कैलालीको भजनी नगरपालिका-३ पकडीयापुरका रामलाल डगौराले आफ्नो उचाइभन्दा पनि अग्लो हुने गरी धारा, शौचालय र बाख्राका खोर बनाएका छन्।
उनको ठाँटीवाला (टाडे) घर छ। हरेक वर्ष बाढी घरभित्र पस्ने भएपछि उनीहरूले खाद्यान्न र महत्वपूर्ण कागजपत्र वर्षामा ठाँटीमा राख्ने गर्छन्।
उनले चैतमै धान रोपेर अहिले भित्र्याउँदै छन्। किनकी असारमा रोपेको धान बाढीले फल्न दिँदैन।
उनी टोलका पूर्वभलमन्सा पनि हुन्। उनले आफ्नो टोल बाढीको उच्च जोखिममा रहेको बताए। २०६० साल यता हरेक वर्ष गाउँमा बाढी पस्ने गरेको उनले बताए।
‘यहाँ कान्द्रा, काँडा, पथरिया र मोहना नदीबाट ठूलो बाढी आउँछ, जोखिम बढी छ यहाँ,’ उनले भने।
बाढीबाट बच्नका लागि उनीहरूले एउटा डुंगा पनि तयार राखेका छन्।
पोहर पनि घाँटीसम्म पुग्ने बाढी आएको उनले बताए। उनले पानी बर्सेपछि टोलभरिका बच्चा, भैंसी, बाख्रा सबै लगेर अग्लो ठाउँमा बनाइएको स्कुलको भवनमा जाने गरेको बताए।
‘बाढी आएपछि हाम्रो भाग्ने तयारी हुन्छ। पहिला हामी मान्छे बाँच्छौं, अनि अलिकति चामल छ लिएर जान्छौं, कसैको घरमा सिलिन्डर भए लिन्छौं त्यहाँ, जसको छैन पकाएर खुवाउँछौं,’ उनले भने।
उनी पहिले कमैया थिए। कमैयाँ बसेकालाई सरकारले दिएको जग्गामा उनीहरू बसेका हुन्। अन्त घरजमिन किन्न पैसा नभएको उनले बताए।
‘मान्छेले भन्छन् उच्च ठाउँमा घर बनाउँ, पैसा छैन कहाँबाट बनाउने,’ उनले भने।
सोही बस्तीका गोबर्द्धन बस्नेतले पक्की घरमा ४ फिटजति डिपिसी उठाएका छन्। पोहोर घरभित्र बाढी पसेपछि पिठ्युँमा केटाकेटी बोकेर ज्यान जोगाउन डुंगा चढेर स्कुलमा गई बसेका थिए। हुलाकी सडकमा जान खोजे पनि बाटो नभएर उनीहरूले जान सकेका थिएनन्।
टोलमा ६५ घर बाढीको उच्च जोखिममा रहेको उनले बताए।
‘यस वर्ष पनि ठूलो बाढी आउन सक्ने भनेको सुन्छु, हाम्रो त त्यही तयारी छ, सरकारको तयारी केही देखिन्न,’ उनले भने।
पोहोर बाढी आएका बेला उद्धारका लागि प्रहरी, सेना, रेडक्रस र अरू संघसंस्था पनि आएका थिए। उनीहरू गाउँमा धेरै बाढी भएकाले पुग्नै सकेका थिएनन्।
‘हामीलाई उच्च स्थानसम्म पुग्न अग्लो नडुब्ने बाटो सरकारले बनाइदिए हुन्थ्यो,’ उनले भने।
पोहोर साल बाढीले प्रभावित भएपछि हेर्न आएका मन्त्री, पत्रकार, मेयर सबैलाई उनले बाढी आउनुअगावै अहिले सकिने तयारी भए गरिदिन आग्रह गरे।
‘यहाँ बाढीले मानिसलाई डुबाउने खालको भएपछि आएर के गर्ने, सरकारले अहिले नै केही तयारी गरिदिन पर्यो, हामीले आफ्नो तयारी गरेका छौं,’ उनले भने।
