भक्तपुर गोलमढीको गःहिति (ढुंगेधारा) लाई अचेल स्थानीयहरू दैनिकजसो नियाल्छन्।
यो हितिको दायाँ–बायाँ ढुंगाले बनेका दुइटा सिंह छन्। हाँसिरहेको वा गर्जिरहेजस्तो देखिने यी दुवै सिंहले घाँटीमा घन्टी भएको माला लगाएका छन्। एकातर्फको हात राम्रै भए पनि अर्कोतर्फको फुटिसकेको छ।
स्थानीयलाई एउटै डर छ- हावामा उडिरहेजस्तो आकृतिका यी सिंह रातारात हितिबाट गायब हुने हुन् कि!
आफैं उडेर होइन नि, कसैले उडाएर लग्छ कि भनेर!
उनीहरूको यो डर केही सातादेखि सुरू भएको हो, जब सरकारी निकायले यी सिंह यहाँका होइनन् भनेर दाबी गरे।
सरकारी निकायको भनाइमा यी भक्तपुर दरबार क्षेत्रमा 'फसिदेग' भनिने सिलु महादेव (गोसाइकुण्ड महादेव) मन्दिरका सिंह हुन्। अहिले यो मन्दिर पुरानै शैलीमा बनाइँदै छ। त्यही क्रममा यी सिंहलाई पनि हितिबाट उखेलेर फसिदेगमै लैजान खोजिँदैछ, जसको स्थानीयले विरोध गर्दै आएका छन्।
हामी पुग्दा पनि स्थानीयहरू हितिको अग्लो पर्खाल वरिपरि घेरा लगाएर त्यसैबारे कुरा गर्दै थिए।
'हामी सबै स्थानीयले नदिने भनिसकेका छौं। लिन आयो भने त बबाल हुन्छ,' ६५ वर्षीय स्थानीय दिलबहादुर मानन्धरले भने, 'हामीले हिजोसम्म आफ्नो भनिरहेको सम्पदालाई आज अर्कोको हो भन्दा कसले मन पराउँछ?'
उनको मोबाइलमा पुरानो सिलु महादेवको फोटो पनि रहेछ। फोटोमा देखिएअनुसार मन्दिरको मध्यभागका चार बुर्जामा सिंहहरू देखिन्छन्। त्यही फोटोका आधारमा पुरातत्व विभागले यी सिंह लग्न लागे पनि आफूहरू दिन तयार नभएको बताउँदै उनले भने, 'यी सिंहलाई कसरी र कहिले यहाँ ल्याइयो भन्ने यहाँकै पाका मान्छेलाई पनि थाहा छैन। त्यहाँकै हो रहेछ भने पनि हामी दिँदैनौं। त्यत्रो मन्दिर नै पुनर्निर्माण हुँदैछ भने सिंह पनि नयाँ बनाउँदा के बिग्रिन्छ?'
उनले अगाडि भने, 'यदि त्यो सम्पदा हो भने यो पनि हाम्रो अमूल्य सम्पदा भइसक्यो। यहाँ ल्याएकै सय वर्ष नाघिसक्यो। हामी कुनै पनि हालतमा लैजान दिँदैनौं।'
सम्पदा, संस्कृति र जनजीवन झल्काउने पुराना तस्बिरहरू संकलन गर्ने पोखराका सुनिल उलकले उक्त फोटो भक्तपुर नगरपालिकालाई बुझाएपछि मन्दिरको पुरानो स्वरूप थाहा भएको हो। नभए १९९० सालको भुइँचालोपछि यसको स्वरूप नै परिवर्तन गरिएको थियो। फर्सीजस्तो आकारमा बनाइएकाले यसलाई 'फसिदेग' भन्न थालिएको स्थानीय बताउँछन्।
'जुद्धशमशेरको समयमा भत्केका मन्दिरहरू छिट्टै पुनर्निर्माण त भए तर तिनको वास्तविक स्वरूप हरायो। यो मन्दिर पनि पुनर्निर्माण गर्दा फर्सीजस्तै बनाइएकाले स्थानीयले खिस्याउँदै फर्सीजस्तो मन्दिर भन्न थाले,' मानन्धरले भने।
नब्बे सालको भुइँचालोमा भत्किएका कतिपय सम्पदा हतारहतार बनाइए पनि केही सम्पदा आजसम्म बनेका छैनन्। उलकले भक्तपुरकै छाने शैलीको लाँ पाँ देग मन्दिरको फोटो पनि नगरपालिकालाई बुझाएका छन्। अहिले यो फोटोमा मात्र सीमित छ। उक्त मन्दिरको अवशेषका रूपमा रहेका ढुंगाका दुई सिंह र सिँढी भने अझै हामी यथास्थानमै देख्न सक्छौं।
