शैशव किशोर श्रेष्ठ र आश्ना शाक्य श्रेष्ठको चिनजान फेसबुकबाट भएको थियो। त्यो बेला शैशव काठमाडौंमा फोटोग्राफी गर्थे, आश्ना नेपालगञ्जको एक अस्पतालमा ल्याब टेक्निसियनको काम गर्थिन्। त्यहीबेला उनीहरू आपसमा जोडिएका थिए।
फेसबुकमा कुरा गर्दै जाँदा शैशव र आश्ना दुबै एकअर्कासँग नजिकिए। त्यहीबेला शैशवले आश्नालाई विवाहको प्रस्ताव राखे। आश्नाले पनि नकार्न सकिनन्। नभन्दै गत कात्तिकमा उनीहरूले लगनगाँठो कसे।
त्यसपछि शैशवले फोटोग्राफीकै कामलाई अगाडि बढाए। आश्नाले भने ल्याब टेक्निसियनको कामलाई अगाडि बढाउन सकिनन्। यसरी नै शैशव र आश्नाको विवाहपछिको जीवन अगाडि बढ्दै थियो। तर गत वैशाखको दोस्रो साता सुरू हुनुबित्तिकै शैशवलाई एक्कासि रुघाखोकीले च्याप्यो।
सुरूमा त मौसमी रुघाखोकी होला भनेर शैशवले वास्ता गरेनन्। पहिल्यै खाइरहेको औषधि लिएर खाए। तर पनि सुधार आएन। उल्टो शैशवलाई खोकीले च्याप्दै लग्यो।
त्यसपछि भने शैशव र आश्ना दुबैले कोरोनाको शंका लागेर परीक्षण गराए। नभन्दै दुबैलाई संक्रमण देखियो। त्यतिञ्जेल शैशवलाई मात्र अलिक गाह्रो भएको थियो। आश्नालाई भने सामान्य नै थियो। त्यसैले पनि दुबै जना होम आइसोलेसनमा बसिरहेका थिए।
तर त्यसको एक दुईपछि शैशवको स्वास्थ्यमा थप समस्या देखिन थाल्यो र उनीहरूले अस्पताल जाने निधो गरे। त्योबेला सम्झिँदै शैशवले सेतोपाटीसँग भने, 'खोक्दा सास नै अड्किएजस्तो भएको थियो। त्यसपछि त अस्पताल जानैपर्छ भनेर टेकु अस्पताल पुग्यौं।'
सुरूमा शैशवलाई अस्पतालको जेनेरल वार्डमा भर्ना गरियो। तर वार्डमा पनि शैशवको स्वास्थ्यमा सुधार आएन। उल्टो समस्या बढ्दै गयो। त्यसपछि डाक्टरले शैशवलाई आइसियूमा सार्नुपर्छ भने। त्यो सुनेर शैशव आत्तिए। छेउमै रहेकी आश्नातिर फर्किंदै शैशवले आँसु चुहाउन थाले। त्यतिञ्जेल आश्ना पनि शैशवसँगै वार्डमा बसेकी थिइन्। आश्ना पनि पोजेटिभ भएकोले अस्पतालले उनलाई वार्डमा शैशवसँगै बस्न दिएको थियो। तर शैशवलाई आइसियूमा लानुपर्ने भएपछि त्यहाँ आश्ना जान नपाउने भइन्। त्यो सुनेर शैशव एकछिन त आइसियूमै जान मानेनन् रे।
'जब वार्डबाट आइसियूमा सार्ने कुरा भयो त्यसपछि आश्ना पनि सँगै हुन्छ भने म जान्छु नत्र जादिनँ भनेको थिएँ। किनकि त्यो बेला मलाई उसले जति ख्याल कसैले गर्न सक्दैन भन्ने लागेको थियो,' शैशवले त्यो बेलाको क्षण सम्झिए।
त्यो सुनेर आश्ना पनि भक्कानिइन्। तर पनि आफूलाई सम्हाल्दै शैशवलाई मनोबल दिइराखिन्। आश्नाले अस्पतालसँग आफूलाई पनि आइसियूमा शैशवसँग बस्न दिन अनुरोध गरिन्। उनले यति ढिपी कसिन् कि अस्पतालले पनि एकदिनलाई भनेर उनलाई शैशवसँगै आइसियूमा बस्न दियो। नत्र आइसियूमा बिरामीको कुरूवा वा आफन्तलाई बस्न दिइँदैन।
'उहाँ ट्वाइलेट जान पनि सक्नुहुन्थेन। त्यसैले धेरै अनुरोध गरेपछि डाक्टरले मलाई पनि उहाँसगै एकदिनको लागि बस्न दिनुभयो,' आश्नाले सुनाइन्।
तर आइसियूमा सारेको पहिलो दिन नै शैशवलाई गाह्रो भइदियो।
'एकछिन त सास नि फेर्नुभएको थिएन। हातखुट्टा नि चिसो थियो। नर्सहरू पनि भनेको बेला नआइदिने। त्योबेला एकदमै डर लागेको थियो। त्यो कुरा सम्झिन नि मन छैन,' यसो भनिरहँदा आश्नाको आँखा रसाइरहेका थिए।
आइसियूमा पहिलो दिन आश्ना नभएको भए सायद आज आफू यो अवस्थामा नहुने शैशव बताउँछन्।
