एउटै कोठामा ४५ जना। बाढी र पहिरो आउँदै गर्दा घरबाट जे-जति खानेकुरा ल्याउन भ्याए, त्यही बाँडिचुँडी खान्छन्, उनीहरू। यी ४५ जनाको एउटै मेस छ, जहाँ सबैका लागि एकैचोटी खाना पाक्छ। घरबाट ल्याएको खानेकुरा सकिँदैछ। फेरि घर गएर ल्याउने अवस्था छैन, गइहाल्यो भने पनि फर्कर आउने हो कि होइन केही टुंगो छैन।
मनाङका बाढीपीडितलाई बस्ने र खानेकुराभन्दा बढी समस्या पानीको छ। चामेस्थित नवनिर्मित कारागार भवनमा बसेकी नविना लामा भन्छिन्, ‘आकाशको पानी भरेर खानु परेको छ, खानेकुरा सकिनै लाग्यो। अब के खाने केही थाहा छैन।’
पोखरामा नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज पढ्दै गरेकी नविना वैशाख तेस्रो सातामात्रै घर गएकी थिइन्। पोखरामा कोरोना नियन्त्रण गर्न लकडाउन गर्ने भएपछि उनी लकडाउन छल्न चामे पुगेकी थिइन्। जेठ दोस्रो सातादेखि उनी चामेमै थुनिन्। लगातार चार दिन परेको पानीले जेठ दोस्रो साता तिमाङ छहराको पुल बगायो, जसले नविनाको पोखरा फर्कने बाटो बन्द गरिदियो।
अहिले त उनी चामेभित्रै बन्दी छिन्, कारागार भवनमा। ठेकेदारले भर्खरै निर्माण सकाएको यो भवन हस्तान्तरण गर्न बाँकी भएकाले सञ्चालनमा आउन सकेको थिएन। अहिले चामेका बाढीपीडितलाई राख्न प्रयोग गरिएको छ। यो भवनमा मात्रै झन्डै ३ सय जना बसेका छन्, भवनको एउटा कोठामा ४५ जनासँगै कोच्चिएर नविनाले पनि दिन काटेकी छिन्।
चामेको घट्टेखोला र च्याट्टेखोलाबाट बाढी आएपछि १० घर पूर्ण रूपमा क्षति पुगेको छ। कयौं मानिस विस्थापित भइसकेका छन्। अरू बेला सानो कुलोजस्तो भएर बस्ने यी दुई खोलाले अहिले चामे बजारलाई तहसनहस पारिदिएको छ।
‘कारागार भवनबाट घर जान खोला तर्नै सकिन्न’, नविनाले भनिन्, ‘जसोतसो गयो भने पनि फर्कन सकिँदैन।’
बाढीले मनाङमा मात्रै एक हजार बढी मानिस विस्थापित छन्। चामेमा कारागार भवनमा अटाउन नसकेका विस्थापित त्यहीं वरिपरि टेन्ट टाँगेर बसेका छन्। सेनाको हेलिकप्टरबाट उद्धार गरिएका चामे बाहिरका मानिसलाई पनि चामेमै राखिएको छ। कोही आफन्तको घरतिर लागेका छन् भने कोही जंगल छेउछाउ टेन्टमै बसेका छन्।
यसरी बस्नेहरूमा वृद्ध-वृद्धा, बालबालिका, गर्भवती पनि छन्। मनाङको चिसोमा उनीहरूलाई थप स्वास्थ्य समस्या आउन सक्ने नविना बताउँछिन्।
‘नियमित औषधी खानुपर्ने बाबाआमाको औषधी पनि सकिन लाग्यो’, उनले भनिन्, ‘राहत ल्याउँदा औषधी पनि ल्याइदिए हुन्थ्यो।’
सरकारले बाढीपीडितको राहत र उद्धारमा पर्याप्त काम नगरेको उनले बताइन्। सेनाको हेलिकप्टरबाट बाढी पीडितको उद्धार भए पनि के खाने समस्या भएको उनले बताइन्। राहतका सामग्री निकै थोरै लगेकाले समस्या परेको उनको भनाइ छ।
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पनि मनाङको बाढीपीडितको अवस्था निरीक्षण गर्न असार ४ मा मनाङ गएका थिए।
‘मुख्यमन्त्रीले ल्याएको भनेर १८ प्याकेट चाउचाउ आयो, हाम्रो कोठामामात्रै ४५ जना छौं, कति जनाले खाने?,’ उनले भनिन्, ‘सरकारले हामीलाई खाद्यान्न र पानी पर्याप्त ल्याइदियोस्।’
कारागार भवनमै बसेका चामेका बाढीपीडित पालसाङ गुरूङले जीवनमै सबैभन्दा अप्ठ्यारो परिस्थिति आएको बताए।
‘यस्तो होला भनेर हामीले सोचेका पनि थिएनौं’, पालसाङले सेतोपाटीसँग भने, ‘चामेबजार पुरै तहसनहस भएको छ, अब पुरानै अवस्थामा चामे बजार फर्केलाजस्तो लाग्दैन।’
