दस दिनअघि जुन ५ मा संसारभरि विश्व वातावरण दिवस मनाइयो। पानी दिवस, सिमसार दिवसका नाममा पनि धेरै देशले आफ्ना प्राकृतिक स्रोतहरूको सरसफाइ र संरक्षण गर्दै आएका छन्।
यस्ता दिवस मनाउन थालेको ४०-५० वर्षभन्दा बढी भएको छैन। तर तपाईंलाई थाहा छ, काठमाडौंका नेवार समुदायले 'सिथि नखः' भन्दै पानी र प्रकृतिका स्रोत पुज्न थालेको हजारौं वर्ष भयो।
आज सिथि नख: को दिन काठमाडौं उपत्यकाभरि इनार, कुवा, धारा लगायत पानीका स्रोत सरसफाइ गर्ने चलन छ।
यही अवसरमा फल्चा समूहले सामाजिक सञ्जाल 'क्लबहाउस' मा मंगलबार सिथि नख: संस्कृति र योसँग जोडिएको वातावरणीय पक्षबारे छलफल गरेको थियो।
सिथि नखः भनेको काठमाडौं उपत्यकामा मनाइने वार्षिक जात्रापर्वको अन्तिम दिन हो। यसपछि किसानहरू खेतीपातीमा व्यस्त हुन्छन्। उनीहरूको पूरा समय खेतमै बित्छ। अब अर्को वर्षको जात्रापर्व धान रोपाइँ सकिएपछि सुरू हुन्छ। यो सिथि नखःको सात सातापछि आउँछ, जसलाई ‘गठांमुग’ भनिन्छ।
काठमाडौंका धार्मिक तथा सांस्कृतिक जात्रापर्वको चक्र गठांमुगबाट सुरू भएर दस महिना जारी रहन्छ। तत्कालीन कृषिप्रधान समाजले मनसुन र खेतीपातीलाई ध्यानमा राखेर यो सांस्कृतिक क्यालेन्डर बनाएको संस्कृतिविद्हरू बताउँछन्।
संस्कृतिविद् ओम धौभडेलका अनुसार जेठ शुक्ल षष्ठीमा मनाइने भएकाले यो पर्वलाई षष्ठी वा सिथि नख: भनिएको हो।
सिथि नखःले मनसुन सुरू हुन लागेको संकेत गर्छ। मनसुनअघि मुहान सफा गरेर पानीको आपूर्ति प्रणाली व्यवस्थित गर्नु यसको उद्देश्य हो। वर्षा सुरू भइसकेपछि भूमिगत पानीको सतह बढ्ने भएकाले सरसफाइ गर्न गाह्रो हुन्छ। त्यसैले मनसुन सुरू हुनु ठ्याक्कै अगाडि सिथि नखः मनाइन्छ।
‘यो समय कीरा, लाम्खुट्टे, झिंगा, सर्प लगायत जनावरहरू धेरै भेटिन्छन्। यसले मान्छे बिरामी भइरहेका हुन्छन्। पोखरी, हिति, इनार लगायत पानीका स्रोत सफा गर्दा रोग र जनावरबाट बच्न सकिन्छ,’ वातावरणीय हिसाबले पर्वको महत्व खुलाउँदै वातावरण विज्ञानका विद्यार्थी किरण गोसाईंले भने।
उनका अनुसार पानीका स्रोतलाई नाग देवतासँग जोड्दै मान्छेहरूले हिति र इनारमा नागका चित्र कुँदेका हुन्छन्। यो पर्वले नाग–सर्पको महत्व बुझाउन र संरक्षण गर्न सिकाउने उनी बताउँछन्।
'नाग देवता रिझाउने भन्दै इनारमा पस्नुअघि मान्छेहरू टुकी बाल्छन्। टुकी निभ्यो भने देवता रिसाएको भन्दै भित्र नपस्ने चलन छ। यसले हाम्रा पर्व कति वैज्ञानिक छन् भन्ने देखाउँछ,' किरणले टुकी बाल्ने चलनसँग जोडिएको वैज्ञानिक कारण बुझाए, 'हामी जति इनारको गहिराइमा पुग्छौं, त्यहाँ हानिकारक मिथेन, कार्बन-मोनोअक्साइड लगायत ग्यासहरू हुन्छन्। अक्सिजन कम हुन्छ। टुकी निभ्नु भनेको अक्सिजन कम भएको संकेत हो।'
त्यस्तै, जाडो याममा नाग–सर्प ‘हाइबर्नेसन’ मा गएका हुन्छन्। उनीहरू जमिनमुनि बस्छन् र जहाँजहाँ हिँड्छन् त्यो पानीको बाटो हो भन्ने मान्यता छ। त्यही भएर नाग देवताको पूजा गर्ने र पानीको बाटो संरक्षण गर्ने काम यो पर्वमा गरिन्छ।
