अचेल भारतको उत्तराखण्डका ठूल्ठूला सल्लाघारीभित्र हातमा तेजाबका जर्किन र पिठ्युँमा डेढ वर्षकी छोरी बोकेर डुलिरहेकी हुन्छन् बझाङकी सरिता बोहोरा।
साथमा टिनको बट्टा, चक्कु र केही औजार बोकेर उनकै पछि हिँड्छन् श्रीमान् केवराज।
उनीहरू त्यहाँ सल्लाका रूखबाट खोटो निकाल्न पुगेका हुन्। खोटो निकालेबापत् आउने पैसाले बिहान-बेलुका हातमुख जोड्न पुग्छ।
गुजारा चलाउन उनीहरू गत फागुनदेखि काम गर्न भारत गएका हुन्।
गाउँमै वा नजिकैको बजारमा भए पनि काम पाइने भए अप्ठेरा जंगल-जंगल जान पर्दैनथ्यो भन्ने उनीहरूलाई लागिरहन्छ। यसपालि पनि जान नपरे हुन्थ्यो भन्ने सोचेका थिए। यसै पनि घरमा फलाएको अन्नले एक महिना खान पुग्दैन। यसपालि त बारीमा गहुँ पनि दुई-तीन पाथीमात्रै फल्यो।
गाउँमै ज्याला-मजदुरी पाइन्छ कि वा सरकारले आफूहरूलाई रोजगारी दिने केही योजना पो ल्याउँछ कि भन्ने आश पनि बेकारै भयो। अन्तमा त्यही जंगल नपुगी भएन।
गाउँमा केही योजना आइहाले पनि एक-दुई दिनमात्रै ज्यालादारी काम पाइन्छ। त्यसले उनीहरूको परिवारको गुजारा चलाउन सम्भव छैन।
‘त्यसमाथि इन्डिया जानेहरू कमाएर खाइहाल्छौ भन्छन्, हामीलाई आएका काममा पनि राख्दैनन्,’ सरिताले भनिन्।
गएको मंसिरतिर वडा कार्यालयबाट आएका योजनामा उनको नाम परेन।
‘हामीलाई कहाँ योजना छ, बजेट कहाँ आएको छ थाहै हुँदैन,’ उनले भनिन्, 'सरकारले काम दिन्छ भनेर पर्खे भारतको काम पनि छुट्ने पीर हुन्छ।'
उनी बोल्दा-बोल्दै श्रीमानले थपे,‘सरकारसँग काम देऊ भनी आन्दोलन के गर्नु, आउला भनेर आशमा बसे यताको पनि छुटला!’
उनीहरूजस्तै जौकला बोहोरा, मधुली, हिउँजला पनि त्यही जंगलमा छन्। उनीहरूले पनि सरिताको जस्तै समस्या भएर त्यही जंगलमा पुग्नु परेको सुनाए।
पश्चिमी क्षेत्रका धेरै जिल्लाहरूबाट खोटो निकाल्न परिवारैसहित अरू नेपाली पनि त्यहाँ पुगेका छन्।
बझाङ, दैलेख, रोल्पा, सुर्खेत, जाजरकोटलगायत जिल्लाका मानिसहरू काम गर्न आएको सरिताले बताइन्।
गएको फागुनमा हिउँदको घरायसी काम सकेर सरिता र उनका श्रीमान भारत पसे।
आमाबुवा जानेबेला घरमै छुटेको ५ वर्षको छोरा सँगै जाने भन्दै रूँदै थिए। उनलाई हजुरआमाको साथी भनेर घरमै छोडेर उनीहरू हिँडेका थिए।
कोरोनाको एक चरण केही शान्त भएको थियो। दोस्रो लहर आउने हल्ला थियो। बनबासा हुँदै उनीहरू उत्तराखण्डको अलमोडा पुगे।
हरेक पटक नेपालबाट त्यहाँ पुग्दा उनीहरूले नयाँ डेरा बनाउनु पर्छ।
पैसा तिर्न सक्नेले घरमा डेरा लिन्छन्, नसक्ने जंगल किनारतिरै त्रिपाल हालेर बस्छन्।
ठेकेदारसँग काम र पैसाका विषयमा सहमति गर्नुपर्छ। काम माग्नेलाई ठेकेदारले दिन पनि सक्छ, नदिन पनि सक्छ।
सरिताका श्रीमानले काम पाए। उनी पनि सँगै काम गर्ने भइन्।
ठेकेदारसँग अलिकति पैसा मागेर उनीहरूले डेरा बनाउनका लागि चाहिने त्रिपाल, भाँडाकुँडा र रासन किने।
त्यहाँ पुगेको दुई दिनपछि उनीहरू काममा जान थाले।
सरिता बिहानै ४ बजे उठ्छिन्। त्यसपछि नास्ता बनाउँछिन्। उनको डेरामा प्राय: नास्तामा कालो चिया र रोटी पाक्ने गर्छ।
त्यही खाएर सरिता र उनका श्रीमान् ५ बजेतिर जंगलमा खोटो निकाल्न हिँड्छन्।
सानी छोरीलाई एक्लै डेरामा छोड्न नमिल्ने भएपछि बोकेरे लैजानु परेको उनी बताउँछिन्।
खोटो बढी निस्कनेखालका सल्लाका रूख छानेर पहिला चक्कुले बोक्रा ताछ्छन्।
