बाढी र पहिरोले हिमाली जिल्ला मनाङका ५३ घरमा क्षति पुर्याएको छ।
केही दिनयता लगातार परेको पानीले मंगलबार र बुधबार मात्रै उक्त संख्यामा घरहरू क्षति भएको र ती घरका करिब एक हजार जना विस्थापित भएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए।
पानी अहिले पनि परिरहेकाले क्षति अझै बढ्न सक्ने उनको भनाइ छ।
सदरमुकाम चामेमा घट्टेखोला र च्याट्टु खोलाबाट मात्रै १० घर बगाएको छ। चामेमा बुधबार सामुदायिक भवनसहित चार घरमा क्षति पुगेको सिडिओ लामिछानेले बताए।
उनका अनुसार धारापानीमा सात घर, तालमा ३० घर, हुम्डे, पिसाङ र एक्लेभट्टीमा दुई-दुई घरमा क्षति पुगेको छ। तालका ३० घरमध्ये पाँच वटाजति घर मर्स्याङदी नदीले बगाएको र बाँकी पूर्ण रुपमा डुबेको सिडिओ लामिछानेले बताए।
धारापानीमा रहेका बासिन्दा ज्यान जोगाउन माथि ओढार गाउँ पुगेका छन्। अन्य गाउँका बासिन्दा पनि सकेसम्म सुरक्षित स्थानमा लगिएको सिडिओ लामिछानेले बताए। अहिलेसम्म मनाङमा मानवीय क्षति भने भएको छैन।
बाढी र पहिरोले मनाङको तिमाङ र चामेका लघु जलविद्युत आयोजना, एउटा बेलिब्रिज पुल र तीन वटा काठेपुल बगाएको प्रशासनले जनाएको छ। पहिरोको हिसाब भने अहिलेसम्म आएको छैन। यस्तै, मनाङमा १२ वटा बिजुलीको पोल ढलेको जानकारी आएको सिडिओ लामिछानेले जानकारी दिए।
उपल्लो मनाङमा पनि अविरल वर्षाले असर गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले बताए। उपल्लो मनाङको मनाङ गाउँमा रहेका गौतमले बाढीले गाउँमा जोखिम बढाएको बताए। अविरल वर्षाले गाउँमा माटोको छाना भएका घर चुहिएर बस्नै नमिल्ने अवस्था आएको छ।
मनाङको चार हजार मिटर उचाइसम्म पानी परिरहेको र त्यहाँभन्दा माथि हिउँ पर्न थालेको गौतमले बताए। ‘करिब चार हजार मिटरभन्दा उचाइमा हिउँ परिरहेको छ, यार्सागुम्बा टिप्न जाने लेक सबै हिउँले ढाकिएको छ,’ गौतमले सेतोपाटीलाई भने, ‘तल अत्यधिक वर्षा र माथि बेसिजनमा हिउँ परेको छ।’
मर्स्याङ्दी नदीले डुबाएको मनाङ प्रवेशद्वार ताल गाउँ अझै जलमग्न छ। यद्यपि, तालका सबै जना सुरक्षित छन्।
बाढीका कारण सम्पर्कविहीन बन्न पुगेको ताल गएर फर्केका लमजुङ जगतका युवाहरूले सबै जना सुरक्षित रहेको र टेलिफोन टावर, बिजुली र बाटो बन्द भएकाले उनीहरू बसिरहेकै ठाउँमा अड्किएको बताएका छन्।
ताल गाउँ सक्पर्कविहीन भएपछि जगतबाट बुधबार बिहान पाँच जना युवा ताल गाउँनजिकै पुगेका थिए। ताल पुगेर फर्केका जगतका सुरेश गुरुङका अनुसार ताल गाउँमा सोमबार रातिदेखि नै मर्स्याङ्दीको बाढी पस्न थालेको बताए।
उनका अनुसार त्यही राति ११ बजेतिर तालका बासिन्दा मर्स्याङ्दीमा राखिएको पुल तरेर मोटरबाटोतर्फ तालडाँडामा भएको एउटा रेष्टुरेण्टमा पुगेर रात काटेका थिए।
मंगलबार केही स्थानीय घेराङ गाउँतिर गएर ज्यान जोगाएका छन् भने केही म्यार्दी तल रेष्टुरेण्डमा छन्। अधिकांश स्थानीय भने तालडाँडाको रेष्टुरेण्टमा बसेको गुरुङले बताए। ‘उहाँहरू अस्ति राति नै गाउँबाट मर्स्याङ्दी पुल तरेर तालडाँडा आएर बस्नुभएको रहेछ,’ गुरुङले भने, ‘एउटा मात्रै रेष्टुरेण्ट भएकाले सबै जना त्यहीँ कोच्चिएर बसेका छन्।’
तालका बासिन्दा सुरक्षित स्थानमा आएर बसेपनि सिरानतालका बासिन्दा पनि जोखिममा रहेको गुरुङले बताए।
‘सिरानतालबाट अन्त जाने बाटो पनि छैन, बाढी र पहिरोको चेपुवामा परेको छ,’ उनले भने, ‘टावर र बिजुली नभएर फोन पनि लाग्दैन।’ सिरानतालका बासिन्दालाई उद्धार गर्नुपर्ने अवस्था रहेको उनले बताए।
बिजुली र टेलिफोन टावर नहुँदा अहिले पनि मनाङको तालदेखि चामेसम्मै सञ्चारमा समस्या परेको छ। तालबाट विस्थापित भएका करिब ४८ घरका बासिन्दालाई तत्कालिन राहतस्वरुप लमजुङको च्याम्चेका स्थानीयले खाद्यान्न सहयोग लिएर गएका थिए। पहिरोले बाटो बन्द भएको र अहिले पनि ढुङ्गा झरिरहेकाले पुर्याउन नसकेको गुरुङले बताए।
‘हामी ताल जाँदा पनि पहिरो र ढुङ्गा झरिराखेको थियो,’ गुरुङले भने, ‘हामीले छल्दै छल्दै दुई घण्टा हिँडेर ताल पुगेका थियौं।’