अचेल ठूला घर र चिल्ला सडकका कारण पानीका बाटाहरू मासिँदै गएकोमा चिन्ता व्यक्त गर्दै किरणले भने, ‘वातावरण रहे न मानव रहन्छ। दुइटाको सह-अस्तित्व कायम गर्न मान्छेले वातावरण संरक्षण गर्नुपर्छ। अहिले पानीको स्रोत जोगाउन एक दिनको सिथि नखः ले मात्र नपुग्ने भइसकेको छ।’
सिथि नखःमा पानीका स्रोत सफा गरेपछि चार दिनसम्म त्यहाँको पानी नखानू भनिन्छ। यो पक्ष पनि वैज्ञानिक रहेको वातावरण विज्ञानका अर्का विद्यार्थी कमलराज गोसाईंले बताए।
‘स्रोत सफा गरेको आजको भोलि नै पानी खाँदा संग्लिएको हुँदैन। चार दिनसम्म त्यत्तिकै राख्दा पानीको तह पनि बढ्छ। यसले पानीको रिचार्ज र दिगोपना बढाउन मद्दत गर्छ,’ उनले भने, ‘यसरी पानीको स्रोत सफा गर्दा वर्षभर हामीले खाने पानी स्वादिलो र गुणस्तरीय हुन्छ।'
सिथि नखःको सांस्कृतिक पक्षबारे चर्चा गर्दै संस्कृतिविद् धौभडेलले यो पर्वमा कुमार देवतालाई पुजिने बताए।
कुमारलाई हामीले महादेवका छोरा भनेर पढ्दै-सुन्दै आएका छौं। तर उनलाई पार्वतीले जन्माएकी होइनन। पानीमा उत्पत्ति भएको मानिने कुमारकी आमा गंगा हुन्। छ जना ऋषि-पत्नी नुहाउन जाँदा उनलाई देख्छन् र ल्याएर पाल्छन्। त्यही भएकाले उनलाई कार्त्तिक्य कुमार पनि भनिन्छ।
जन्मिएको छैठौं दिनमै उनले तार्कासुर नामका राक्षसको वध गरेका थिए। हिन्दु ग्रन्थमा कुमार वा कार्त्तिक्यलाई ‘युद्धको देउता’ का रूपमा वर्णन गरिएको छ। भारतका हिन्दुहरू त्यही रूपमा कुमारको पूजा गर्छन्। भारतमा देखिने कुमारका मूर्तिमा उनलाई फराकिलो छाती भएको र हतियार बोकेको योद्धाका रूपमा चित्रण गरिएको छ।
काठमाडौं उपत्यकामा भने कुमारलाई बालकका रूपमा पूजा गरिन्छ। उनी पखेटा फिँजाइरहेको मुजुरको पिठ्यूँमा चढेका हुन्छन्। हातमा रातो झन्डा र हतियारको बिँड हुन्छ। जैसीदेवलको द्योछेँमा रहेको मूर्तिको स्वरूप यस्तै छ।
काठमाडौंमा कुमारलाई सार्वजनिक मन्दिरमा प्रतिस्थापन गर्ने चलन छैन। उनलाई यहाँका हिन्दु र बौद्ध धर्मावलम्बीहरूले घरको पवित्र स्थानमा राखेर पूजा गर्छन्।
घरमा पूजा गर्न बनाइने कुमारको मूर्ति अत्यन्तै सानो आकारको हुन्छ। कतिपयले घरको पर्खालमा प्वाल बनाएर मूर्ति राखेका हुन्छन्। त्यस्तो प्वाललाई ‘ग्वाखं प्वाः’ भनिन्छ।
पहिले पहिले काठमाडौंका नेवारहरू कुमारका नाममा हरेक साँझ सुत्नुअघि दियो बाल्थे। यसले केटाकेटी स्वस्थ रहन्छन् भन्ने मान्यता थियो।
मूलढोकाबाहिर कुमारको बास हुन्छ भन्ने जनविश्वास पनि छ। त्यही भएर धेरै नेवार घरमा मूलढोकाबाहिर पूजा गरेको देखिन्छ। जसरी कुनै शुभकार्य गर्दा गणेशको पूजा नगरी हुन्न, त्यसैगरी कुमारको दर्शन नगरी गृहप्रवेश नहुने मान्यता छ।
कुमार र ६ अंक आपसमा जोडिएका छन्। नेवार समुदायमा बच्चा जन्मिएको छैठौं दिन मात्र जन्मदिन मनाइन्छ। सिथि नखः कुमार जन्मिएको छैंठौं दिन हो। छ ऋषि-पत्नीले हुर्काएका कुमारको छवटा टाउको रहेको विश्वास गरिन्छ।
