सुदूरपश्चिममा दुई दिनको अवधिमा बाढी पहिरोका कारण दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
मृत्यु हुनेमा बाजुरा एक जना, डोटीका एक जना छन्। बाजुराकै एक जना अझै बेपत्ता रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
वर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग र बाजुरा जोड्ने साँफेमार्तडी सडकखण्ड अवरूद्ध भएको छ।
जसले गर्दा यी जिल्लाका अतिआवश्यक काम प्रभावित बनेका छन्।
लगातार परेको वर्षाका कारण प्रदेशका दर्जनौं बस्ती बाढी र पहिरोको उच्च जोखिममा रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र सिंह थापाले प्रदेशमा बाढी, डुबान र पहिरोको उच्च जोखिममा रहेका जिल्लाका बासिन्दालाई सर्तक रहन प्रशासनले सूचना जारी गरेको बताए।
उनका अनुसार अहिले प्रदेशको कैलाली, बाजुरा, दार्चुला, बझाङ लगायतका जिल्ला बाढी र पहिरोको उच्च जोखिममा रहेका छन्।
लगातार परेको वर्षाले बाजुराको अम्कोट एरियामा पहिरो आएका कारण त्यहाँ साँफे मार्तडी सडकखण्ड ४ दिनदेखि अवरूद्ध भएको छ।
जिल्लामा बुढीगंगा नदीमा पानीको बहाव बढ्दै गए आसपासका बस्तीहरू बाढीको उच्च जोखिममा रहेका छन्।
यस्तै, गत वर्ष १७ जनाको ज्यान लिनेगरी आएको अछामको साँफेबगर नगरपालिकाको कैलाश खोलाका आसपासका बस्ती यस वर्ष पनि लगातार अझ भारी वर्षा भए जोखिममा रहेको प्रहरीले जनाएको छ।
बझाङको सेती नदीको आसपासका बस्ती पनि बाढीको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ।
उता, दार्जुलाको व्याँस गाउँपालिका-३ मा पारी पट्टी इन्डियाले बाटो खनेकाले ढिस्को वारि नेपाली भूभागको महाकाली नदीमा परेका कारण त्यहाँको घुरेटो बाटोमा बन्द भएको छ।
यस कारण त्यहाँ पनि महाकाली नदी थुनिए बाढीको जोखिम छ।
यस्तै, महाकाली, चमेलिया नदीमा पानीको मात्रा बढे त्यस क्षेत्रका आसपासका बजार, बस्ती जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
यस्तै, बैतडीको ढोल्यामोडमा पहिरो खस्दा बझाङ जोड्ने जयपृथ्वी राजमार्ग दुई दिनदेखि बन्द छ।
प्रदेशको तराईको जिल्ला कैलालीको भजनी, टीकापुर, जोशीपुर, कैलारी धनगढी पनि बाढी र डुबानको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
‘अहिले नदीहरू पानी बहाव कन्ट्रोल हुनाले जोखिम बढेको छैन तर पानी परिरहेकोले जतिबेला पनि जे पनि हुन सक्ने अवस्था छ’, प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने।
विपदबाट बचाउन स्थानीयलाई सर्तक रहन आग्रह गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।
प्रदेश प्रहरी कार्यालयका अनुसार सबै जिल्ला प्रशासनले विपद व्यवस्थापनको बैठक बसेर बाढी पहिरोको जोखिममा रहेका बासिन्दालाई सर्तक रहन आग्रह गरिसकेको छ।