मनाङ सदरमुकाम चामेका पालसाङ गुरुङ ज्यान जोगाउन जिल्ला कारागार भवन पुगेका छन्।
पानी परिरहेको छ, चामे बजार अहिले पनि डुबानमै रहेकाले कारागार भवन पुगेको गुरुङले बताए। उनी मात्रै होइन, चामेका झण्डै ३ सय जना अहिले सोही भवनमा गएर बसेको उनले बताए ।
बाढीबाट विस्थापितलाई राखिएको सो कारागार भवन भर्खरै निर्माण सकिएको हो। भवनको निर्माण सकिए पनि ठेकेदारले हस्तान्तरण गर्न बाँकी रहेकाले संचालनमा आउन सकेको थिएन।
अहिले बाढीको डुबानबाट मावनीय क्षति हुन नदिन कारागार भवनको प्रयोग गरिएको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए । उनका अनुसार केही मानिस भने आफन्तको घरमा गएर बसेका छन्।
ठाडो बग्ने घट्टेखोला र च्याट्टु खोलामा आएको बाढीले चामे डुबेको छ। प्रहरीका अनुसार ६ घर भत्काएको छ । यी दुई खोलाको बाढीले मर्स्याङ्दी नदीको बहाबलाई समेत दिउँसो केहीबेर रोकेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए।
बाढीका कारण मनाङको हुलाक कार्यालयमा समेत क्षति पुगेको छ। यस्तै, जिल्ला प्रहरी कार्यालय पनि बाढीको जोखिममा रहेको प्रहरी प्रमुख डिएसपी खड्काले बताए। उनका अनुसार, दुइवटा खोलाको बीचमा रहेको प्रहरी कार्यालयलाई च्याट्टु खोलाले असर गरिरहेको छ।
बाढीका कारण मनाङ जाने सडक अवरुद्ध छ भने विजुलीका पोलहरु ढलेका छन्। चामे स्थित लघुजलविद्युत आयोजना र तिमाङको लघुजलविद्युत आयोजना बाढीले बगाइदिएको छ। बिजुली नहुँदा संचार सुविधा समेत अवरुद्ध हुने अवस्थामा पुगेको डिएसपी खड्काले बताए।
बाढी र पहिरोका कारण मनाङ स्थित तिमाङको बेलीब्रिज बगाएको छ। यसअघि जेठ दोस्रो साता परेको पानीले तिमाङ छहराको काठेपुल बगाएपछि सडक सञ्जालबाट मनाङ टुटेको थियो। तिमाङ बेलीब्रिजका साथै सडकका अन्य ठाउँमा पनि पहिरो गएको सिडिओ लामिछानेले बताए। बेसीशहर– चामे सडकका धेरै ठाउँमा पहिरो गएको जानकारी आएको डिएसपी खड्काले बताए।
मर्स्याङ्दी नदीमा आएको बाढीका कारण मनाङ प्रवेशद्वार ताल गाउँ सम्पर्कविहिन बन्न पुगेको छ। बाढीले बिजुलीका पोल ढलेका छन् भने टेलिफोन सेवा पनि अवरुद्ध हुन पुगेको छ। ताल गाउँ मंगलबार विहानैदेखि संचारविहिन बन्न पुगेको हो।
ताल गाउँ मर्स्याङ्दी नदी किनारैमा छ। नदीमा पानीको वहाव १ मिटर मात्रै बढ्दा पनि बस्ती डुबानमा पर्ने समस्या छ। अहिले तालमा रहेका सबै ४८ घर डुबानमा परेको डिएसपी खड्काले बताए।
स्थानीय ज्यान जोगाउन केही सिरानतालतिर त केही म्यार्दीतिर गएर बसेका छन्। तर उनीको अवस्था के छ भन्ने जानकारी नभएको प्रहरीले जनाएको छ। ताल गाउँमा जानै नसकिने अवस्था रहेको डिएसपी खड्काले बताए।
‘बाटोमा डुङ्गा र पहिरो झरिरहेको छ, मर्स्याङ्दी उर्लेको छ,’ उनले भने, ‘ताल गाउँका मानिस अन्यत्र जान सक्ने अवस्था पनि छैन।’