'पहिलो दिनको कुरा सम्झिँदा त आश्नाले मलाई नयाँ जीवन नै दिएको हो। रातको दुई बजे खोकेर सास फेर्न नसक्दा उसले रोइकराइ गरेर नर्सलाई बोलाएर मलाई सास फेर्ने स्थितिमा पुर्याइन्।'
तर दोस्रो दिनबाट भने अस्पतालले आश्नालाई आइसियूमा बस्न दिएन।
आश्नाले फेरि ढिपी कस्दै शैशवसँगै बस्न दिन आग्रह गरिन्। यसपटकको उनको ढिपीले काम गरेन। किनकि आश्नालाई आइसियूमा बस्नदिँदा अरू बिरामीका आफन्तले पनि बस्न खोजे के गर्ने भन्ने अस्पताललाई अप्ठ्यारो थियो। त्यसपछि आश्नाले शैशवलाई सम्झाइबुझाइ गरेर आफू घरै बस्न थालिन्।
शैशव पनि आश्नालाई सम्झेर मनोबल त दह्रो बनाउँथे तर बेलाबेला आँखा अगाडि घट्ने घटनाले उनी कमजोर पनि हुन्थे।
'सुइँय.. बिरामी आउँछ, एकछिन स्याँस्याँ गर्छ अनि 'अन द स्पट डेथ'। त्यो देख्न थालेपछि त आफूलाई पनि त्यस्तै हुने हो कि भन्ने सोच आउथ्यो,' शैशव सुनाउँछन्।
तर पनि शैशवले आत्मविश्वासलाई कमजोर हुन दिएनन्। थोरै कमजोर महसुस हुनेबित्तिकै आश्नाले भनेको कुराहरू सम्झिन्थे र आफूलाई बलियो बनाइहाल्थे।
आश्ना पनि घरमै बसिरहे पनि शैशवलाई भेट्न दिनहुँजसो अस्पताल गइरहन्थिन्। तर संक्रमित भएकाले उनी आइसियूको ढोकासम्म पनि जान पाउँथिनन्। त्यसैले परै बस्थिन् अनि शैशवको अवस्थाबारे जानकारी लिएर घर फर्किन्थिन्।
शैशवको ख्याल गरिरहेकी आश्ना आफैं संक्रमित थिइन्। तर पनि उनलाई आफ्नो परवाह थिएन। खाली शैशवकै चिन्ता लिइरहन्थिन्।
'मलाई त आफ्नो वास्तै थिएन। जसरी पनि उसलाई सन्चो बनाउनु छ भन्ने मात्र दिमागमा आउथ्यो। मलाई पनि गाह्रो त हुन्थ्यो तर औषधि खाएर बस्थें,' आश्ना सुनाउँछिन्, 'घरमा हुँदा पनि उसकै टेन्सन भइराख्थ्यो। निद्रा पनि नलाग्ने, भोक पनि नलाग्ने। खाली कहिले भेट्न पाउने होला भन्ने मात्र लाग्थ्यो तर भेट्न जाँदा फेरि भेट्न नपाउने।'
आइसियूमा रहँदा शैशव बेलाबेला आश्नालाई भिडिओ कल गरिराख्थे।
आश्नाले धेरै चिन्ता नलिऊन् भनेर प्राय: खाना खाएको बेला उनी भिडिओ कल गर्थे।
'अक्सिजन लगाएर भए पनि भिडिओ कलमा बोलिराखिन्थ्यो हैन त?,' आश्नातिर फर्केर हाँस्दै शैशवले भने। त्यो सुनेर आश्ना पनि लजाइन्।
यसरी करिब एक साता आइसियूको उपचारपश्चात् भने शैशवमा धेरै सुधार आयो। त्यसपछि उनलाई वार्डमा सारियो।
वार्डमा सारेपछि भने आश्ना पनि शैशवसँगै बस्न थालिन्। उनी पनि संक्रमित भएकाले वार्डमा भने अस्पतालले पनि उनीहरूलाई सँगै बस्न दियो।
'उहाँलाई वार्डमा सारेपछि म पनि उहाँलाई ख्याल गर्दै सँगै बसेँ,' आश्नाले भनिन्।
वार्डमा सरेपछि भने शैशवमा राम्रो सुधार हुँदै गयो। त्यसपछि गत जेठ १ गते उनीहरू अस्पतालबाट डिस्चार्ज भए।
अहिले भने शैशव र आश्ना घरमा आराम गरिरहेका छन्। अहिले पनि शरीर पहिलेकै जस्तो फूर्तिलो भइनसकेको दुबैले बताए।
करिब २० दिन अस्पताल बसाइपछि संक्रमणमुक्त बनेका शैशव र आश्नाले कोरोनालाई हल्का रूपमा नलिन आग्रह गरेका छन्।
पहिले आफूले पनि हल्का रूपमा लिएको भन्दै शैशव भन्छन्, 'यो कोरोना सामान्य रुघाखोकी जस्तै हो भन्ने लाग्थ्यो तर लाग्ने मान्छेलाई मात्र थाहा हुने रै’छ। मेरो प्रतिरोधात्मक क्षमता खत्रा छ भन्नेहरूको पनि हालत देखेँ। त्यसैले सबैलाई कोरोना मजाकको रूपमा नलिन भन्छु।'
साथै कसैलाई कोरोना भइहाले पनि आत्मविश्वास भने सधैं बलियो बनाउनुपर्ने शैशव र आश्नाको सुझाव छ।