पोखराबाट धौलागिरिको चार जिल्ला जोड्ने भूपी शेरचन राजमार्ग पहिरोले अवरूद्ध भएको छ।
पर्वतको कुश्मा-२ सहस्त्रधारामा पहिरो जाँदा राजमार्ग अवरूद्ध भएको पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन्।
सोमबारदेखि परेको अविरल वर्षाका कारण पहिरो गएको भन्दै सिडिओ खत्रीले राजमार्ग खुलाउन प्रयास गरे पनि पानीका कारण नसकेको बताइन्।
उक्त पहिरोका कारण पर्वत मात्र होइन, म्याग्दी, बाग्लुङ र मुस्ताङ समेत सवारी जान नसक्ने अवस्थामा पुगेको छ।
पर्वतको सेतीबेनीमा कालीगण्डकीका कारण जोखिम रहेकाले १० घर सुरक्षित स्थानमा सारेको सिडिओ खत्रीले बताइन्।
यस्तै,म्याग्दीमा कालीगण्डकी नदी लगायत अन्य खोलाहरूले पनि खतराको सतह पार गरेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए।
सदरमुकाम बेनी बजारका केही ठाउँमा कालीगण्डकी नदीले कटान गरिहेको उनले बताए।
पानीका कारण म्याग्दीका केही ठाउँमा सडक चर्किएको छ भने मुस्ताङ जाने बाटो पूर्ण रूपमा अवरूद्ध हुन पुगेको छ।
बेनी बजारबाट पर्वततर्फ जाने र बाग्लुङतर्फ जाने सबै सडक अवरूद्ध भएको सिडिओ अधिकारीले बताए।
कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा अत्यधिक वर्षा हुँदा त्यस क्षेत्र प्रभावित भएको उनले बताए।
बाढी र पहिरोका कारण म्याग्दीका ग्रामीण सडक समेत पूर्ण रूपमा अवरूद्ध हुन पुगेको छ। मुस्ताङ जाने बाटोको रुप्से झरनामा पहिरो गएर सवारी साधन अड्किएको सिडिओ अधिकारीले बताए।
उता, बाग्लुङमा पनि डुबान र पहिरोका जोखिममा रहेका १० घर सुरक्षित स्थानमा सारिएको छ।
बाग्लुङको काठेखोला-७ मा ८ घर र ढोरपाटन-९ का २ घर सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए।
बाग्लुङको मालढुङ्गा-बलेवा सडक पहिरोले अवरूद्ध भएको उनले बताए। पानी परेकै कारण सडक खुलाउन नसकेको सिडिओ अधिकारीको भनाइ छ।
म्याग्दी-मुस्ताङ सडकको मुस्ताङ खण्डमा पनि ठाउँ-ठाउँमा पहिरो गएको छ।
मुस्ताङको मार्फाखोलाको बाढीले सडक भत्काएको छ। यस्तै घैटुखोला, निसी, घोष्टेभिर, काभ्रेभिर लगायतका ठाउँमा पहिरो गएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताइन्।
मुस्ताङका केही ठाउँमा बिजुलीको पोल ढलेको र लघु जलविद्युत आयोजना बगाएको खबर आएको सिडिओ पौडेलले बताइन्।