामी अहिले हराइरहेका व्यक्तिहरूको संख्या विश्लेषण गरिरहेका छौं।’