मान्छेको होहल्ला होइन, जनावर, कीरा, चरा र प्रकृतिको आवाज सुन्दै म सरस्वती मन्दिरबाट स्वयम्भू स्तुपतिर उक्लिएँ।
सुनसान स्वयम्भू परिसर फन्को लगाएर फर्किन मात्र लागेकी थिएँ, दुई जना हरियो र पारदर्शी भाँडोमा खाना लिएर आए। एक जना पछिपछि भिडिओ खिच्दै थिए।
उनीहरू आउनेबित्तिकै कुकुरहरू हुल बाँधेर वरिपरि झुम्मिए। त्यति धेरै कुकुरको भिड देखेर एक्लै रूखमा अल्झिएको एउटा बाँदर त्यहीँको सूचना बोर्डमा अलमलिएर बस्यो।
जब खाना बोकेर आएका मान्छेले विभिन्न ठाउँमा खाना राखिदिँदै गए, कुकुरहरू त झगडा पो गर्न थाले।
खाना बाँडिरहेका एक जनालाई मैले सोधेँ, 'उनीहरू किन यसरी कराएका?'
'आफ्नो इलाकामा अरू कुकुर आएकाले कराएका हुन्,' उनले भने।
खाना खुवाउने काम सकिएपछि उनीहरूसँग कुराकानी भयो। अघि कुकुरबारे बताइरहेका व्यक्तिको नाम रहेछ, जनक कपाली। उनी 'र्याम्बो एबी पेट सर्भिस' नामक संस्थाबाट तालिम दिने काम पनि गर्छन्।
'कुकुरहरूको आ–आफ्नो इलाका हुन्छ। आफ्नो इलाकाबाहिरको कुकुर आए उनीहरू झगडा गर्न थाल्छन्। यो उनीहरूको स्वभावै हो,' अगाडिकै प्रश्नको थप जवाफ दिँदै उनले भने, 'तर भोकाएका बेला कुन आफ्नो इलाका, कुन अर्काको? त्यस्तो बेला तेरो–मेरो भन्ने नै नहुने रहेछ।'
उनले बाँदरको स्वभावबारे पनि बताइहाले, 'बाँदर भने खानेकुरा देख्यो कि खोस्न आउने खालका हुन्छन्। यहाँका बाँदर भने मैत्रीपूर्ण नै छन्। हामी उनीहरूलाई हातैमा पनि बिस्कुट दिन्छौं।'
जनकसँगै आएका अर्का मान्छे उनका बालापनदेखिका साथी नवीन सिंह हुन्। उनी पहिला टेक्सटायल इञ्जिनियरका रूपमा काम गर्थे। अहिले मोबाइल, ल्यापटपको गडबडी ठीक गर्ने प्राविधिक छन्। त्योबाहेक सामाजिक र सम्पदा अभियन्ता पनि हुन्।
अर्का साथी भने ट्याक्सी चालक प्रदीप बिके, जसको ट्याक्सीमा बसेर उनीहरू विभिन्न ठाउँका जनावरलाई खानेकुरा खुवाउँदै हिँडछन्। विभिन्न ठाउँ पुग्दा खर्च भएको तेल साथीहरूले हालिदिन्छन्।
यी तीन जना साथी डल्लु आवास क्षेत्रतिर बस्छन्। एकअर्काका छिमेकी पनि हुन्। पहिलो लकडाउनदेखि नै उनीहरू जनावरलाई खाना खुवाउन कहिले स्वयम्भू, पशुपति त कहिले वसन्तपुर पुगेका छन्।
उनीहरू सबैको नेतृत्व जनकले नै गरिरहेका छन्। उनकै घरमा जनावरका लागि भात, मासु, अन्डा, दूध लगायत पकाइन्छ।
'खाना पकाउन मेरी श्रीमती र बहिनीहरूले मद्दत गर्छन्,' उनले भने, 'सबै सामग्री जुटाउन साथीभाइले सहयोग गरिरहेका छन्।'
उनीहरू बिहान ७ बजे घरबाट हिँड्छन्। चक्रपथ, कालिमाटी हुँदै बिजयेश्वरी, अजिमा हल, भगवानपाउ लगायत ठाउँ पुग्छन्। आइतबार उनीहरूसँग सरस्वती मन्दिर परिसरमा करिब ११ बजेतिर भेट भएको थियो। त्यो उनीहरूको स्वयम्भू क्षेत्रको अन्तिम गन्तव्य रहेछ।
कुकुर र बाँदरका लागि उनीहरू भात र बिस्कुट ल्याउँछन्। दिनमा करिब १५ किलो चामल, दुई हजार रूपैयाँको मासु र पाँच क्रेट अन्डा खर्च हुने जनकले बताए। त्यसैगरी हजार रूपैयाँको बिस्कुट किनिन्छ।
बेलुकी ५ बजेतिर उनीहरू वसन्तपुर क्षेत्रमा परेवालाई चामल खुवाउन जान्छन्। त्यसका लागि छुट्टै पाँच किलो चामल लिएर जाने उनले जानकारी दिए।
उनीहरू कुनै कुनै दिन जनावरलाई केरा, खरबुजा लगायत फलफूल पनि खुवाउँछन्। कुकुरका साना छाउरालाई भने दूध दिन्छन्। त्यस दिन बाटामा अलपत्र छाडिएका दुई कुकुरका छाउरालाई उनीहरूले आफ्नो ट्याक्सीमै हालेर ल्याएका थिए।
