एमबिबिएस अध्ययनरत् विद्यार्थी रामजी रामसहित चार विद्यार्थीलाई नेसनल मेडिकल कलेज वीरगञ्जले अवैध शुल्क मागेको विषयमा चिकित्सा शिक्षा आयोगको कार्यकारी समितिमा छलफल हुने भएको छ।
छात्रवृत्ति कोटामा पढिरहेका उनीहरूलाई नेसनल मेडिकल कलेजले बारम्बार अवैध शुल्क मागी दु:ख दिएपछि चिकित्सा शिक्षा आयोगले त्रिविको कार्यकारी समितिमा कुरा लैजाने भएको हो।
आयोगका सदस्य सचिव डिल्ली लुइँटेलले रामजी रामसहित चार विद्यार्थीलाई नेसनल मेडिकल कलेजले मागेको अवैध शुल्क र परीक्षा फारम भर्न नदिएकोबारे आज बस्ने कार्यकारी समितिको बैठकमा कुरा लैजाने बताए।
‘रामजी रामको विषयमा सम्बोधन नगर्ने कुरा भएन, आज आयोगको कार्यकारी समितिको बैठक छ, म त्यहाँ कुरा राख्छु, छलफल हुन्छ,’ लुइँटेलले सेतोपाटीसँग भने।
असार ७ गते रामसहित चार जना विद्यार्थीले चिकित्सा शिक्षा आयोग र चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा निवेदन दिएका थिए। निवेदन परेपछि आयोगले डिन कार्यालयलाई चिठी लेख्नुपर्थ्यो।
गत साल पनि रामलाई परीक्षामा सहभागी हुन नदिएपछि आयोगले डिन कार्यालयलाई चिठी लेखेको थियो।
‘पटक-पटक एउटै कुरा दोहोरिरहेको र विद्यार्थी वर्षैपिच्छे पैसा मागेर परीक्षा फारम भर्न नदिएको भनी धाइराख्नुपर्ने कुराले सोचनीय बनाएको छ,’ लुइँटेलले भने, ‘त्रिविको कार्यकारी समितिमै छलफल गरी समाधान निकाल्नु पर्ने भयो।’
परीक्षा फारम भर्नुअघि कलेजले वार्षिक शुल्कबापत् मात्र रामलाई ५ लाख ९८ हजार ५० रुपैयाँ मागेको छ, त्यो उनले तिर्न नपर्ने शुल्क हो।
होस्टल चार्ज भनेर ५५ हजार ४२१, मेस चार्ज भनेर २१ हजार ३९ र इन्टरनेटको भनेर ९ हजार ८ सय रुपैयाँ मागिएको छ। जतिवटा शीर्षकमा मागिएको रकम उनले तिर्न पर्दैन किनभने उनले यी सेवा उपयोग गरेकै छैनन्।
रामजीसहित सरकारले पैसा तिरेर पढाएका पंकजकुमार राम, रूपेशकुमार राम, प्रमोदकुमार रामलाई नेसनल मेडिकल कलेजले परीक्षा आउने बेलामा अवैध शुल्क मागेर फारम भर्न दिएको छैन।
पंकज एमबिबिएस पाँचौं वर्षमा अध्ययनरत् छन्। उनलाई नेसनलले वार्षिक शुल्क भनेर ५ लाख ९८ हजार ५०, होस्टल खर्च १५ हजार ८३४, मेस खर्च ३० हजार २५८ र इन्टरनेट खर्च भनेर ७४ हजार रुपैयाँ मागेको छ।
रूकेशकुमार एमबिबिएस चौंथो वर्षमा अध्ययनरत् छन्। उनलाई कलेजले वार्षिक शुल्कबापत् २ लाख ४८ हजार ५०, होस्टल खर्च ३ लाख ४२ हजार ५९३ र इन्टरनेट खर्चबापत् ८ हजार ४ सय मागेको छ।
प्रमोदकुमार राम एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत् छन्। उनलाई कलेजले वार्षिक शुल्क भनेर ७ लाख ४० हजार, होस्टलको २ लाख ४६ हजार २६१ र इन्टरनेटको ७९ हजार ८ सय मागेको छ।
यो पनि हेर्नुहोस्
रामजी रामलाई फेरि अवैध शुल्कको ताकेता, नेसनल मेडिकल कलेजले माग्यो ६ लाख
रामजी रामको पत्र सात दिनदेखि अलपत्र, आइओएम डिन सिंह भन्छिन्- म के गरूँ त?