दुई साताअगाडि एपिएफ अस्पताल, बलम्बुको कोभिड वार्डमा ५७ वर्षीया महिला र उनका छोरा भर्ना भएका थिए। कोरोनाबाट ग्रसित ती महिलाका श्रीमानको केही दिनअघि मात्र कोरोनाकै कारण मृत्यु भएको थियो।
श्रीमानको निधनले बिथोलिएकी उनका आँखामा छोरा पनि गुमाउनुपर्ने हो कि भन्ने पिर देखिन्थ्यो। चिन्ता बढेसँगै अक्सिजन कम भएर उनको स्वास्थ्य गम्भीर हुँदै गयो। आइसियु लैजान पर्ने भयो। तर उनी मानिनन्।
उपचारमा संलग्न डाक्टर कुन्दु श्रेष्ठसँग बिरामीले भनिन्, 'मेरो छोरा वार्डमा छ। उसलाई छाडेर मलाई कतै जान मन छैन।'
ज्यान जोखिममा परेकी सिकिस्त बिरामीले यसो भनेपछि डा. कुन्दुले बुझिहालिन्, उनलाई 'ह्याप्पी हाइपोक्सिया' भइरहेको थियो। अर्थात् आफ्नो शरीरमा जटिलता भएर गाह्रो हुँदाहुँदै पनि बिरामीले हेक्का नराख्ने।
ती महिलाले छोरासँगै बस्न र उनको हेरचाहमा संलग्न हुन दिन बारम्बार आग्रह गरिन्। छोराभन्दा आफ्नो अवस्था गम्भीर भएको उनलाई कुनै पत्तो थिएन। कुन्दु उनलाई सम्झाइरहेकी थिइन्, 'तपाईंलाईं आइसियुको आवश्यकता छ। समयमा उपचार भए तपाईंलाई हामी स्वस्थ बनाएर तपाईंको छोरासँगै डिस्चार्ज गरिदिन्छौं।'
उनी मानिरहेकी थिइनन्। अवस्था झन् नाजुक भइसकेको थियो। बल्लतल्ल उनको हेरचाहमा खटिएकी छोरीको सहयोगमा आइसियु लागियो।
छोरासँगै बस्न मरिहत्ते गरिरहेकी उनको बाँच्ने इच्छा श्रीमान बितेसँगै बिस्तारै मर्दै गएको थियो। शाक्य थरकी ती महिला नेवार भाषामा भनिरहेकी थिइन्, 'जित म्वाय म मंत, बरू जि न जिमी बुडा वों वनी।' अर्थात् मलाई बाँच्न मन छैन। मेरो श्रीमान भएको ठाउँ जान्छु।'
'तपाईंको बाँच्ने आधार अझै सकिएको छैन। तपाईंका छोराछोरी छन्। उनीहरूका लागि भए पनि बाँच्नुपर्छ र हामीले भनेको मान्नुपर्छ,' कुन्दु नेवार भाषामै सम्झाउँदै थिइन्।
डा. कुन्दुका अनुसार शाक्य डिप्रेसनको सिकार भइसकेकी थिइन्। उनका अंगहरूले विस्तारै काम गर्न छाड्दै थिए।
अर्को दिन कुन्दु आइसियुका सबै बिरामीको रिपोर्ट जाँच गर्दै थिइन्। प्रायः बिरामीको स्वास्थ्य सुधारिएको देखिन्थ्यो। शाक्य भने झन् गम्भीर हुँदै थिइन्।
कुन्दु मिनेट-मिनेटमा आइसियुभित्र भएको क्यामराको भिडिओ नियाल्दै थिइन्। शाक्य आइसियुभित्र रहेका स्वस्थ्यकर्मीको आग्रह मानिरहेकी थिइनन्। आँखाबाट बर्बर्ती आँशु झार्दै रूँदै थिइन्। कुन्दुले बिहानको चिया पनि खाइसकेकी थिइनन्, हतारिँदै पिपिइ सुट लगाएर भित्र छिरिन्। उनको साथमा अरू डाक्टर र स्वास्थ्यकर्मी पनि गए।
छिर्ने बितिक्कै उनी शाक्यको कान नजिकै गएर बोल्न थालिन्, 'तपाईंलाई धेरै गाह्रो भएको छ हो? हेर्नुस् त, आँखा खोल्नुस् त, बिस्तारै सबै ठीक हुन्छ है।'
शाक्यले कुन्दुलाई पुलुक्क हेरिन्। बोल्न भने सकिनन्।
अक्सिजन कम हुँदै गएर अवस्था बिग्रेपछि शाक्यलाई भेन्टिलेटरमा राख्ने निर्णय भयो। कुन्दुले शाक्यकी छोरीलाई फोन गरिन्। उताबाट मलिनो स्वरमा जवाफ आयो, 'तपाईंहरूलाई जे ठीक लाग्छ गर्नुस्। उहाँको जिन्दगी तपाईंहरूको हातमा छ। सकेसम्म बचाइदिनुस्।'
कुन्दु फोन राखेर आइसियु छिरिन्। सानो कद भएकी उनलाई शाक्यको मोटो शरीर सम्हाल्न हम्मे पर्यो। सबै मिलेर भेन्टिलेटरमा राखे। कुन्दुको दिमागको तनाव अनुहारमा देखिन थालिसकेको थियो।
'जसरी हुन्छ, उहाँलाई बचाउने कोसिस गरौं,' उनले भनिन्।
यो औषधि, यो सिरिन्ज, फलानो, ढिस्कानो भन्दै नर्सहरू कोठा बाहिर, भित्र गर्न थाले। शाक्यको मुटुको ढुकढुकी पातलिसकेको थियो। पालैपालो स्वास्थ्यकर्मीले शाक्यको छातीमा करिब लगभग ४५ मिनेट जति सिपिआर दिँदा पनि भएन। अनि कार्डियोभर्जन दिइयो, मुटु पुनः सञ्चालनमा ल्याउने अन्तिम प्रक्रिया।
केहीबेरपछि एउटा तिखो आवाज गुञ्जियो, टीँ...।
शाक्य बाँचिनन्।
'उहाँलाई साँच्चै श्रीमान भएको ठाउँमा जान मन रहेछ,' डा. कुन्दुलाई लाग्यो। उनले लामो सास फेरिन्, खुइय्य गरिन्। उनलाई अझै बोझिलो काम गर्नु थियो, शाक्यकी छोरीलाई फोन गर्ने।
'माफ गर्नुस्, हामीले हर कोसिस गर्यौं, तर उहाँ अब रहनुभएन।'
कुराकानी सकेर कुन्दुले फोन राखेकी मात्रै थिइन्, खबर आयो- इमर्जेन्सीमा अर्को बिरामी आउँदै छ। तयार रहनुहोला।
कुन्दुसहितको स्वास्थ्यकर्मीको टोली तुरून्तै अर्को बिरामी हेर्न हिँड्यो।
त्यो दिन बिहान ९ बजेतिर भित्र छिरेकी डा. कुन्दु साँझ ६ बजेतिर बल्ल बाहिर निस्किन्। बिरामी बचाउन नसकेको दिक्दारी उनमा देखिन्थ्यो। दिनभर गुम्सिएको पिपिइ खोल्न जाँगर लागिरहेको थिएन। बिहान चियाको चुस्की छाडेर गएकी उनी बाहिर आएर बल्ल एक कचौरा खाना खान लागिन्। तर खान मन भएन।
फोन निकालेर श्रीमानलाई फोन गरिन्। उनका श्रीमान पनि डाक्टर नै भएकाले मेडिकल भाषा मिसाएर भनिन्, 'आज यस्तो यस्तो भएको बिरामीलाई यस्तो यस्तो गर्दा पनि बचाउन सकिएन।'
श्रीमानले उनलाई सधैं सम्झाउँछन्। उनको आत्मबल बढाउँछन्।
भोलिपल्ट बिहान मृतक शाक्यकी छोरी अस्पताल आइन्। डाक्टर कुन्दु उनलाई भेट्न गइन्। सबै वृत्तान्त सुनाइन्। शाक्यकी छोरीले भनिन्, 'म त अब अनाथ भएँ।'
डा. कुन्दुलाई त्यो कुराले सताइराख्छ।
उनले कोभिडको पहिलो लहरमा त्यति मृत्युको सामना गर्नु परेको थिएन जति दोश्रो लहरमा पर्यो। उनी सम्झिन्छिन्, पहिलो लहरमा प्रायः बिरामीलाई केही समयमै निको हुन्थ्यो।
कोरोना दोश्रो लहरको सुरूआती चरणदेखि नै उनी आइसियु ड्युटीमा खटिन थालेकी थिइन्। दिनको १४ घन्टासम्म। कुनैबेला ड्युटी सकेर पिपिइ फुकाल्दै गर्दा भित्र बिरामीको अवस्था बिग्रिन्थ्यो। फेरि तुरून्तै भित्र जानुपर्थ्यो। ड्युटीमा तिर्खा लागेर घाँटी सुक्दै गर्दा पानी खान पाइन्थेन।
महिनावारीको समयमा अझै गाह्रो, शौचालय जान कठिन हुन्छ। पिपिइ खोल्ने, लगाउने प्रक्रिया दोहोर्याउँदा निकै समय खर्चिन्छ। यो समय बिरामीका लागि 'क्रिटिकल' हुन सक्छ। कोभिड सुरू भएदेखि कुन्दु र उनीजस्ता हजारौं स्वास्थ्यकर्मीले आफ्नो व्यक्तिगत शरीर, मन र जिन्दगीलाई एक छेउ पन्छाएर खटिरहेका छन्।
पछिल्लो समय कोरोना अलि मत्थर भएको छ। कुन्दुले पनि एक साता ड्युटीसँगै एक हप्ता आराम पाएकी छन्।
२३ वर्षको उमेरमा नोबेल कलेजबाट एमबिबिएस सकेकी कुन्दु सुरूमा पाटन अस्पतालमा आबद्ध थिइन्। केही समयपछि एपिएफ अस्पताल आएकी हुन्। उनले डाक्टर भएर काम गरेको आठ वर्ष भयो। यहीबीच उनी युएन मिसनमा युद्धग्रस्त क्षेत्र दक्षिण सुडानको जुबामा १६ महिना खटेर फर्किन्।
'त्यो समय सम्झिँदा एकदम पीडादायक लाग्छ। तर आफ्नो देशभन्दा बाहिर गएर काम गर्दाको अनुभवबाट धेरै सिक्न र बुझ्न पाएँ,' ३१ वर्षीया कुन्दुले भनिन्। सुडानबाट फर्केपछि उनले 'एनेसथेसियोलोजी र क्रिटिकल केयर' उच्च शिक्षा हासिल गरिन्। इन्सपेक्टर पदबाट बढुवा भएर डिएसपी भइन्।
कोरोना बिरामीको ड्युटीमा खटेदेखि उनी साँझ बालाजुस्थित आफ्नो घर नगई माइती, कुलेश्वर जन्छिन्। उनका श्रीमान डाक्टरी पढाइ सिलसिलामा पोखरा बस्छन्।
'माइतीमा बस्न थालेकै डेढ वर्ष हुन लाग्यो। घरका परिवारमा दीर्घरोगी र पाको उमेरका सदस्य भएकाले सुरक्षाकै लागि भनेर यता बस्न थालेकी हुँ,' उनले भनिन्।
कुन्दुको माइतीमा आमा र बुवा छन्। एकै घरमा बसे पनि आमाबुवासँग नजिकै भएको, अँगालो हालेको यादले कयौं महिना बिताइसके। उनी छुट्टै तलामा बस्छिन्। आमाबुवा माथिल्लो तलाबाट 'छोरी के चाहिन्छ? के खाने? के ल्याइदिऊँ?' भन्छन्।
घरबाट अस्पताल जाने बेला ढोकासम्म बाइबाइ भन्न आइपुग्छन् र अस्पतालबाट घर आउँदा बरन्डाबाट हात हल्लाउँछन्। योबाहेक अरू सबै कुरा फोनमै हुन्छ। एकै घरमा बिरानोजस्तो बनेका उनीहरूलाई यो सबैको बानी भइसकेको छ।
'हामीसँगै सबै बसेर खान नपाएको कत्ति भइसक्यो। ऊ आउँछे, आफ्नो कोठाभित्र छिरेपछि निस्किन्न। घरमै हुँदा नि हेर्ने भनेको भिडिओ कल गरेर हो। तर पनि मलाई केही दुःख छैन। अझ गर्व गर्छु कि मेरी छोरी डाक्टर हो,' कुन्दुका बुवाले जोसिँदै भने।
उनकी आमा भन्छिन्, 'आफूले हेरिरहेको बिरामीको मृत्यु हुँदा एकदम रून्छे।'
डा. कुन्दु एक साता घर बस्दा उनको मन भने आइसियु कोठामै हुन्छ। आफूले हेरिरहेका बिरामीको स्वास्थ्य स्थितिबारे दैनिक आफ्ना सहकर्मीलाई फोन गरेर सोधिरहन्छिन्। सल्लाह गरिरहन्छिन्। उनी बिरामीले बच्चा जसरी आफ्नो हात समातेको सम्झिन्छिन्। त्यसको न्यानोपन सम्झेर मुस्कुराउँछिन्।
कुनै बेला आठ दिन भेन्टिलेटरमा राखेको बिरामी निको भएर निस्केको क्षण याद आउँछ उनलाई। भेन्टिलेटरबाट निस्केको केही समयपछि कुरा गर्दा कुन्दुलाई ती बिरामीले एउटा आग्रह गरेका थिए, 'मलाई तपाईंको अनुहार देखिने एउटा तस्बिर पठाइदिनुस् न।'
'किन र बुवा?'
'तपाईंलाई जहिले नि यो सेतो लुगामा देख्दा अनुहार थाहा पाउन सकिनँ। म बाहिर गएर सबैलाई तपाईंको तस्बिर देखाएर भन्न चाहन्छु कि यो डाक्टरले मलाई मृत्युबाट फर्काएर ल्याइन्।'
यो सुनेपछि कुन्दुका आँखा रसाए, खुसीले।
उनले हाँस्दै भनेकी थिइन्, 'तपाईं अब बाहिर निस्केपछि हामी दुवै जना सँगै बसेर फोटो खिचौं न, हुन्न र?'
त्यति भनेर निस्किएपछि उनी आफ्ना सहकर्मीसँग डा. अनूपसँग बसेर कुरा गर्न थालिन्, 'हामीले कहिले पनि बिरामीलाई भेन्टिलेटरबाट निस्किँदा कस्तो महशुस गर्नुहुन्छ, त्यत्रो दिन बेहोस हुँदा केही याद हुन्छ कि हुँदैन भनेर बुझ्ने कोसिस गरेका छैनौं है?'
डा. अनूपले भने, 'उहाँलाई अझै सन्चो भइसकेपछि सोधौं न त।'
केही दिनपछि कुन्दुले सोधिन्, 'यत्रो दिन भेन्टिलेटरमा बसेको केही याद छ बुवा?'
बिरामीले भने, 'केही छैन। तर बेला बेलामा सेता लुगा लगाएका मान्छे मेरो नजिक आउँथे, मलाई समाउँथे।'
कुन्दुले पिपिइ लगाएका डाक्टर-नर्स होलान् भन्ने अड्कल गरिन्।
'होस आउँदा चाहिँ?'
'एकदम उज्यालो लागिरहेको थियो। कसैले मलाई उठ, अब जानुपर्छ भनेझैं लाग्यो। फेरि सेतो लुगा लगाएकाले मलाई उठ्नुस् न, अब धेरै सुत्नुभयो उठ्नुस्, सबै ठीक भइसक्यो भनेको सुनेँ। मलाई जुरुक्क उठ्न मन लाग्यो। आँखा खोल्दा तपाईंहरू देखे। भगवान कस्तो हुन्छ त थाहा पाइनँ, तपाईंहरू नै भगवान हो जस्तो लाग्यो।'
बिरामीका कुरा सुनिरहेका डा. कुन्दु र उनका सहकर्मीका आँखा भरिला भए।