गाउँ नै पुरै डुबेको मनाङ प्रवेशद्धार तालका बाढीपीडितको अवस्था पनि उस्तै छ। गाउँमा रहेका ६५ घर पुरै डुबेका छन् भने स्थानीयबासी रातारात मर्स्याङ्दी वारि तालडाँडा र घेराङ गाउँको शरणमा पुगेका छन्। उनीहरूलाई पनि खानेकुराको अभाव छ। तालका ३ सय जना विस्थापित भएको भन्दै स्थानीय मिनरासी गुरुङले सरकारबाट कुनै राहत नपाएको गुनासो गरे।
‘हाम्रो घरका सबै सामान बाढीले बगायो, अहिले पनि घरहरू सबै मर्स्याङ्दीको बाढीले डुबाएको छ’, मिनरासीले भने, ‘बस्न खानै नपाएर मर्नु पर्ने हो किजस्तो लाग्दैछ।’
असार १ गते नै राति घरघरमा पानी आएपछि उनीहरू भागेर तालडाँडा पुगेका थिए। तालडाँडामा एउटा मात्रै रेष्टुरेन्ट छ, त्यहीँ बसेर उनीहरूले पहिलो रात काटे।
बाढीले पुरै डुबान भएपछि जंगल, डाँडा र ओडारमा बास बसेर ज्यान जोगाएको तालकी स्थानीय ललिता गुरुङले बताइन्।
उनले भनिन्, ‘गाउँतिर फर्केर हेर्दा मन भकानिन्छ। सोच्दै नसोचेको कुरा भया। एक्कासि बाढीले घर डुबायो। जेनतेन ज्यान बचाउन सकियो। कहिले मर्स्याङ्दीमा पानी घट्ला र घर गएर केही सामान खोजेर ल्याउँजस्तो हुन्छ। नदीमा हेर्यो, पानी घट्दै घट्दैन।’
तालका बाढीपीडितलाई पनि खान र बस्नको समस्या छ। घरबाट धेरैजसोले खानेकुरा र कपडा समेत ल्याउन पाएनन्। भएका खानेकुरा पनि सकिनै लागेको ललिताले बताइन्। निरन्तर पानी परेकाले जाडो बढे पनि ओढ्ने, ओच्छ्याउने कपडा पनि छैन। अहिलेसम्म सरकारबाट राहतका लागि केही आउन नसकेको ललिताले बताइन्।
बाढी आउँदा सदरमुकाम चामेका केही स्थानीय सामान्य घाइते भएका थिए। तालगाउँका पनि केही मानिस घाइते भएको ललिताले बताइन्। अपाङ्ग र वृद्ध घाइते भएकाले उनीहरूको उद्धार गरेर अन्यत्र लैजान उनले आग्रह गरिन्।
तालडाँडामा बसेका मिनरासीले पनि उक्त ठाउँबाट अन्यत्र लगेर राखिदिन सरकारसँग आग्रह गरे।
‘हामीलाई यहाँबाट टेन्ट लगाएर बस्ने सकिने ठाउँमा लगिदिए हुन्थ्यो’, उनले भने, ‘५ दिन भइसक्यो, न निदाउन पाएका छौं, न खाना नै। दिनरात नै जागा बसेर ड्युटी गर्नु परेको छ।’
बाढी र पहिरोका कारण मनाङको चामे, धारापानी, ताल, हुम्डे, पिसाङ लगायतका स्थानका बासिन्दा सबैभन्दा धेरै जोखिममा छन्। मोटरबाटोका पुलहरू बाढीले बगाइसकेको छ भने बाटोमा पनि पहिरो गएको छ। चामेबाट तल बेसीशहरतर्फ झर्ने त्यही एउटामात्रै बाटो हो, यसबाहेक उनीहरूसँग अर्को विकल्प छैन।
पैदल हिँड्न प्रयोग गरिने बाटोसमेत पहिराले भत्किएका छन् भने झोलुङ्गे पुल पनि बाढीले बगाइदिएको छ। मनाङमा ८ वटा झोलुङ्गे पुल, ३ वटा काठे पुल र एउटा मोटरेबल पुल बगिसकेको छ भने तिमाङ र चामेको लघुजलविद्युत आयोजना बाढीले बगाएको छ। राष्ट्रिय प्रसारण लाइन लगेको बिजुलीका पोलहरु समेत ढलेका छन्।
बिजुली नहुँदा चामेबाहेक अन्य गाउँमा टेलिफोनको टावरसमेत सञ्चालनमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। जसका कारण गाउँहरूसँगको सम्पर्क टुटेको छ, स्थलमार्गबाट जान बाटो बन्द रहेको सिडिओ लामिछाने बताउँछन्।
बाढीपीडितलाई खाद्यान्न वितरण भइरहेको भन्दै सिडिओ लामिछानेले अहिल्यै समस्या नभएको दाबी गरे। खानेपानीको समस्या भने गहिरो भएको उनले बताए।
‘हामीले खाद्यान्न बाँडिराखेका छौं, समस्या आउन दिन्नौं’, उनले भने, ‘खानेपानीको त सिस्टम नै भत्कियो, अरू विकल्पै भएन।’