पछिल्लो एक महिनामा आइसियू चाहिने कोरोनाका सिकिस्त बिरामीको संख्यामा ३२ प्रतिशतले कमी आएको छ।
जेठको पहिलो साता देशभर एक हजार ३ सय ३१ जना आइसियूमा रहँदा अहिले जम्मा ९ सय २ जना संक्रमित आइसियूमा उपचाररत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार प्रदेश नम्बर १ मा १४६, प्रदेश नम्बर २ मा ४०, बागमतीमा ५२८, गण्डकीमा ७४, लुम्बिनीमा ६९, कर्णालीमा १९ र सुदूरपश्चिममा २६ जना संक्रमित आइसियूमा उपचाररत छन्।
जबकि जेठ १ गते प्रदेश नम्बर १ मा १९२, प्रदेश नम्बर २ मा १९९, बागमतीमा ५५७, गण्डकीमा ९८, लुम्बिनीमा १४०, कर्णालीमा १०१ र सुदूरपश्चिममा ४७ जना आइसियूमा उपचाररत थिए।
गत महिनाको तुलनामा प्रदेश नम्बर २ मा सिकिस्त विरामीको संख्यामा सर्वाधिक सुधार आएको छ। गत महिना उक्त प्रदेशमा १९९ जना संक्रमित रहेकोमा अहिले जम्मा ४० जना संक्रमित आइसियूमा छन्। तर त्यहाँ रहेका कतिपय सिकिस्त संक्रमितहरू काठमाडौंमा रिफर गरिएका कारण पनि प्रदेश नम्बर २ मा आइसियूमा रहेका संक्रमितको संख्या घटेको हो।
तर देशभरको तथ्यांक हेर्दा गत महिनाको तुलनामा यो महिना ४ सय २९ जना कम संक्रमित छन्। यसले गर्दा पनि संक्रमणको अवस्था सुधार हुँदै गएको प्रष्ट हुन्छ।
अहिले गत महिनाको जस्तो अस्पतालमा आइसियूको हाहाकार भएको स्थिति छैन। उक्त बेला उपत्यकाकै सबैजसो अस्पतालमा आइसियू भरिएका थिए। कति अस्पतालले त आइसियू भरिएपछि विरामीलाई बाहिरै राखेर उपचारसमेत गरेका थिए। अहिले भने अस्पताल बाहिर राखेर संक्रमितको उपचार गर्नुपर्ने स्थिति छैन।
उपत्यकाकै हकमा अहिले पनि सबैजसो अस्पतालको आइसियू भरिए पनि गत महिनाको जस्तो हाहाकारकै स्थिति भने छैन।
अस्पतालहरूले अहिले दुई चार जना आइसियू चाहिने विरामीलाई व्यवस्थापन गर्न सकिने जनाएका छन्। यसरी नै संक्रमण सुधार हुँदै गए अबको दुईदेखि तीन सातासम्ममा सिकिस्त विरामीको चाप आधा घट्ने अस्पतालहरूको भनाइ छ।
टिचिङ अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले अझै जोखिम कायम रहे पनि गत महिनाको तुलनामा अहिले अवस्था धेरै नै राम्रो भएको जनाए। उनले अहिले अस्पतालको आइसियूहरू भरिए पनि दुई चार जनालाई भने व्यवस्थापन गर्न सकिने जनाए।
उनले टिचिङ सरकारी अस्पताल भएकाले निजीमा रहेका संक्रमितहरू पनि खाली हुनासाथ टिचिङमै आउने भन्दै अहिले निजी अस्पतालहरूमा भने आइसियू खाली हुँदै गएको बताए।
साथै यहीँ स्थितिमा संक्रमण सुधार हुँदै गए असारको तेस्रो सातादेखि सिकिस्त विरामीको चाप आधा घट्ने निर्देशक काफ्ले बताउँछन्। सरकारले निषेधाज्ञा खुलाउँदा अस्पतालमा संक्रमितको चापलाई पनि आधार मान्ने भनेको छ। स्वास्थ्य मन्त्रालयले अस्पतालहरूमा संक्रमितको चाप ५० प्रतिशत कम भएपछि निषेधाज्ञालाई खुलाउँदै लैजाने गरी तयारी थालेको छ।
तर अस्पतालहरूमा अहिले मध्यम अवस्थाका विरामीहरूको संख्या ह्वात्तै घटे पनि सिकिस्त विरामीहरू उल्लेख्य मात्रामा अझै नघटेको अस्पतालका निर्देशकहरूले बताएका छन्। त्यसैले गर्दा अहिले नै निषेधाज्ञा खोलिहाल्नु उचित नरहेको भन्दै अझै केही साताको अवस्था हेरेर मात्र निर्णय लिनुपर्ने निर्देशकहरूको भनाइ छ।