कैलालीको भजनी नगरपालिकामा मात्र गत वर्ष बाढी आउँदा २ हजार ५ सय परिवार सडकमा आएका थिए। तीमध्ये धेरैजसो पुरानै ठाउँमा फर्केका छन् भने केही घरबारविहीन भएको भन्दै सरकारी जमिन र वनमा टहरा बनाएर अहिले पनि बसिरहेका छन्।
भजनी नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिका फोकल पर्सन खेम पनाडीले अहिले वर्षामा बाढीले पुर्याउन सक्ने क्षतिबारे केही दिनमा बैठक बसेर के-के तयारी गर्ने भन्ने निर्णय हुने बताए।
‘पूर्वतयारी सुरू भइसकेको छैन। प्रिमनसुन मिटिङ बसेर, सुरक्षा निकायसँग पनि बसेर हामीसँग के छ, के जुटाउने भन्ने छलफल गर्नेछौं,’ उनले भने।
उनका अनुसार विपद्को सेक्टरमा उद्धारको कामबाहेक पूर्वतयारीका लागि स्थानीय तहले धेरै बजेट छुट्याएको छैन।
‘२/४ तटबन्ध बनाएरमात्रै यो समाधान हुँदैन। विपदका बेला लाखौंमा हेलिकप्टर खोजेर अवलोकनमा आएर पनि हुँदैन। अहिले नै प्रदेश र संघ सरकारले पनि हेर्नुपर्ने हो,’ उनले भने।
कैलालीका भजनी र टीकापुर नगरपालिका, जोशीपुर र कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिकामा हरेक वर्ष बाढीले क्षति पुर्याउँदै आएको छ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पूर्वमनसुनबारे तयारी भइरहेको बताए।
उनले कुन-कुन पालिकामा के सामान छन्, गत वर्ष के-के कुरामा कमी भएर उद्धार गर्न सकेनौं भन्नेबारे तथ्यांक लिन स्थानीय विपद् व्यवस्थापनको बैठक राख्न स्थानीय तहलाई भनिएको बताए।
गत वर्ष बाढी र पहिरोले सुदूरपश्चिममा कम्तीमा ३५ जनाको ज्यान गएको थियो। प्रहरीको तथ्यांक अनुसार बझाङ केदारस्युँ गाउँपालिका मल्लेसीमा पहिरोले एकै परिवार ५ जनासहित ७ जनाको मृत्यु भएको थियो। सोही पहिरोले ३५ घर बगाएर लगेपछि उनिहरू विस्थापित हुनुपर्यो।
यस्तै अछामको साँफेबगर नगरपालिकाको सैनीबजारमा आएको बाढीले १७ जना बेपत्ता भएका थिए। उनीहरूमध्ये ८ जनाको शव अझै फेला परेको छैन। त्यहाँ ठूलो मात्रामा स्थानीयको घर र पसलमा क्षति पुगेको थियो।
वर्षायाममा सधैँ डुबानको जोखिममा रहेको कैलालीमा पनि गत वर्षमात्रै बाढीबाटै ४ जनाको मृत्यु भएको थियो भने, कयौं घरपरिवार विस्थापित पनि भएका थिए।
यस्तै बाजुरा, दार्चुला, डोटीमा पनि बाढी र पहिराले जनधनको क्षति भएको थियो। गत वर्ष बाढी र पहिरोले क्षति गर्दा स्थानीयहरूले अहिले थुप्रै समस्या भोगिररहेका छन्।
वर्षायाममा यस्तो समस्या स्थानीयले प्राय: भोगिरहेको भए पनि विपदबाट हुने क्षति कम गर्न, स्थानीयलाई सचेत पार्न, उद्धार गर्नका लागि बस्तीमा उच्च बाटो बनाउनतर्फ कुनै काम नभएको स्थानीय बताउँछन्।