मुक्तकमैया शिविरमा बस्ने रामलखन थारू (नाम परिवर्तन) घर बनाउनेलगायत यताउती जे पाइन्छ त्यही काम गर्छन्।
१५ वर्ष भयो उनी कञ्चनपुर जिल्ला बेदकोट नगरपालिकाको यो शिविरमा बसेको।
त्यसअघि उनी कमैया थिए। उनी जान्ने हुँदा आमा साहूको घरमा खेती, भान्सा, लुगा धुने, केटाकेटी हेरिदिने जस्ता काम गर्ने कमैया थिइन्।
आमासँगै बचपनैदेखि उनी कमैया भएर काम गरे। २०५७ सालमा मुक्त घोषणा भएपछि उनी पनि स्वतन्त्र भए।
सरकारले कमैयालाई दिने भनेको जग्गा ३/४ वर्षपछि २०६२ सालतिर पाए।
सरकारले ५ कठ्ठा नापेर दिएको भनेको छ। उनले भने त्यो जमिन नापेका छैनन्।
‘यो लालपुर्जा राखेर ऋण आउँदैन रहेछ। कति ठाउँ छोरीको उपचार गर्न भनेर रिण निकाल्न खोजें पाइएन,’ उनले भने।
सानो घरमा उनको सानै परिवार छ। जेठी छोरी १९ वर्षकी, एक छोरा, आमा र उनीहरू दुई गरी पाँच जनाको परिवार छ।
उनकी छोरीको एक हातमा मासु पलाएको छ। छोरीसँग शारीरिक रुपमा अपांगता भएको परिचय पत्र पनि छ।
उनकी श्रीमती पनि मजदुरी नै गर्छिन्। स्कुल बिदा भएकाले छोरा पनि काम सिक्न बुबासँग जान्छन्।
उनकी छोरी एसएलसीसम्म पुगेकी हुन्। छातीको समस्याले एसएलसी परीक्षा भने दिन पाइनन्।
उनको स्तनमा मासु पलाउने समस्या छ। यो समस्या देखिएको दुई वर्ष हुन लाग्यो। त्यसले असाध्यै छातीतिर दुख्छ।
सुरूमा गाँठो थियो। आमालाई भन्न सकिनन्। पछि बढ्दै ठूलो भयो। दुखेपछि अरुले पनि थाहा पाएर सोधेपछि आमालाई समस्या सुनाइन्। तर उपचार गर्न पैसा भएन।
‘बुढाबुढी काम गरेर सानोतिनो पैसा जम्मा गरेर छोरीको उपचार गरें। फेरि पैसा जम्मा गरेर अर्को दिन उपचार गर्न जाउँला भनेको बेलुका घटना भएछ,’ उनले भने।
उनकी छोरीको एक वर्षअघि धनगढीको एक अस्पतालमा अपरेसन गरी स्तनमा पलाएको गाँठो काटिएको थियो। त्यसमा ७० हजार खर्च भएको उनले बताए।
‘आफन्तसँग सापट मागेर काम चलाएँ। ब्याजमा पनि मागें। कमाई गरेर तिर्छु भनेको। अहिले तिर्न सकेको छैन। डेढ लाख त समूहकै ऋण छ। अरु आफन्तलाई पनि अलिअलि तिर्न बाँकी नै छ,’ उनले भने।
अहिले निषेधाज्ञा र पानी परेर निर्माणको काम कहिलेकाहीँ बन्द हुन थालेको छ।
छोरीको छातीमा अपरेसन गरेकै ठाउँमा फेरि त्यही गाँठो देखिएको छ। उनलाई दुखिरहेको छ।
बिहीबार बिरामी छोरी घरमै थिइन्। रामलखन अरुदिन जस्तै बिहानै दिनभरिका लागि खानानास्ता बोकेर काममा हिँडिसकेका थिए। उनीसँगै काम सिक्दै गरेका छोरा पनि काममा गए।
घरमा खाना पकाउन दाउरा सकिँदै थियो। उनकी श्रीमती नजिकैको सामुदायिक वनमा झिँजा खोज्न गएकी थिइन्। उनकी आमा छिमेकीका घरमा गएका बेला छोरी एक्लै थिइन्।
उनकी छोरीले घर वरिपरिको जमिनमा मकै रोपेकी छन्। मकै साह्रै राम्रा भएर हुर्केका पनि छन्। उनी त्यही बारीमा मकै गोड्दै थिइन्। बिहान ११ बजेतिर दुई जना केटा आए।
‘तिनीहरूले सुरुमा घरमा कोही छ कि नाई सोधे। उनले कोही छैन, के काम हो भनेर सोधिछन्,’ उनले भने।
केटाले भाइ छ कि छैन भनेर पनि सोधेको उनले बताए। छैन भनेपछि उनीहरू गए। तर एकछिनमा फेरि फर्केर आए।
‘हिँड घुम्न जाउँ। नहरमा जाउँ भनेर फकाएछन्। उसले म जाँदिनँ घर हेर्नु छ भनेकी अरे,’ उनले भने।
उनकी छोरी डराएपछि छिमेकी आफन्तकहाँ गएर केही समय बिताएर फेरि आएपछि पनि ती केटाहरु त्यहीँ थिए।