यो तस्बिर फ्रान्सेली फोटोग्राफर गुस्ताव ले बोनले खिचेका हुन्। विक्रम सम्बत् १९४१ मंसिर १९ गते नेपाल भ्रमण गर्ने उद्देश्यले उनी भारतको मोतिहारीबाट हिँडेका थिए। करिब ७ दिन हिँडेर भरियाहरूको साथमा उनी काठमाडौं आइपुगे।
गुस्ताव ले बोन नेपाल भ्रमण गर्ने पहिलो फ्रान्सेली हुन् भने नेपालका राणा प्रधानमन्त्री जंगबहादुर फ्रान्स भ्रमण गर्ने पहिलो नेपाली हुन्। जंगबहादुरकै अनुमति लिएर उनी नेपाल प्रवेश गरेका थिए। काठमाडौं प्रवेश गर्नुअघि उनलाई लिन ब्रिटिस रेसिडेन्सीबाट प्रतिनिधिहरूसमेत पठाइएका थिए।
गुस्तावको उद्देश्य थियो- यहाँको वास्तुकला र बौद्ध धर्मबारे अध्ययन गर्ने।
फ्रान्स फर्केपछि उनले नेपाल यात्रासम्बन्धी 'भोएज टू नेपाल' नामक किताब लेखे। यहाँका सम्पदा अध्ययन गरेपछि उनले किताबमा लेखेका छन्, 'यदि मान्छेको स्तर धर्मप्रति उसको गहिराई र त्यहाँका सम्पदाको संख्याले गरिने हो भने पृथ्वीको सबैभन्दा राम्रा मान्छे नेपाली हुन् भन्दा फरक पर्दैन।'
त्यही किताबमा लाँ पाँ देगको तस्बिर छ। फ्रान्सेली चित्रकार एकाइल ग्रान्ची टेलरले उक्त फोटोबाट चित्र पनि कोरेका छन्।
नेपाल भाषामा लाँ पाँ देग भनेको बाटो छेक्ने देवता हुन्। बीचमा बाटै छेकेर बनाइएकाले यसलाई स्थानीयले लाँ पाँ देग भनेका हुन्।
संस्कृतिविद् ओम धौभडेलका अनुसार यो मन्दिर पाटनका राजा श्रीनिवास मल्लले बनाएका हुन्। भक्तपुर दरबार क्षेत्रमा आफ्नो कृति बनाउने सोचेर उनले यहाँका राजाको स्वीकृतिमा उक्त मन्दिर बनाउन लगाएको धौभडेल बताउँछन्।
मन्दिरका देवता हरिशंकर (आधा शिव र आधा नारायण) हुन्, जुन भक्तपुरको राष्ट्रिय कला संग्रहालयमा सुरक्षित छ।
'२०७२ सालको भुइँचालोमा फसिदेग भत्किएपछि अब त्यसले सिलु महादेवकै स्वरूप पाउन लागेको छ,' उलक भन्छन्, 'भुइँचालोपछि अन्य मन्दिरहरू बन्दा लाँ पाँ देग पनि बन्ने कुरा आएको थियो। आशा छ, हामीले यसको स्वरूप छिट्टै देख्न पाउँछौं।'
विक्रम सम्वत् १७०७ मा बनेको सिलु महादेवको वास्तविक स्वरूप शिखर शैलीको थियो। त्यसलाई अंग्रेजहरूले सबभन्दा अग्लो र भव्य मन्दिर भनेर परिचय दिएका थिए। नीलकण्ठ महादेव पनि भनिने यो मन्दिरलाई हेनरी एम्ब्रोस ओल्डफिल्डले पनि १९१० सालमा चित्र कोर्दा नेपालकै ठूलो शिखर शैलीको मन्दिर भनेर वर्णन गरेका छन्।
संस्कृतिविद् धौभडेल यसमा सहमति जनाउँदै भन्छन्, 'भनिन्छ यो पाँचतले मन्दिर जत्तिकै अग्लो थियो। त्यसमा पाँचवटा पेटीको तह छ। पहिले पहिले मन्दिरको गजुर हेर्दा मान्छेले टाउकोमा लगाएको टोपी नै खस्थ्यो भन्ने कहावत छ।'
धौभडेलका अनुसार पहिले पहिले राजाहरू तीर्थस्थलका रूपमा सिलु जान्थे। त्यहाँ जहिल्यै जान गाह्रो भएपछि राजा जगतप्रकाशको समयमा सिलुसम्म जान नपर्ने गरी आफू र जनताको निम्ति स्थानीय स्तरमै सिलु महादेव निर्माण गरियो। यहाँ सोमबार भक्तजनहरूको भीड लाग्छ। गोसाइँकुण्डमा मेला लाग्दा यहाँ पनि मेला हुन्छ।
दरबार स्क्वायरमा सिलुसँगै पशुपति, गुह्येश्वरी र मनकामना पनि छन्। यिनलाई 'चार धाम' मानिन्छ। त्यही भएर भक्तपुर दरबार स्क्वायर भनेको धार्मिक तीर्थस्थल पनि हो।
पूरै इँटाले बनेको यो मन्दिरको शोभा बढाउन चारैतिर उड्ने खालको सिंह राखिएको थियो। चारै दिशामा आफ्नो प्रभाव भएको, सिंहजस्तो शक्तिशाली र आफ्नो क्षेत्रमा वर्चस्व देखाउन राजाले त्यसो गरेको हुनसक्ने धौभडेल बताउँछन्।
त्यसो त त्यस्तै खालको उडेको सिंह दरबार स्क्वायरमै रहेको नृत्यवत्सला मन्दिरमा पनि छ।
१९९० सालको भुइँचालोमा सिलु महादेव भत्किएपछि यसका अवशेष यत्रतत्र छरिएका थिए। यसमा भएका दुई सिंह मन्दिरको बायाँ सेतो भवनको ढोकामा देख्न सकिन्छ। पछिल्लो समय नगरपालिकासमेत बनेको उक्त भवन २०७२ सालको भुइँचालोपछि जीर्ण भएपछि त्यहाँबाट हट्यो।
यो सेतो भवनमा पहिले दरबारिया मान्छे नै बसेकाले यी दुई सिंह यहाँ हुनु जायजै छ। तर, अर्का दुई सिंह गोलमढीको हितिमा कसरी पुग्यो होला?
यसको लिखित अभिलेख त छैन, तर गोलमढीमा राम कप्तान भन्ने मान्छेले सिंह लगेको हुनसक्ने संस्कृतिविद् धौभडेल अनुमान गर्छन्।
मल्लकालमा एकजना कुसुमसिंह बाबु भन्ने प्रधानमन्त्रीजत्तिकै शक्तिशाली व्यक्ति थिए। उनी नेवार समुदायको मूल थरका थिए। त्यही थर भएका राम नामका मान्छे पनि सेनासँग सम्बन्धित हुन पुगे। नेवार भएर पनि सेनामा कप्तानजस्तो पद पाएकाले उनलाई मान्छेहरूले राम कप्तान भन्न थाले। पछि उनको वास्तविक नाम–थर नै त्यहीजस्तो बन्न गयो।
उनको पुरानो घर अहिले पनि गोलमढीमै छ। तर, २०७२ सालको भुइँचालोमा भत्किएर जीर्ण छ। राम कप्तानले आफ्नो सैनिक कालमा काठमाडौंबाट मनहरा आउने पुल बनाएका थिए। ठाउँ-ठाउँमा मठ–मन्दिरहरू पनि बनाए। गोलमढीमा राम झोपडी भनेर राम–सीताको घर पनि उनैले बनाएका हुन्।
'उनैले आफ्नो टोलको वर्चस्व बढ्ने भएकाले यो सिंह यहाँ ल्याएको भन्ने सुनिन्छ,' धौभडेलले भने।
त्यसो त गोलमढी र गःहितिको पनि आफ्नै विशेषता छ। इतिहासमा गोलमढीलाई गलमण्दे पनि भनेको पाइन्छ। मढी भनेको किल्ला हो। यसले यो पहिले किल्ला थियो भन्ने बुझिन्छ।
यसको नाम कसरी गोलमढी भयो भन्ने रमाइलो किस्सा छ। किम्बदन्तीअनुसार आश्विन शुक्ल पूर्णिमामा ठूला–ठूला यःमरि बनाएर बुद्धको चैत्य अगाडि चढाउने चलन छ। बाहिरका मान्छेले यःमरि भन्न नजानेर गोलो भएकाले गोलमरि भन्दै गोलमढी भएको भनिन्छ।
नगरको मध्य भागमा भएकाले धेरै जात्रा यही ठाउँ भएर जान्छन्। बिस्काःको भोलिपल्ट टोलटोलका देवतालाई सगुन दिँदा यहाँको गणेशलाई पनि दिइन्छ। श्री नवदुर्गा देवगणको ङालाकेगु जात्रा, इन्द्रजात्रा, सापारु (गाईजात्रा) लगायत जात्रामा पनि यो ठाउँको महत्व छ। यहाँ चोर्चा गणेश, वीरभद्र भनेर महादेवको मन्दिर, नारायण लगायत मन्दिर छन्।
