भक्तपुरको सूर्यविनायक नगरपालिकामा खोप लगाउन माग गर्दै युवाहरूले विरोध गरेका छन्। उनीहरूको विरोधपछि केहीबेर सेवा अवरूद्ध भएको छ।
नगरपालिका वडा नम्बर ५ कटुञ्जेस्थित स्वास्थ्य चौकीमा उमेर समूहमा नपरेका युवा पनि लाइनमा बसेर स्वास्थ्यकर्मीमाथि नै दुर्व्यवहार भएपछि सेवा अवरूद्ध भएको हो।
स्वास्थ्यकर्मी, स्वयंमसेवकलाई दुर्व्यवहार गरेर खोप लगाउन लाइनमा बसेपछि खोप लगाउने काम अवरूद्ध भएको कटुञ्जे स्वास्थ्य चौकी प्रमुख स्वस्तिका आचार्यले सेतोपाटीलाई बताइन्।
मंगलबारबाट ६० देखि ६४ उमेर समूहलाई चिनियाँ खोप भेरोसेल दिन लागेको हो। तर कटुञ्जेमा भने २५ देखि ३० वर्ष उमेर समूहका मानिसहरू पनि खोप लगाउन आएर जबरजस्ती आफूहरूलाई पनि खोप लगाइदिन भनेपछि अवरोध भएको हो।
'६०-६४ उमेर समुहलाई लगाइदिन भनेर स्वास्थ्य मन्त्रालयको निर्देशन भएबमोजिम लगाइरहेका थियौं। छुटेका स्वास्थ्यकर्मीलाई पनि लगाइरहेका थियौं। तर यहाँ उमेर समूहमा नपर्नेहरू मान्छेहरू आएर हंगामा गरेर, हामीलाई धम्क्याएर तोडफोड हुने स्थिति आयो। धेरै दबाब आयो,' आचार्यले भनिन्।
दबाबमा आएपछि उनले जिल्लाको स्वास्थ्य संयोजकलाई खबर गरेर खोप लगाउने काम स्थागित गरेकी हुन्।
उनलाई आफूले भनेका व्यक्तिहरूलाई खोप नलगाइदिए कटुञ्जेमा धेरै नटिक्ने भन्दै धम्की दिएको बताइन्।
'उमेर समूह नपुगेकाले हामीलाई पनि सुई लगाइदिनुपर्ने भनेर लाइनमा बस्ने, स्वयमसेवकलाई दुर्व्यवहार गर्ने, हामीले भिडिओ खिचेका छौं ६० देखि ६४ उमेर समूहका कति जनाले लगाएका छन् भनेर। दुई तीन जनालाई लगाइदिनु भनेर अनुरोध गरेका थिए। केही हप्तामा अर्को खोप आउँछ भनेर मैले एकदमै सम्झाउन खोजे। तर उहाँहरूले तीन हप्ता सम्म तपाई रहे पो त, टिक्नु भए पो त कटुञ्जेमा भनेर धम्की आयो।’
अहिले प्रहरीको सहयोगमा खोप लगाउने काम सुरू भएको छ।
हेर्नुस् फोटो र भिडिओ: