माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य नेता दीपक पाण्डेको गोली हानी हत्यामा उनकै श्रीमती संलग्न रहेको खुलेको छ।
कपिलवस्तु नगरपालिका-१ का ३४ वर्षीय पाण्डेलाई जेठ ५ गते राति गोली हानिएको थियो।
गोली प्रहारपछि पाण्डेलाई उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि जेठ १० गते राति हेलिकप्टरबाट काठमाडौं ल्याउने क्रममा पाण्डेको मृत्यु भएको थियो।
उक्त घटनाका मुख्य योजनाकार ओमप्रकाश यादव र महिमा पाण्डे रहेको खुलेको छ। श्रीमानलाई मार्न महिमा पाण्डेले यसपटक र पहिले पनि विभिन्न मानिस प्रयोग गरिरहेको पत्ता लागेको छ।
मुख्य योजनाकार कपिलवस्तु-१ का ३९ वर्षीय यादव जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशसभा सदस्य सहसराम यादवका स्वकीय सचिव हुन्।
यादव जनता समाजवादी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका लुम्बिनी प्रदेश अध्यक्षसमेत हुन्।
यो घटनामा श्रीमतीसहित संलग्न ११ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
५ गते राति ११ बजे मोटरसाइकलमा रहेका तीन चार जना व्यक्तिले पाण्डेलाई गोली हानेका थिए।
यादवले आफूले घटनामा प्रयोग गरिएको लु१६प ३४९७ नम्बरको पल्सर मोटरसाइकल चलाएका थिए। मोटरसाइकलको पछाडि रहेका रमजान साह मुसलमान र साकिर अलि पखियाले पाण्डेलाई दुई वटा पेस्तोलबाट एक-एक गोली हानेका थिए।
पखियाले कटुवा पेस्तोलबाट एक राउन्ड गोली चलाएका थिए भने मुसलमानले अटोमेटिक पेस्तोलबाट एक राउन्ड गोली चलाएका थिए।
प्रहरीका अनुसार उनीहरू तीन जनाको साथबाट हतियार, गोलीहरू बरामद भएका छन्। कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार यादवको साथबाट पेस्तोल, म्यागजिन, २२ म्याग्नमको ६८ राउन्ड गोली बरामद भएको छ।
यस्तै, मुसलमानको साथबाट मेड इन युएसए पेस्तोल एक थान, म्यागजिन र ८ राउन्ड गोली बरामद भएको छ। उनले पाण्डेलाई मार्न यादवबाट एक लाख रूपैयाँ लिएका थिए।
उनले पाण्डेको गतिविधि निगरानी गर्ने, हतियार किन्ने, साथमा राख्ने काम गरेका थिए।
यस्तै, पखियाले पाण्डेलाई मार्न ओमप्रकाशबाट बैनावापत् सुपारी लिने, हतियार लिने र साथमा राख्ने काम गरेका थिए।
उनले गोली चलाएको पेस्तोल पूर्णवीर पाल्पालीको घरमा लुकाएर राखेका थिए।
यो घटनामा अन्य विभिन्न सात जना व्यक्ति पक्राउ परे। पक्राउ परेका व्यक्तिहरूमा कपिलवस्तु नगरपालिका-१ आनन्दबागका ३५ वर्षीय पूर्णवीर पाल्पाली, वडा नम्बर २ का सद्दाम हुसेन खान, यशोधरा गाउँपालिका-४ का ज्ञानेन्द्रकुमार पाण्डेय, सोही ठाउँका राधेश्याम चौधरी, कपिलवस्तु-५ का श्रीराम कुर्मी, कपिलवस्तु १ का नरसत अली र वडा नम्बर २ का प्रवीण गुप्ता रहेका छन्।
घटनापछि डिएसपी भण्डारीको नेतृत्वमा ‘माइक ह्वीस्की’ नाम दिएर प्रहरीले अनुसन्धान सुरू गरेको थियो।
अनुसन्धान अनुसार पक्राउ परेका सातमध्ये पाल्पालीले घटनामा प्रयोग भएको पेस्तोल लुकाउने काम गरेका थिए।
पाण्डेयले प्रतिवादी राधेश्याम चौधरीलाई भारतबाट हतियार ल्याई बिक्री गरेका थिए।
यस्तै, सद्दाम हुसेन खान, राधेश्याम चौधरी र कुर्मीले साकिर अलि पखियालाई हतियार खरिद बिक्री गर्न सहयोग गरेका थिए।
नरसत अलीले मुख्य योजनाकार यादवबाट एक लाख नगद लिएर हतियार खरिद गरी उनलाई दिएका थिए।
किन हानियो गोली?
डिएसपी भण्डारीका अनुसार ओमप्रकाश र दीपक पाण्डेबीच मनमुटाव पाण्डेकी श्रीमती महिमा पाण्डेबीचको अनैतिक सम्बन्धका कारण भएको हो।
त्यो सम्बन्ध थाहा पाएयता विगत पाँच वर्षदेखि ओमप्रकाश र दीपकबीच मनमुटाव थियो।
यो सम्बन्धबाट दीपक चिढिएपछि महिमाले नै पटक-पटक उनलाई मार्ने योजना बनाउन थालेको देखिएको छ।
‘महिमाले दीपकलाई मार्न पक्राउ परेका यी सात व्यक्तिहरूलाई दुई-तीन वर्षदेखि प्रयोग गर्दै आएको देखिएको छ, पटक-पटक नै मार्न बैना दिएको र असफल भएको देखिन्छ,’ भण्डारीले भने, ‘अन्तिम पटकको प्रयास सफल भएको देखिएको छ।’
पक्राउ परेकालाई कर्तव्य ज्यानमुद्दा, हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको छ।
पक्राउ परेका व्यक्तिमध्ये साकिर अली पखिया हातहतियार तथा खरखजना मुद्दामा २०६४ साल वैशाख ५ गते पक्राउ परेका थिए। त्यसबेला उनी दुई वर्ष जेल बसेर छुटेका थिए।