‘उनीहरूले गाली गर्ने रहेछन्। धम्काउने गरेछन्, तिम्रो घरमा मर्छु भनेछन्, जानुपर्छ भनेर भने रे, पछि खै के गरे,’ उनले भने।
दिउँसोको गर्मीमा खाना खाएका किसानहरू आराम गर्छन्। घरमा हुने छिमेकीहरू त्यस दिन पनि सुते होलान्। अरु प्राय: काममा जान्छन्।
‘ती केटाहरूले घुम्ने भने कि के गरे। लगेर जंगलमा बियर खुवाएछन्। त्यसपछि छोरी बेहोस् भइछ,’ उनले भने।
जंगलमा एक जना महिलाले देखेपछि फलानोको छोरी हो भनेर रामलखनको ससुरालाई खबर गरिन्। उनका सुसुराले जंगलबाट बोकेर ल्याए। मामा घर उनको घरबाट १५ मिनेट टाढा पर्छ। घटना भएको स्थान मामा घरबाट दुई मिनेटजति पर हो।
दिउँसो १ देखि ३ बजेको बीचमा घटना भएको अनुमान गरिएको छ।
मामा घरबाट ढल्दै, लड्दै उनी एक-डेढ घण्टापछि घर आएकी थिइन्।
आमाले फर्केर के भयो भनेर सोध्दा उनी बोलिनन्। रामलखन साँझ आए। घरमा सबै जुटेका थिए। उनीहरू ‘यस्तो यस्तो केटाहरू थिए’ यस्तै भन्दैथिए।
‘के भो भनेको त तपाईंको छोरीको बलात्कार भयो भने। मेरो त मुटुमा लाग्यो। बेहोस जस्तै भएँ,’ उनले भने।
उनका कान्छा सालाले चिन्ता नगर भनी सम्झाए। प्रहरी आउँदैछ भनेपछि उनी चुप लागेर बसे।
‘म पढेको छैन, अब के गर्ने, कहाँ जाने थाहा छैन, जे गर्ने गर भनें,’ उनले भने।
प्रहरी बेलुकातिर आए। घटना हुँदा लगाएको कपडा लगे, घटनास्थल पनि प्रहरीले हेरे। घटनास्थलमा झाँडी र खोला छ। त्यहाँ बियर र रक्सीको बोतल र ट्याब्लेटका दुई पत्ता भेटियो। त्यो औषधी के हो उनले चिनेनन्। वडाध्यक्ष पनि त्यहीँ थिए। अध्यक्ष र प्रहरीलाई औषधीबारे थाहा होला जस्तो उनलाई लागेको थियो।
उनीहरू र छोरीलाई पनि लगेर प्रहरीको गाडी महेन्द्रनगर गयो। एक गाडीले घटनामा संलग्न आरोपी खोज्न थाल्यो।
‘छोरीले एउटालाई कहीँ देखेको र एउटालाई चिन्दै नचिनेको रहेछ,’ उनले भने।
एक जना आरोपी पक्राउ परिसकेका छन्। रामलखन उसलाई चिन्दैनन्।
‘बिहान खाना बोकेर हिँड्छु र राति आउँछु, आफ्नै गाउँकालाई त चिन्दिनँ, उनीहरूलाई कहाँ चिन्नु,’ उनले भने।
त्यही राति पीडित किशोरीको मेडिकल टेस्ट गरियो। रिपोर्टमा के आएको छ उनलाई थाहा भएको छैन।
‘जिप्रकाको एक जनाले चिन्ता नगर्नु अपराधीलाई जसरी पनि समात्छु भन्नुभएको छ,’ उनले भने।
किशोरी अहिले पनि बोल्न नसक्ने अवस्थामा छिन्। उनको शरीर कमजोर भएको छ। उनलाई मनोपरामर्शमा राखिएको छ।
मनोपरामर्शबाट महिला कर्मचारी आएर मुद्दा दर्ता गर्नुपर्ने भनेका थिए। प्रहरीले पनि यसमा मद्दत गरेको थियो।
प्रहरीले जाहेरी प्राप्त भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाले अनुसन्धान भइरहेको र फरार अभियुक्तको खोजी भइरहेको बताए।
उनले मेडिकल रिपोर्ट अझै नआएको बताए।
रामलखनलाई न्यायका लागि उजुरी दिने र अरु विषयमा पनि धेरै कुरा थाहा छैन। उनी छोरीलाई ज्यानदेखि नै माया गर्छन्।
‘मेरै ज्यान जाओस् छोरीलाई केही नहोस् भन्दै प्रार्थना गरिरहेको छु। एक छोरी छ, माया गरेर हुर्काएँ, दु:ख बिराम भएका बेला सानोतिनो पैसा जुटाएर महंगो अस्पतालमा उपचार गरिररहेका छौं, साह्रै दु:ख लागेको छ,’ उनले भने।
घरमै बसेकी छोरी असुरक्षित भए कहाँ जाने भन्नेमा उनी चिन्तित छन्।
‘मेरो छोरीले न्याय पाउनुपर्छ,’ उनले भने।