'यो मसँगै मेरो घर जान्छ,' जनकले भने, 'कसैले यसलाई पाल्छु भन्दै आए लैजान सक्छन्।'
त्यसो त उनको घरमा पहिल्यै १४ वटा कुकुर छन्। आठ वर्षको र्याम्बो (जर्मन सेफर्ड) र उति नै वर्षको एबी (पग) उनले सुरूमा पालेका दुई कुकुर हुन्। यीबाहेक अरू कुकुर भने उनले सडकमा भेटेर ल्याएका हुन्।
आफूले सुरूमा पालेका र्याम्बो र एबीलाई जनक आफ्ना छोराछोरीजस्तै माया गर्ने बताउँछन्। र्याम्बोले त रेखा फिल्मस् प्रोडकसनका फिल्म 'रूद्रप्रिया' र किशोर खतिवडा निर्देशित 'सुत्केरी' मा अभिनयसमेत गरेको रहेछ।
'रूद्रप्रिया' अहिले युट्युबमा हेर्न सकिन्छ। 'सुत्केरी' भने छायांकन भइसके पनि कोरोना महामारी कारण प्रदर्शनमा आउन सकेको छैन।
आफूले छोराजत्तिकै ठानेर पालेको र्याम्बो अहिले उनीसँग छैन। लकडाउनको समय हृदयघातका कारण उसको मृत्यु भयो। छोराजस्तै मानेकाले मान्छेझैं १३ दिनको काजकिरिया पनि गरेको उनले बताए।
'आफ्नै घरअगाडिको बगैंचामा उसलाई गाडेको थिएँ। काजकिरिया सकेपछि त्यहाँ बिरूवाहरू रोपेँ,' उनले भने।
र्याम्बोले फिल्ममा खेल्नुको कारण ऊ तालिमप्राप्त कुकुर भएर हो। उसलाई जनकले नै तालिम दिएका हुन्। करिब सात वर्षअघि जनक युरोप भ्रमणमा गएका थिए। त्यस बेला बेल्जियम, जर्मनी, हल्यान्ड लगायत विभिन्न देश घुमे।
हल्यान्डमा उनकी साथीकी आमा कुकुरलाई तालिम दिने काम गर्थिन्। छ महिने युरोप बसाइमा जनकले पनि चार महिना तालिम लिए। उनी पहिले विशेषगरी सुस्त मनस्थितिको बालबालिकाका लागि काम गरिरहेका थिए। युरोपबाट फर्केपछि नयाँ काम थपियो, कुकुरहरूको तालिम। २०७२ सालदेखि 'र्याम्बो एबी पेट सर्भिस' त्यसरी नै सुरू भएको हो।
यहाँ तालिम लिन पोखरा, चितवन लगायत विभिन्न ठाउँबाट ग्राहकले आफ्ना कुकुरहरू ल्याउँछन्। क्यानडा, हल्यान्ड, जर्मनी लगायत ठाउँबाट समेत कुकुर ल्याइने जनकले बताए। कोही भने उनीसँग प्रशिक्षण लिनसमेत आउँछन्।
एकपटकमा जम्मा आठ कुकुरलाई तालिम दिइन्छ। तालिम अवधिमा कुकुरले खाने र बस्ने सुविधा पाउँछन्। तालिमपछि भने कुकुरधनी आउँछन् र कुकुरलाई सिकाएका सबै कुरा उनीहरूले पनि सिक्छन्। उनीहरूले भनेको कुकुरले मानेपछि तालिम सकिन्छ।
कुकुरका साना छाउरालाई एक महिना र अलि हुर्किसकेकालाई करिब तीन महिनासम्म तालिम दिनुपर्ने जनक बताउँछन्।
'अलि ठूला कुकुर आफ्नो बानीमा ढल्किसकेका हुन्छन्। कोही रिसाहा स्वभावका हुन्छन्। उनीहरूले सिकेको कुरा नै परिवर्तन गर्नुपर्ने भएकाले समय लागेको हो,' उनले भने।
र्याम्बो र ऊजस्तै अरू कुकुरको प्रेमले नै हो, लकडाउन बेला जनक घरमा चुपचाप बस्न नसकेका। वडाबाट सिफारिस बनाएर उनी आफ्ना टोलका साथीहरूसँग सल्लाह गरेर खाना बोकेर बाहिर आएका हुन्।
'लकडाउनको समय प्रहरीसँग भने अलि गाह्रो हुन्छ। बाटोबाटोमा रोक्छन्, सोध्छन्, दिक्क बनाउँछन्,' अर्का साथी नवीनले भने, 'उनीहरूसँग कराएर भए पनि यिनीहरूलाई खुवाउन आउँछौं।'
कोरोनाको समय यसरी हिँड्नु जोखिमपूर्ण हो भनेर उनीहरूले बुझेका छन्। हातमा पञ्जा, मुखमा मास्क लगाएर सुरक्षा सावधानी अपनाएर हिँडे पनि कहाँ, कसरी संक्रमित भइन्छ पत्तै हुन्न। तै पनि जनावरको मायाले घरभित्र बसिरहन नसकिने उनीहरू बताउँछन्, 'सामान्य दिनमा त भक्तजनले खुवाइरहेका हुन्छन्। निषेधाज्ञामा मन्दिरमा कोही आउँदैन। हामी पनि यहाँ आएनौं भने त भोकै भइहाल्छन् नि।'