बझाङको साइपाल गाउँपालिका-५ का गोर्ख धामीका छोरा काम गर्न भारत गएका छन्। उनी ३/४ महिनाको फरकमा घरखर्चका लागि पैसा पठाउँछन्।
छोराले पठाएको पैसा बुझ्न गोर्खलाई भने सजिलो छैन। पैसा ल्याउन तीन दिन हिँडेर सदरमुकाममा जानुपर्छ। आउन-जान लगाएर ६ दिनको यात्रा गर्नुपर्छ।
गत महिना छोराले पठाएको पैसा उनले यसरी नै ल्याएका थिए।
‘भिरको जोखिम बाटो छ उकालो-ओरालो धेरै गर्नुपर्छ, सदरमुकाम जाँदा धेरै सकस हुन्छ,’ उनले भने।
उनी सदरमुकाम आउँदा बाक्लो लुगा, जुत्ता लगाउँछन्। पिठयुँमा झोला भिर्छन्। यात्रा गर्दा उनको साथी हातको लौरी हुन्छ।
हिँड्दा-हिँड्दै साँझ परे बाटोमा भेटिएका साना त्रिपाल लगाएर बनाइएका होटलमा बास बस्छन्।
बाटोमा हिँड्दा उनलाई लाग्छ- हाम्रो ठाउँमा सरर गाडी गुड्ने बाटो भए यसरी हिँड्नु पर्दैन थियो होला।
सदरमुकाममा जाँदा र त्यहाँबाट फर्किने बेला अनेक कल्पना गर्दै पुग्ने गरेको उनी बताउँछन्।
सदरमुकाममा सडक, गाडी, ठूल्ठूला घर, सरकारी कार्यालय, पसल, बिजुलीका पोल, बैंक आदिजस्ता पूर्वाधार देख्दा उनलाई आफ्नो गाउँ अर्कै देशजस्तै लाग्छ रे।
सदरमुकामको जस्तो सुविधा नभए पनि गाउँमा एउटा बैंक भइदिएको भए ६ दिनको यात्रा गर्नु पर्दैन थियो कि भन्ने उनलाई बारम्बर लागिरहन्छ।
सदरमुकाममा उनी छोराले पठाएको पैसा लिनमात्रै आउँदैनन्। गाउँपालिकाको कार्यालयमा केही काम परे पनि उनी त्यहीँ पुग्नुपर्छ।
गाउँपालिकाको सम्पर्क कार्यालय सदरमुकाम चैनपुरमा छ।
गोर्खजस्तै साइपाल गाउँपालिकाका पाँचै वडाका स्थानीयले पैसाको कारोबार गर्न, बाहिरबाट पठाएको पैसा बुझ्न, गाउँपालिकामा केही काम परे पैदल हिँड्दै सदरमुकाम नपुगी हुँदैन। गाउँपालिकामा अहिलेसम्म सडक पुगेको छैन।
सुदूरपश्चिम प्रदेश सरकारका अनुसार प्रदेशका ८८ स्थानीय तहमध्य बझाङको साइपाल गाउँपालिकामा मात्रै बैंक तथा वित्तीय संस्था सञ्चालनमा आउन सकेका छैनन्।
भौगोलिक विकटताले सडक, सञ्चार, विद्युत विस्तार हुन नसक्दा साइपालमा अहिलेसम्म बैंक तथा वित्तीय संस्था पनि सञ्चालनमा आउन नसकेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले जानकारी दिए।
सरकारले सबै स्थानीय तहमा बैंक तथा वित्तीय संघसंस्था अनिवार्य सञ्चालनमा ल्याउनु पर्ने व्यवस्था गरेको छ। तर, यहाँका जनताले यी सेवाका लागि झन्डै एक साता पैदल हिँड्नु पर्छ।
बैंक सञ्चालन गर्न आवश्यक पर्ने सामान गाउँपालिकासम्म पुर्याउनै कठिनाइ भएको गाउँपालिकाका इन्जिनियर विक्रम खड्काले जानकारी दिए।
‘बैंक स्थापना गर्ने भनेर प्रक्रिया भएको छ तर तत्काल कठिनाइ हुँदा पूरा हुन सकेको छैन, यहाँका स्थानीय, कर्मचारी सबैले लामो जोखिमपूर्ण यात्रा गरेर सदरमुकाममा पुग्नुपर्छ,’ उनले भने।
गाउँपालिकामा गत वर्षदेखि टेलिफोन सेवाका लागि नमस्तेको टावर स्थापना गरिएको थियो।
त्यसले केही रूपमा राहत पुगे पनि पानी परे, घाम नलागेका दिन र साँझ-बिहान टावर आउँदैन।
आवश्यक महत्वपूर्ण कामका बेला मोबाइलको टावर जाँदा यहाँका जनप्रतिनिधि, स्थानीयले हैरानी व्यहोर्नु परेको छ।
विद्युत विस्तारका लागि लघु जलविद्युत आयोजना सञ्चालनमा ल्याएर भर्खरै काम भइरहेको इन्जिनियर खड्काले जानकारी दिए।
‘विद्युत, नेटबाट हुने काम त्यहाँ सम्भव नभएपछि सदरमुकाममा सम्पर्क कार्यालय स्थापना गरेर काम गरिरहेका छौ,’ उनले भने।
उनले महिनामा एक पटक कर्मचारीहरू गाउँपालिकामा पुग्ने गरेको बताए।
साइपाल गाउँपालिकामा ३ सय घरधुरी रहेका छन् भने, ३ हजार ५ सय बढी जनसंख्या रहेको गाउँपालिकाले जनाएको छ।