स्कुल पढ्दादेखि नै सुनिरा रेग्मीले ठानिसकेकी थिइन्, 'भविष्यमा जे बन्छु, त्यो गणित विषयसँग जोडिएको हुनेछ।'
गणितका अंक र सूत्र मनपरे पनि के बन्ने भनेर सिधा रेखा कोर्न सकिरहेकी थिइनन्। कसैले ठूलो भएर के बन्छौ भनेर सोधे रेडिमेड जवाफ भने थियो- 'पाइलट बन्ने।'
उनलाई उचाइसँग डर लाग्थेन। आफ्नो सपनालाई माथि माथि उड्न दिइरहिन्। तर भविष्यमा जीव विज्ञान पढ्न नपरोस् भन्ने डर चाहिँ भइरहन्थ्यो।
हात्तीवनको लिटल एन्जल्सबाट एसएलसी सकेपछि उनी त्यस्तो विषय पढ्न चाहन्थिन्, जसमा आफूलाई रूचि होस्।
सुनिरा अलमल परेकी थिइन्। बुवा सुदर्शन रेग्मीले सुल्झाइदिए, 'भारतमा त्यस्तो कलेज छ जहाँ तिमीले गणित, रसायनशास्त्र र भौतिकशास्त्र मात्र पढ्नुपर्छ। त्यहाँ पढेपछि भविष्यमा तिमी पाइलट बने भइहाल्यो। अझ एरोस्पेस इञ्जिनियर बन्यौ भने झन् उच्च दर्जा हो।'
बुवाका कुरा सुनेपछि सुनिरा चकित खाइन्। भारतको विवेकानन्द कलेजमा कक्षा १२ पढ्न थाल्दासम्म दिमागमा एरोस्पेस इञ्जिनियर बन्ने भूत सवार भइसकेको थियो। बुवाको त्यही मार्गदर्शनले सुनिरा पहिलो नेपाली महिला एरोस्पेस इञ्जिनियर बन्न सफल भएकी हुन्। नेपाल इञ्जिनियरिङ काउन्सिलबाट सन् २००८ मा इजाजतपत्र लिँदा उनी पहिलो महिला थिइन्।
एक दशकदेखि उनी नेपाल वायुसेवा निगममा सिनियर फ्लाइट अपरेसन इञ्जिनियरका रूपमा कार्यरत छिन्। यतिका लामो समय काम गरिरहँदा अरू कोही महिला एरोस्पेस इञ्जिनियर भएर आएनन्। छ महिनाअघि भने बल्ल निगममा चीनमा पढेर आएकी नेपाली महिला एरोस्पेस इञ्जिनियर थपिएकी छन्।
त्यसो त यो क्षेत्रमा महिला कम हुन्छन् भन्ने सुनिराले भारतमा पढ्दाताकै अनुभव गरेकी थिइन्। कक्षा १२ देखि स्नातकोत्तरसम्म उनले भारत पढेकी हुन्। १२ मा त उनीसँग केटी साथीहरू थिए। तर विस्तारै ती साथी छुट्दै गए। उनकै मिल्ने साथी पनि आर्किटेक्चर पढ्न गइन्।
'नेसनल इन्स्टिच्युट अफ एरोनटिकल इञ्जिनियरिङ कलेज' मा स्नातक पढ्दा कक्षामा उनी एक्ली महिला भइन्। इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा स्नातकोत्तर पढ्दा पनि त्यो क्रम जारी रह्यो।
एक्ली महिला भएपछि उनी सबैको नजरमा पर्ने भइन्। सुरूका दिन गाह्रो भयो, कक्षामा हँसीमजाककी पात्र बन्थिन्। एक मन त उनलाई पढाइ नै छाडौं कि भन्ने पनि भयो। तर हार मानिनन्। विस्तारै पुरुष साथीहरूको पनि व्यवहार फेरियो। अरू सहयोगसँगै उनीहरूको व्यवहार आत्मीय हुँदै गयो।
'परीक्षाको समयमा भने उनलाई कोही महिला साथी भइदिए हुन्थ्यो भन्ने सधैं हुन्थ्यो। कम्बाइन स्टडी गर्न भनेर पुरुष होस्टल जाने कुरा भएन,' उनले भनिन्, 'मोबाइल–इन्टरनेटको सहज जमाना पनि सुरू भइसकेको थिएन।'
यसरी सुख–दुःख गरेर पढेपछि सुनिरा नेपाल फर्किइन्। स्नातक पढ्दाताकै उनले इन्डस्ट्रियल कोर्स भनेर तीन महिना बुद्ध एयरमा मेकानिकल काम गरेकी थिइन्। त्यहाँ जहाजका ठूला–ठूला टायर उठाउनेसम्म काम गरेको उनी बताउँछिन्।
त्यो काम त पढाइको क्रेडिट कोर्सका लागि थियो। सन् २००८ मा पढाइ सकेर नेपाल फर्किएपछि उनले एक वर्ष सिक्न भनेर वायुसेवा निगममा काम गरिन्। त्यसपछि त्यहीँ काम गर्ने अठोट गरेर उनले फ्लाइट अपरेसन इञ्जिनियरका रूपमा आवेदन दिइन्।