यहाँको गःहिति भने लिच्छविकालिन हो, जुन अन्य हितिभन्दा गहिरो भएकाले गःहिति भनियो। यो हिति नजिकैको देवमन्दिरमा शिवदेव र अंशुवर्माको अभिलेख कुँदिएको छ। उक्त अभिलेखबारे धनवज्र बज्रचार्यले आफ्नो किताब 'लिच्छविकालीन अभिलेख' मा पनि उल्लेख गरेका छन्।
अभिलेखमा यहाँको टोल वा हितिबारे उल्लेख भने गरिएको पाइन्न। बरू भक्तपुर (खोपृङ) का जनताको कुशल मंगलबारे राजा शिवदेवले सोधेका छन् र अशुंवर्मा 'श्रीसामन्त' बाट 'श्रीमहासामन्त' भइसकेका छन्।
'उनको अवस्था पहिलेभन्दा मजबुत भएको देखिन्छ,' धनवज्रले लेखेका छन्, 'त्यसपछि अंशुवर्माले भोगवर्मालाई महासामन्त पद दिएको बुझिन्छ। पशुपतिको अभिलेखबाट भोगवर्मा अंशुवर्माको भानिज थिए भन्ने देखिन्छ।'
गःहितिमा दुई हिति, इनार, दुई शिवलिंग र शितला माजुको मन्दिर छ। भमरा, बिफर हुँदा यहाँ नुहायो भने शितला माजुले ठिक गरिदिन्छिन् भन्ने मान्यता छ।
पहिले पहिले टोलको पानीको स्रोत नै यही हिति थियो। विस्तारै अन्य माध्यमबाट टोलको पानी आपूर्ति हुन थालेपछि हितिको स्याहार–संरक्षण हुन सकेन। लामो सयम हिति संरक्षण नभएपछि पोखरीजस्तै भइसकेको थियो। पछि सफा गरेर पुरानै स्वरूपमा फर्काइयो।
हरेक जेठ शुक्ल षष्ठीका दिन नेवार समुदायले सिथि नखः मनाउँछन्। इनार, हिति, कुवा लगायत पानीका स्रोत सफा गर्ने उक्त पर्वमा यहाँका टोलबासी मिलेर यो हिति पनि सफा गर्छन्। यसपटक भने गःहितिले अघिल्लो साता मात्र भएको सिथि नखः मनाउन पाएन। हिति जमेर पोखरीजस्तै भइसकेको छ। यहाँ लेउ जमेको र घाँसहरू पनि उम्रिएका छन्।
त्यस सन्दर्भमा स्थानीय दिलबहादुरले भने, 'सिथि नखःकै समयतिर सिंह लग्ने कुरा आएपछि कसरी सफा गर्ने?'
नगरबासीले हितिको सिंह नदिने भएपछि सिलु महा द्यः गः निर्माण गरिरहेको पुरातत्व विभाग, भक्तपुरलाई पनि अलमल भइरहेको छ। मध्यभागसम्म निर्माण भइसकेको मन्दिरमा अब सिंह राख्ने बेला भइसक्यो। तर, स्थानीयले नदिएपछि अब दुइटा मात्र सिंह राख्ने कि के गर्ने भनेर छलफल भइरहेको विभागकी अरुणा नकर्मीले बताइन्।
'नगरपालिकाले त गोलमढीबाट सिंह ल्याउनू भनेर सिफारिस दिइसक्यो, तर स्थानीयले नदिने भनेकाले उनीहरूलाई रुष्ट गरेर ल्याउन पनि गाह्रो,' उनले भनिन्, 'हुन त पुरानो कुरालाई यथास्थानमा राख्दा राम्रो हुन्छ। जहाँ राखे पनि नगरवासीकै सम्पत्ति न हो। उहाँहरूले नदिने भन्दाभन्दै दबाबमा ल्याएर गरिएको विकास पनि दिगो हुन्न।'
संस्कृतिविद् धौभडेल पनि स्थानीयलाई रुष्ट बनाएर सम्पदा संरक्षण नहुने बताउँछन्।
'हुन त पुरानो शैलीको बनाउँदा सिंह त राख्नैपर्छ। तर, मन्दिर नै पुनर्निर्माण भइरहेको छ भने दुईवटा सिंह पनि नयाँ बनाउँदा खासै फरक पर्दैन,' उनले भने।