यसलाई उनीहरूले काम गर्ने बेला रिल लगाउनु भन्ने गरेका छन्। रिल लगाउने बेला तेजाब प्रयोग हुन्छ। तेजाब बोक्न सरिताले फाटेको बोराको झोला बनाएकी छन्। त्यसमा तेजाबका बोतलहरू हालेकी हुन्छन्।
रिल लगाएको ठाउँमा तेजाब हालेर छोड्नुपर्छ। त्यसपछि विस्तारै थोपा-थोपा गरी सल्लाबाट खोटो निस्कन थाल्छ। निस्केको खोटो फलामको सोलीमा जम्मा हुन्छ। ती भरिएपछि उनीहरूले टिनका डब्बामा खोटो खन्याउँछन्।
रिल हानेको एक हप्तासम्म बल्ल सोली भरिन्छन्। एकै रूखमा दर्जनौं सोली लगाइन्छ।
‘एक हप्तामा टिनको बट्टामा खोटो जम्मा हुन्छ, कहिलेकाहिँ त रिल हानेको १०/१५ दिनपछि मात्र खोटो तयार हुन्छ,’ उनले भनिन्।
रिल हाल्दा तेजाबले हात पोल्छ। हावा चले तेजाबका छिटा आखाँमा परेर बेस्सरी पोल्छ।
‘सल्लाका रूखमा आगो लाग्नाले जोखिम बढी हुन्छ। त्यसमा पनि खोटो र तेजाबसँगका काम अप्ठ्यारै हुन्छ,’ उनले भनिन्।
जंगलमा सल्लाका पातले चिप्लिएर लडिन्छ।
परारसाल जंगलमा लागेको आगोमा उनका श्रीमान् फसेपछि बल्लबल्ल ज्यान जोगाउन सकेको थिए।
काम गर्नेबेला काखमा सँगै रहेकी उनकी छोरीलाई यस्ता जोखिमबाट बचाउन सरितालाई गाह्रो हुन्छ। आफूलाई गाह्रो भए पनि छोरीलाई कसरी जोगाउने हरबखतको चिन्ता छँदैछ।
‘हावा चलेको बेला छोरीलाई तेजाबको छिटो नपरोस्, केही नहोस् भनेर बेसरी छातीमा टाँस्छु,’ उनले भनिन्।
उनीहरूले भरिएका टिनका डब्बा बोकेर जंगलबाट रोडसम्म पुर्याउनु पर्छ। गाडीमा लोड पनि गर्नुपर्छ। महिनामा २२/२५ क्विन्टल जति खोटो यस्ता डब्बामा भरेर उनीहरू करिब ३५ हजारसम्म कमाउँछन्। उनीहरूलाई ठेकेदारले क्विन्टलको हिसाबले पैसा दिने गर्छ। एक क्विन्टल खोटो जम्मा गरेबापत् उनीहरूले १ हजार ५ सय रुपैयाँ पाउने गर्छन्।
‘यो जंगलमा पैसा कमाउन कहाँ सजिलो छ र ६ महिना जंगली जनावरजस्तै भएर बस्नुपर्छ,’ सरिताले भनिन्।
उनीहरू बस्ने जंगलमा जनावरले तर्साइरहन्छन्। सर्प, बाघ, भालुलगायत जंगली जनावरको डरले बच्चाबच्चीलाई एक्लै छोड्ने अवस्था हुँदैन।
‘खानेपानी नहुँखा खोलाको पानी खान्छौं, शौच जंगलमै गर्नु पर्छ, महिनावारी भए नुहाउन समस्या हुन्छ,’ उनले भनिन्।
उनीहरूजस्तै काम गर्ने त्यहाँ सयौं नेपाली छन्। महिलाहरूले सानासाना बच्चाबच्चीलाई कसैले काख त कसैले पिठ्युँमा बोकेर खोटो निकाल्ने ठाउँमा लग्ने गर्छन्।
बुबाभन्दा बच्चाबच्ची आमासँगै जाने भएकाले उनीहरूलाई हेर्ने जिम्मेवारी महिलाकै हुन्छ।
जंगलमा बस्ने, काम गर्ने ठाउँ एकदेखि अर्काको केही दूरीमा हुन्छ।
फागुनतिर गएकाहरू दशैंमा फर्किने योजनामा छन्। ठेकेदारले घर फर्कने बेलामात्रै पैसा दिन्छ। अहिले खाना खर्च भने पाइन्छ।
‘बीचमा बिरामी परे, रासन सक्किए, केही चाहिने सामग्री किन्नु परे माग्छौं, नत्र घर नफर्किन्जेल पैसा माग्दैनौं,’ उनले भनिन्।
सरिताको परिवारले एक सिजनमा डेढ लाखसम्म रुपैयाँ बच्चाएर घर फर्कन्छन्।
‘यति धेरै दु:ख गरेर कमाएको पैसाले ४ महिना जति घरमा खान, बस्न पुग्छ। त्यसपछि फेरि भारत आउनु पर्छ,’ उनले भनिन्।
सरितालाई घरमा छोडेर आएको ५ वर्षको छोरा यादले सताउँछ। सासुआमाको अवस्था के होला भनेर पनि चिन्ता लागिरहन्छ।
‘यहाँबाट घरमा फोन गरौं भने पैसा धेरै लाग्छ, त्यही भएर फोन गर्दैनौं,’ उनले भनिन्।
आगामी कात्तिकसम्म घर फर्कने योजना सरिताको छ।