गत वर्ष दार्चुलाको व्यास गाउँपालिकाको मौराभेल क्षेत्रमा नेपाली सेनाले क्याम्प राखेर घोरेटो बाटो निर्माण गर्यो।
भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माणको क्रममा नेपालको व्यास गाउँपालिका-१ छाङ्गरु तिङ्कर जोड्ने घोरेटो बाटो अवरूद्ध भएको थियो। भारतीय सडक निर्माणको क्रममा महाकाली खोलामा पहाडै खसाल्दा नेपालतिरको बाटो अवरूद्ध भएको थियो।
नेपाली सेनाले घोरेटो बाटो बनाइरहेकै बेला पटक-पटक भारतले नेपाली सेनाको क्याम्प रहेको पारितिर विष्फोटक पदार्थ विष्फोट गरायो।
नेपाली सेनालाई काम गर्न पटक-पटक बाधा गरियो। सेनाकै क्याम्पभन्दा १०० मिटर तल भारतीय विष्फोटका कारण घोरेटो बाटो महाकालीले बगायो।
गत मङ्गलबार पनि भारतले निर्माण गरिरहेको धार्चुला लिपुलेक मानसरोवर सडकखण्ड विस्तारको क्रममा शान्ति वन क्षेत्रमा पूरै पहाड भत्किँदा व्यास गाउँपालिका-२ को कल्जु सिमसिम पानी क्षेत्रको गोरेटो बाटो भत्किएको छ।
झण्डै २५० मिटर बढी घोरेटो बाटो भारतीय सडक निर्माणको क्रममा भत्किएको छ।
घोरेटो भत्किदा व्यास-१ र २ को सम्बन्धविच्छेदको अवस्थामा पुगेको व्यास-२ का अध्यक्ष धिरनसिह बुढाथोकीले बताए।
भारतले दशकअघिदेखि धार्चुला हुँदै लिपुलेक मानसरोवर जोड्ने सडक निर्माण गरिरहेको छ।
महाकाली नदी किनारैकिनार भएर निर्माण भइरहेको सडकले नदी थुनिने सम्भावना बढेको छ।
महाकाली खोला किनारैकिनार सडक निर्माणको क्रममा ढुङ्गा महाकालीमा फाल्दा खोलाकै धार परिवर्तन भइरहेको वडाध्यक्ष बुढाथोकी बताउँछन्।
भारतले दसगजा नछाडेर नेपालतिरबाटै उपकरण लगेर सडक निर्माण गर्ने गरेको छ।
धार्चुलाभन्दा माथिल्लो भू-भागमा भारतले खोलामा ढुङ्गा राखेर सडक निर्माण गर्दैछ।
‘खोलाभन्दा १० मिटर माथिबाटै सडक खन्दा ढुङ्गा महाकाली मिसिन गई खोलाको धार परिवर्तन भइरहेको छ’, बुढाथोकी भन्छन्, ‘खोलामा ढुङ्गाको थुप्रो लागेपछि खोला नेपालतिर कटान गर्दै आफ्नो दिशा लिइरहेको छ।’
पछिल्लो समय भारतले पुनः सडक विस्तारको क्रममा खोला थुन्ने प्रयास गरेको छ।
भारतले दशकदेखि यसरी सडक निर्माण गर्दैछ। नेपालको बुदी क्षेत्रसम्म भारतले सडक निर्माणको क्रममा खोलामा ढुंगा फालेर खोला थुन्ने र धार परिवर्तन गराउने गरेको पाइएको छ। यसअघि पनि भारतले नेपालको महाकाली हुँदै स्काभेटर, डोजर नेपालको भूमिबाटै लगेर सडक निर्माण गरिरहेको थियो। मौराभेलभन्दा माथि बुदीसम्म ठाउँठाउँमा भारतीय सडक निर्माणको क्रममा आएका चट्टानहरू नेपाली भूभागमा प्रशस्त मात्रा देखिने गरेको व्यासका स्थानीय दिपक खाती बताउँछन्।
गत असारमा भारतले सडक निर्माणको क्रममा फालिएको ढुङ्गा खोलामा जम्मा हुँदा घाँटीबगर क्षेत्रको नेपाली भूमि कटान भएको थियो।
सडक निर्माणका क्रममा भारतले खोलामा ढुङ्गा फालेर खोलाको धारै परिवर्तन गर्नु दादागिरी भएको व्यासका स्थानीय बताउँछन्।
भारतको सो सडक निर्माणको क्रममा जताततै स्थानीयले वारपार गर्ने गरी महाकालीमा ढुङ्गा फालिएका छन्।
व्यासका वडाध्यक्ष बुढाथोकी भन्छन्, ‘यो अहिलेको पहिरो मात्र हैन विगतमा पनि यस्तै ठाउँठाउँमा बाटो भत्काए पनि नेपाल सरकारले लगानी गरेर बाटो बनाउनु परेको थियो।’
वर्षेनी भारतले सडक बनाउँदा, विस्तार गर्दा नेपालतिरको घोरेटो बाटो भत्किने गरेको उनले बताए।
अहिले कल्जु क्षेत्रमा भत्किएको बाटो भारतीय पक्षले नै बनाउने गरी उच्चस्तरीय पहल गरिनुपर्ने उनको भनाइ छ।
सीमा क्षेत्रमा सडक निर्माणको क्रममा भारतले खोला थुनेर भइरहेको सडक निर्माणले भविष्यमा नेपालतिर खतरा हुने सङ्केत देखिएका छन्।
बर्खाको समय खोलाबीचमा अड्किएका ठूला चट्टानले खोलाको बहाव नेपालतिर हान्ने र यसको असर देखा पर्ने भन्दै स्थानीय चिन्तित भएका हुन्।
महाकाली खोलावारि नेपालतर्फको बाटो भत्काउने र खोलाको प्राकृतिक बहाव नै परिवर्तन गराएको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ प्रशासनलाई पत्रचार गरेको छ।
गत बिहीबार प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढ जिल्ला अधिकारी आनन्द स्वरुपलाई पत्राचार गर्दै भारतको तर्फबाट नेपालतर्फ क्षति पुगेको अवगत गराएका छन्।
उनले पत्रमा लेखिएको छ, ‘व्यास गाउँपालिका-२ कल्जुखोला नजिकै त्यहाँको सडक निर्माण गर्ने क्रममा जेलिटिन पट्काउँदा माथिबाट पहिरो खसेर महाकालीमा पानी जम्मा भई नेपालतर्फको घोरेटो बाटो अवरूद्ध भएकाले जम्मा भएको पानी खोली बाटोको सहज आवागमनको लागि अनुरोध छ।’
भारतीय प्रशासनलाई लेखिएको पत्रको पाँच दिनसम्म जवाफ आएको छैन।
प्रजिअ जोशीले भारतको धार्चुला प्रशासनलाई पठाएको पत्रको व्यहोरासहित भारतीय गतिविधिका कारण पटकपटक महाकाली नदी नेपालतिर आउने र समस्या हुने गरेको विवरण गृह मन्त्रालयलाई जानकारी गराएका छन्।
उनले जिल्ला सुरक्षा समिति बैठकबाट निर्णय गराएरै सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेका त्यस्ता गतिविधि रोक्न पिथौरागढ जिल्ला अधिकारीलाई पत्राचार गरिएको जानकारी दिए।
‘लिखित मात्र हैन, फोनमार्फत पनि जानकारी भारतीय पक्षलाई गराएको छु, प्रजिअ जोशीले भने, ‘तर अहिलेसम्म गर्छु पनि भनेको छैन।’ रासस