डडेल्धुरामा स्वास्थ्य चौकीकी कार्यालय सहयोगी मृत फेला परेकी छन्।
कोरोनाको खोप पुर्याउन हिँडेकी जमरानी स्वास्थ्य चौकीकी कार्यरत अस्मिता धामी शनिबार मृत फेला परेकी हुन्।
उनी बुधबारबाटै हराइरहेकी थिइन्। कोरोनाविरूद्धको खोपको १५ डोज पुर्याउन आफू कार्यरत स्वास्थ्य चौकीबाट हिँडेकी उनी स्थानीय हट्वानी सामुदायिक वनमा मृत फेला परेकी थिइन्।
मृतकका आफन्तका अनुसार शरीरमा निलडाम, दाँत भाँचिएको, टाउकोमा चोट लागेको अवस्थामा शव फेला परे पनि घटना कसरी भएको हो खुलेको छैन।
अहिले शव पोष्टमार्टमका लागि जोगबुडा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
शव फेला परेको ठाउँभन्दा पर उनको एक चप्पल, मास्क, बोकेका खोप फेला परेका थिए।
‘कसैले उहाँलाई आक्रमण गरेको जस्तो थियो। ढुंगाले हानेजस्तो देखिने शव क्षतविक्षत अवस्थामा थियो,’ स्वास्थ्य चौकीका इन्चार्ज रमेश बोहराले भने।
बुधबार बिहानको खाना खाएपछि उनका श्रीमान मामाघरमा घरको लेन्टर हाल्न हिँडे। अस्मिताका २ छोरी छन्। छोरीहरूलाई घरमै भएका मान्छेहरूसँग छोडेर उनी पनि कार्यालय गएकी थिइन्।
‘त्यो दिन म पनि काममा जाने भएकोले धेरै कुरा भएन। अरू दिन हुन्थ्यो, दुबै बेलुका फर्किउँला भनें र म ऊभन्दा अगाडि घरबाट निस्कें,’ अस्मिताका श्रीमान अम्मरले भने।
डडेल्धुराको परशुराम नगरपालिका-८ की २६ वर्षीया अस्मिता धामी सोही वडामा रहेको जमरानी स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगीको रूपमा करारमा कार्यरत थिइन्।
उनी हरेक दिन बिहान ९ बजे घरबाट ४५ मिनेड हिँडेर कार्यालय पुग्थिन्।
उनी त्यसदिन गएको बाटोमा मान्छेहरू हिँडिरन्छन्। स्कुलेहरू, घाँसपात जानेहरू, एक गाउँबाट अर्काे ठाउँ जानेहरू मुख्य सडकभन्दा छोटो हुने भनेर यो बाटो प्रयोग गर्ने गर्छन्।
‘मान्छेहरू हिँडिरहने भएर पहिला कहिल्यै समस्या हुँदैन थियो,’ अम्मरले भने।
असार १ गतेका दिन खोप लगाएर बचेका १५ डोज भ्याक्सिन र केही कागजात बुधबार जोगबुडा अस्पताल पुर्याउनु पर्ने थियो।
उनी ११ बजेतिर स्वास्थ्य चौकीबाट जोगबुडाका लागि हिँडेको इन्चार्ज बोहराको भनाइ छ।
‘अस्मितालाई बाँकी रहेको खोप पुर्याउन जानुपर्याे, जाने बेला आफूसँग पैसा छैन भनेपछि मैले २ सय रूपैयाँ दिएँ,’ इन्चार्ज बोहराले भने।
अस्मिताले स्वास्थ्य चौकीमा सरसफाइ गर्ने, नियमित रूपमा खोप ल्याउने-पुर्याउने काम गर्थिन्।
‘उनी स्वास्थ्य चौकीबाट हिँडेको करिब ४५ मिनेटपछि घटना भएको जस्तो छ, शवको अवस्था हेर्दा त्यस्तै थियो,’ बोहराले भने।
कार्यालयको काम सकेपछि घर फर्किने त्यसदिन भने अस्मिता बेलुकासम्म घर फर्किनन्। कहिलेकाहीँ माइतीघरमा बस्ने हुनाले अम्मरले रात परेर उतै बसिन् होला भन्ने ठाने।
फोन नलागेपछि उनले स्वास्थ्य चौकीका इन्चार्जलाई फोन गरे। इन्चार्ज बोहराले कार्यालयबाट बिहानै हिँडेको भनेपछि खोजी सुरू भएको थियो।
इन्चार्जको कुरा सुनेपछि अम्मर झस्किए। पछि कहीँबाट पनि खबर नआएपछि गाउँलेले वडा अध्यक्ष र प्रहरी कहाँ खबर गरे।
प्रहरीले पनि खोजी सुरू गर्यो। खोज्दै जाँदा तीन दिनपछि शनिबार बिहान ११ बजे शव भेटियो।
प्रहरीले शव उठाएर पोष्टमार्टमका लागि जोगबुडा अस्पताल लगेको छ।
उनले त्यहाँ काम गर्न थालेको करिब ३ वर्ष पुग्नै लागेको थियो। उनका २ वर्षका छोरा र ५ वर्षकी छोरी छन्। उनका श्रीमान भने ७ वर्षदेखि भारतको बैंगलुरूमा काम गर्दै आएका थिए। कोरोनापछि उनी गत वर्षको असारदेखि घरमै छन्।
‘म त अहिले घरमै भएकोले कमाइ थिएन, उसको कमाइले घरखर्च चलाउन सजिलै भएको थियो,’ उनले भने। छोरीहरूलाई घटनाबारे थाहा दिइएको छैन।
अहिले उनका परिवार शोकमा डुबेको छ। उनका श्रीमान शव कुर्न अस्पतालमा बसेका छन्।
अहिलेसम्म प्रहरीले घरनाबारे क्लु पत्ता लगाउन सकेको छैन। अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयकाले जनाएको छ।
प्रहरीका अनुसार सम्बन्धित मानिसहरूसँग सोधपुछ भइरहेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले घटनाको अनुसन्धानका लागि संघीय प्रहरी
इकाई कार्यालय र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को टोली पनि खटाइएको जानकारी दिए।
दुबै टोली आइतबार डडेल्धुरा पुगेका छन्। उनीहरूले अनुसनधानको काम अघि बढाएका छन्।