उनका अनुसार त्यो बेला करिब २५ जना आवदेक थिए, दुई जना मात्र छानिन्थे। परीक्षा हलमा उनी एक्लै महिला थिइन्। उनले खुला प्रतिस्पर्धाबाटै यो जागिर पाइन्।
फ्लाइट अपरेसन इञ्जिनियर भएर सुनिराले फ्लाइटको सुरक्षा, इन्जिनको जानकारी, उड्दै गर्दा जहाजको इन्जिन बन्द भए के गर्ने, कुनै ठाउँ जानुअघि जहाजको अवस्था, कति लोड र इन्धन छ लगायत सबै हेर्नुपर्छ।
नेपालमा एरोस्पेस इञ्जिनियरहरू निगममा मात्र सीमित भएको उनी बताउँछिन्। हाल पुल्चोक इञ्जिनियरिङ क्याम्पसले पनि एरोनटिकल इञ्जिनियरिङ पढाउन थालेको छ। त्यसैले त्यहाँ प्राध्यापकका रूपमा पढाउने काम पनि गर्न सकिन्छ।
एरोस्पेस इञ्जिनियरको कामको क्षेत्र भने त्यतिमा मात्र सीमित होइन। सुनिराका अनुसार उनीहरूले गाडीको एरोडाइनामिक डिजाइन, नोजल डिजाइन गरेर इन्धन नियन्त्रण गर्ने, पानी र जहाजसँग जोडिएको मरिन रिसर्च लगायत पनि गर्न सक्छन्। त्यही विविध विशेषताले नै उनलाई यो क्षेत्रमा आकर्षित गरेको थियो।
नेपालमा भने यसका सम्भावना त्यति उपयोग गर्न सकिएको छैन। भर्खरै त कतिपयले 'ए! त्यस्तो पनि विषय हुँदो रहेछ' भनेर थाहा पाउँदैछन्। त्यही भएकाले यसमा धेरैको आकर्षण छैन। यसलाई विस्तार गर्न अनुसन्धान र त्यसको विकासमा केन्द्र, प्रयोगशाला र शैक्षिक क्षेत्रहरूमा लगानी गर्नुपर्ने उनी बताउँछिन्।
'अस्ति भर्खर नेपालीहरूले गरुडा स्पेस रकेट आकाशमा दस सेकेन्डसम्म उडाएका थिए,' उनले भनिन्, 'त्यसमा थप अनुसन्धान हुन सकेको भए कम्तीमा एक मिनेटसम्म उडाउन सकिन्थ्यो होला। उनीहरूलाई पैसा, सामग्री वा कुन प्रकारले सहयोग गर्न सकिन्छ, त्यो गर्न सकिएको छैन।'
आफ्नो हिसाबको मेहनत छँदैछ, परिवारको साथ पनि उत्तिकै चाहिने सुनिरा बताउँछिन्।
उनको घरमा बुवाको हौसला र परिवारको साथ थियो। अहिले उनी विवाह गरेर श्रीमान र सासूआमासँग बस्न थालेको १२ वर्ष भयो। श्रीमान वातावरण अनुसन्धाता र आमाले पनि वातावरण क्षेत्रमै काम गरेर अवकाश लिएका हुन्। त्यही भएकाले उनको पेसालाई उनीरूले राम्ररी बुझेका छन्।
'सुरू सुरूमा त उहाँहरू मेरो काम देखेर डराउनुहुन्थ्यो,' उनले भनिन्, 'गाडीमा जस्तै सभिर्स गरेपछि जहाजको पनि परीक्षण उडान हुन्छ। त्यस क्रममा त्यसको पर्फमेन्स हेरिन्छ। एउटा इन्जिन बन्द गरेर उडाउने पनि हुन्छ। त्यस्तो बेला आबुई, एउटा इन्जिन बन्द गरेर पनि चलाउने भनेर डराउनुहुन्थ्यो। अहिले त सामान्य रहेछ भनेर बुझ्न थाल्नुभएको छ।'
उनीजस्तै यो क्षेत्रमा आउन चाहने महिलालाई यहाँ धेरै सम्भावना भएको उनी बताउँछिन्, 'यो विषय पढ्न गाह्रो भए पनि यसमा धेरै सम्भावना छन्। तपाईंले आकाशदेखि समुद्रसम्मका सबै क्षेत्रमा काम गर्न सक्नुहुन्छ। झन् महिलाले आफूलाई कम आँक्नु हुँदैन।'
सुनिरा आफैंलाई पनि कम आँक्दिनन् न आफ्ना कल्पना बाँधेर राख्छिन्। उनको अबको सपना हो- चन्द्रमा वा अन्तरिक्षमा जाने।
भन्छिन्, 'अहिलेसम्म नेपालबाट कोही महिला अन्तरिक्ष वा चन्द्रमामा पुगेका छैनन्। मै त्यहाँ पुग्नुपर्छ भन्ने छैन। तर कोही न कोही पुगून् भन्ने चाहन्छु।'