निर्माण कार्य सकिनै लागेको सुपरमादी जलविद्युत आयोजनाका संरचना र सामग्री बाढीले बगाइदिएको छ।
बाढीले आयोजनाका संरचना र सामग्री बगाउँदा १ अर्ब रूपैयाँ बराबरको क्षतिको प्रारम्भिक अनुमान गरेको सुपरमादी हाइड्रोका कार्यकारी अध्यक्ष पुष्पज्वती ढुंगानाले बताए।
उनका अनुसार आयोजनाको हेडबक्स (बाँध क्षेत्र) र पावर हाउसमा बाढीले क्षति गरेको छ।
कास्कीको मादी गाउँपालिका– १ स्थित मादी नदीमा ३ वर्षअघि सुरू भएको ४४ मेगावाट क्षमताको यस आयोजना यही चैतमा निर्माण सक्ने लक्ष्य राखिएको थियो। कोरोना भाइरसको महामारीका कारण यही असारमा सक्ने भनिएको आयोजना चैतसम्म धकेलिएको थियो।
बाढीले निर्माण सामग्री र संरचना बगाउँदा फेरि तोकिएको समयमा आयोजना सम्पन्न नहुने अवस्था आएको अध्यक्ष ढुंगानाले बताए।
‘चैतमा बिजुली उत्पादन थाल्नेगरी काम भएको थियो, बाढीले फेरि समय बढाइदियो’, उनले भने, ‘कम्तीमा पनि ६ महिना समय थपिने देखिन्छ।’
बाढीले इलेक्ट्रो मेकानिकलतर्फ २० करोड र हाइड्रो मेकानिकलतर्फ १२ करोड क्षति गरेको अध्यक्ष ढुङ्गानाले बताए।
बाढीले गिटी, बालुवा, सिमेन्ट, छड लगायतका निर्माण सामग्री २० करोड रूपैयाँ बराबरको बगाएको छ।
यस्तै, आयोजनामा रहेको ३ वटा स्काभेटर, ४ वटा टिपर, ४ वटा डिजल जेनेरेटर गरी २० करोडको क्षति भएको उनले बताए।
यस्तै, मिक्स्चर, कंक्रिट पम्पलगायत पनि बगाइदिएको छ।
आयोजनाको हेडबक्स र पावर हाउसमा बाढीले क्षति गरेको छ।
अहिलेसम्मको अनुमानमा हेडबक्सर पावरहाउसमा गरी १५ करोड बराबरको क्षति भएको ढुङ्गानाले बताए।
‘अहिले पनि बाढी आइराखेको छ, अझै क्षति गर्न सक्छ,’ उनले भने।
आयोजना बनाउँदा ३ अर्ब रूपैयाँ बैंकबाट ऋण लिएको भन्दै ढुङ्गानाले आयोजना निर्माणको समय १ वर्ष धकेलिँदा ३५ करोड ब्याज मात्रै बढ्ने बताए।
आयोजनामा अहिले कन्सल्टेन्ट इञ्जिनियरसहित ७ सय जना कार्यरत छन्।
७ अर्ब ५० करोडमा बनाउन लागिएको यस आयोजनाको लागत बाढीकै कारण १ अर्ब थपिने देखिएको ढुङ्गानाले बताए।
आयोजनाका बाहिरी संरचनालाई बाढीले असर पारे पनि सुरूङ भने सुरक्षित नै रहेको उनले बताए।
आयोजनाको हेडबक्समा अलपत्र परेका मजदूरलाई स्थानीयबासी, गाउँपालिका र सेनाको सहयोगमा बुधबार उद्धार गरिएको छ।
आयोजनाको निर्माणस्थलमा मादी नदीको बाढी दुइटा धारमा बग्न थालेपछि बीचमा मजदूर अड्किएका थिए।
उनीहरूलाई स्थानीयले प्रयोग गर्ने बाटो प्रयोग गरेर उद्धार गरेको मादी–२ का वडा अध्यक्ष एकजंग गुरूङले बताए।
नदीको दुईधार बीचमा आयोजनाका झण्डै २ सय जना मजदूर अड्किएका थिए।
‘मादीमा मजदूर ब्लक भएपछि डोरीले तानेर निकाल्यौं’, वडाध्यक्ष गुरूङले भने, ‘भिरको बाटो ल्याएर फेरि अर्का ठाडो खोला पनि रसी र काठको सहाराले मजदूरको उद्धार गर्यौं।’