यति मात्र होइन, नेवारहरूले घरको मूलढोकाबाहिर जहाँ कुमारको दैनिक पूजा गर्छन्, त्यहाँ 'पिखाल्खु' बनाएका हुन्छन्। त्यसमा कमलको पात, पृथ्वीजस्तो गोलाकार, आगो लगायत आकृति देखिन्छ। यसले वातावरणको महत्व झल्काउन खोजेको कमलराजको भनाइ छ।
सिथि नखःको दिन कुमारलाई छथरि अन्नले पकाएको छवटा वः (नेवार परिकार) चढाउने चलन छ। वः कुमारलाई मन पर्ने खाना मानिन्छ।
सिथि नखःपछि खेतमा धान रोप्ने काम सुरू हुन्छ। यसको निम्ति किसानहरूलाई शक्ति चाहिने भएकाले उनीहरू सिथि नख:को दिन काब्रोहाइड्रेडयुक्त भएको खानेकुरा बढी खाने धौभडेल बताउँछन्।
‘मुसुरो, मुघी, मास लगायत दालमा त्यो तत्व हुने भएकाले वः, चतामरि खानु सान्दर्भिक छ,’ उनले भने, ‘तर अहिलेको हावामा आर्द्रता हुने भएकाले धेरै खानेकुरा किन्नु हुन्न। घरमै भएका खानेकुरामा पनि चाँडै कीरा र ढुसी लाग्ने भएकाले पिठो बनाएर खाने गरेको हो।’
धौभडेलले सिथि नख:सँग जोडिएको षष्ठी देवीको प्रसंग पनि सुनाए। षष्ठी देवीलाई 'छ्वास अजिमा' पनि भनिन्छ, जुन हरेक टोलमा ढुंगाजस्तो आकृतिको हुन्छ।
‘बच्चा जन्मिएको छैठौं दिनमा उसले प्रयोग गरेका सामान, लुगाहरू षष्ठी देवीलाई चढाउने चलन छ। मान्छे मरेको बेला पनि छ्वास अजिमाकहाँ काँचो धागो चढाएर रूने चलन छ। त्यहाँ आएर रूने मान्छेको कोही न कोही बितेको छ भन्ने थाहा हुन्छ,’ उनले भने।
यसै दिन नेवार समुदायले विभिन्न रंगीचंगी कागजको फिरफिरे बनाएर घर बाहिर राख्ने गर्छन्। यसबाट पहिले मनसुनको पूर्वानुमान पनि गरिने धौभडेलले बताए, ‘पूर्वबाट हावा आयो भने पानी पर्छ भन्ने विज्ञान थियो।’
यसबारे वर्णन गर्दै गौतमवज्र बज्राचार्यले आफ्नो किताब ‘रेन्स एन्ड रिचुअल्स’ मा लेखेका छन्, ‘कौसीमा राखिने फिरफिरेको घुमाइबाट हावाको बहाव थाहा हुन्छ। पहिले यही फिरफिरे कसरी हल्लिन्छ भन्ने हेरेर मनसुन कहिले सुरू हुन्छ भनी आकलन गरिन्थ्यो।’
भक्तपुरस्थित गोल्डन गेटको भित्तामा राजा यक्ष मल्लको पालामा कुँदिएको नेपाल सम्बत् ५७३ को एउटा शिलालेख छ। त्यसमा पनि सिथि नखःको उल्लेख छ। हाँडिगाउँको एउटा मूर्तिमुनि कुमार देवताको उल्लेख भएको धौभडेलले बताए।काठमाडौंको जैसीदेवलमा सिथि नखःको दिन कुमार जात्रा मनाउने गरिन्छ।
भक्तपुरमा भने यो दिन चण्डी भगवतीलाई खटमा राखेर नगर परिक्रमा गराइन्छ। नगर परिक्रमाकै क्रममा उनलाई मान्छेहरूले आफ्नो घरको छत वा झ्यालबाट वः, चतामरि हावामा फाल्ने गर्छन्। तौमडी जाने बाटोमा कुमारी द्योछेँमा बोका काटेर टाउकोको मासु भक्तजनलाई प्रसादस्वरूप बाँड्ने चलन पनि छ।
‘ठाउँअनुसार परम्परा फरक भए पनि यो पर्वको मुख्य उद्देश्य प्रकृति र पानीको स्रोत सफा–संरक्षण गर्नु नै हो,’ धौभडेलले भने, ‘हामीले हजारौं वर्षदेखि मनाउँदै आएको परम्परा आज पनि उत्तिकै व्यवहारिक र वैज्ञानिक छ भन्ने सिथि नखःबाटै बुझ्न सक्छौं।’
यो पनि हेर्नुहोस्: