झापामा आयुर्वेदिक औषधी प्रयोग गर्नेको संख्या बढेको छ। पछिल्लो दुई वर्षको तथ्यांकलाई हेर्ने हो भने कतिपय रुग्ण बन्न थालेका आयुर्वेद औषधालय फेरि चलायमान हुन थालेका छन्।
विशेषगरी, कोरोना माहामारी सुरू भएसँगै आयुर्वेदिक औषधीतर्फ मानिसको आर्कषण बढेको हो। कोरोना संक्रमणबाट बच्न तथा यसको रोकथाम र नियन्त्रणका लागि आयुर्वेदिक औषधी उपयुक्त भएको भन्दै मानिसहरूको आयुर्वेद चिकित्सा सेवाप्रति चासो बढेको दुधे आयुर्वेद औषधालयका प्रमुख कविराज राजेन्द्र पोख्रेलले बताए।
‘पहिला पनि आयुर्वेद चिकित्सा सेवाप्रति नागरिकको विश्वास थियो। तर, लाभग्राहीको संख्या यसरी ह्वात्तै बढेको थिएन,’ पोख्रेलले भने, ‘कोरोना माहामारी सुरू भएसँगै यसको महत्व अझ बढेको छ।’
कोरोना संक्रमणका कारण अस्पतालमा रोगसँग लड्न तथा रोग प्रतिरक्षात्मक क्षमता बढाउने आयुर्वेद औषधी लिन संक्रमितका आफन्त आउने गरेको उनले बताए।
दुधे आयुर्वेद औषधालयले दोस्रो लहरको कोरोना संक्रमणका कारण होम आइसोलेसनमा रहेका २२२ जनालाई घरैमा आयुर्वेदिक आषधी पुर्यायो। त्यति नै संख्याका सर्वसाधरण औषधालयमा आएर कविराजको सल्लाह अनुसार औषधी बुझेर लगे।
कोरोना संक्रमित भएका र कोरोना संक्रमणको उच्च जोखिम भएका नागरिकलाई रोग प्रतिरोधात्मक आयुर्वेद औषधीहरू नि:शुल्क रुपमा शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली घरघरै पुर्याउन समेत गएका थिए।
दुधे आयुर्वेद औषधालयबाट कविराजको परामर्शसहित सेवाग्राहीले औषधी नि:शुल्क लैजाने गरेका छन्। गत आर्थिक वर्षमा दुधे आयुर्वेद औषधालयले ८ लाख ९० हजारको औषधी खरिद गरेर नि:शुल्क वितरण गरेको थियो।
यो वर्ष सेवाग्राहीको संख्या बढेकोले ११ लाख १२ हजार ६ सय ८७ रुपैयाँ बराबरको औषधी माग भएको कविराज पोख्रेलले जानकारी दिए।
शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले कोरोना प्रभावित नागरिक तथा संक्रमणको जोखिम भएकालाई नि:शुल्क रुपमा औषधी उपलब्ध गराइएको बताएको छ। कोरोना प्रभावितहरूका लागि २५ प्रकारका आयुर्वेदिक औषधी नि:शुल्क वितरण गरेको कविराज पोख्रेलले बताए।
दुधे आयुर्वेद औषधालयबाट अविपतिकर चुर्ण, हिंगवाष्टक चुर्ण, महायोगराज गुग्गुलु, टंकण भष्म, महासुधर्शन चुर्ण, जात्यादी तेल, सर्पगन्धा, बालामृत जस्ता औषधी वितरण हुने गरेको छ।
औषधालयले नगरको वडा नम्बर ३ र ४ मा नागरिक आरोग्य केन्द्र पनि सञ्चालन गरेको छ। सो केन्द्रमा हालसम्म ३०५ जनाले सेवा लिए। यस्तै, स्तनपायी आमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम ८६ जनाले सेवा लिए।
ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम अन्तर्गत ६१ जनाले सेवा लिएको औषधालयले बताएको छ। औषधालयले ८ प्रकारका सेवा प्रवाह गर्ने गरेको छ।
गत आव २०७६/७७ मा दुधे आयुर्वेद औषधालयबाट ४ हजार ८०५ र गाँउघर क्लिनिकबाट ७९९ गरेर ५ हजार ६०४ जनाले सेवा लिए। यता चालु वर्षको यो अवधिमा ७ हजार ५ जनाले सेवा लिएका छन्। अघिल्लो वर्षको तुलनामा यो वर्ष २५ प्रतिशतले औषधालयप्रति सेवाग्राहीको आकर्षण बढेको हो।
आयुर्वेद चिकित्सा पद्धतिहरू प्राकृतिक जडिबुटीबाट निर्मित हुने भएकाले मानव स्वास्थ्यका लागि फाइदाजनक र स्वास्थ्य उपचारमा समेत तुलनात्मक रुपमा बढी प्रभावकारी मानिएको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका शिक्षक राजकुमार ठाकुरले बताए।
दुधे आयुर्वेद औषधालय स्थापना भएदेखि नै आयुर्वेदको आफू सेवन कर्ता भएको उनले बताए। उनले कैयौं जडिबुटी गाउँघरमै पाइने भएकाले प्रयोग गर्न पनि सहज भएकाले अब विस्तारै नागरिकहरुको आयुर्वेद चिकित्सातर्फ आर्कषण र महत्व बढ्दै गएको दावी शिक्षकले गरे।